प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा आज पनि सदन अवरोध, राष्ट्रियसभा बैठक स्थगित (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले विरोध जनाएपछि बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ । ्
आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हिजोदेखि विपक्षी दलले विरोध जनाएका छन् ।
बैठकको सुरूमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । प्रधानमन्त्रीका कारण नेपालीको शीर निहुरेको भन्दै अहिलेको अवस्थामा सभाको कामकारबाही अघि बढ्न नसक्ने उनको जिकिर थियो ।
एमाले सांसदको विरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीलाई सभामा आएर जवाफ दिने वातावरण बनाउन आग्रह गरे । तर, एमाले सांसदहरूले निरन्तर विरोध जनाएपछि तिमिल्सनाले बैठक स्थगित गर्दै अर्को बैठक शुक्रबारलाई बोलाएका छन् ।