बोगटानद्वारा पूर्वीचौकी गाउँपालिकालाई अढाई लाख सहयोग
डोटी । डोटीको बोगटान फुड्सिलले पूर्वीचौकी गाउँपालिकालाई २ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
२०७९ साल कात्तिक २२ गते राति गएको भूकम्पका पीडितलाई सहयोगस्वरुप उक्त रकम हस्तान्तरण गरिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।
उनले भूकम्प गएकै बेला कार्यपालिकाले सहयोग गर्ने निर्णय गरेको तर विविध कारणले सहयोग रकम हस्तान्तरण गर्न ढिला भएको बताए ।
अध्यक्ष गड्सिलाले बिहीबार पूर्वीचौकीका अध्यक्ष रामप्रसाद उपाध्यायलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
चेक ग्रहण गर्दै पूर्वीचौकीका अध्यक्ष उपाध्यायले सहयोगका लागि बोगटान फुड्सिल गाउँपालिकालाई धन्यवाद दिए ।
‘भूकम्प पीडितलाई सहयोग गर्ने भन्दै धेरै ठाउँबाट आश्वासन आए । तर, सहयोग आएन’, उपाध्यायले भने, ‘भूकम्प पीडितहरु अझै चर्केका घरमा जोखिम मोलेर बसिरहेका छन् ।’
संघीय र प्रदेश सरकार तथा विभिन्न संघसंस्थालाई सहयोगका लागि आग्रह गरेको तर अपेक्षाअनुसार प्राप्त नभएको उनले बताए ।
उक्त भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका- ३ ठाडागाउँमा ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । सोही गाउँका ३५ घर भत्किएका थिए । गाउँपालिकाभित्रका १ हजार ९२० घरमा क्षति पुगेको अध्यक्ष उपाध्यायले जानकारी दिए ।