विवाह : एक चिन्तन – Nepal Press

विवाह : एक चिन्तन

युवावस्थाले युक्त रहँदा तथा विवाहका लागि उमेर पुगेका सबैलाई ज्यादातर सोधिने प्रश्न हो- अब विवाह कहिले गर्ने ? भोज कहिले खुवाउने ? बिहेको पालो पनि आइसक्यो, अब त बिहे गर्नुपर्‍याे नि !

आर्थिक र सामाजिक हिसाबले स्वावलम्बी भइनसकेका तमाम युवा पुस्ताका लागि यो एक कठिन र पट्यारलाग्दो प्रश्न बनिसकेको छ । आर्थिक र सामाजिक हिसाबले स्वावलम्बी नहुँदासम्मको अवस्थामा बिहे नगर्ने निर्णयमा पुगिसकेकाहरूका लागि विवाहको प्रश्नलाई कसरी पन्छाउने भन्नेमै ज्यादा समय बिताउनुपर्ने अवस्था आएको छ । नेपाली समाजमा त अझ केही समय बिहे गर्नमा ढिला हुन गएको खण्डमा फलानोमा केही कमी पो छ कि ? किन उसले बिहे गर्न मान्दैन ? किन विवाहदेखि टाढाटाढा भागिरहेको छ ? जस्ता अनेक प्रश्न समाजले तेर्स्याउने भएकाले पनि सम्बन्धित परिवारका अभिभावकहरूका लागि आफ्ना सन्तानको चाँडोभन्दा चाँडो विवाह गर्ने हतारो भएको देख्न सकिन्छ ।

विवाह शब्द संस्कृतबाट नेपालीमा आएको तत्सम शब्द हो । संस्कृत भाषामा प्राप्त गर्नु भन्ने अर्थमा ‘वह्’ धातुमा विशेष अर्थले ‘वि’ उपसर्ग लागेर तत्पश्चात् ‘घञ्’ प्रत्यय लागेर ‘विवाह’ शब्द बन्छ । जसअनुसार विवाह भनेको सामान्य जीवनबाट एक विशिष्ट जीवनतर्फको यात्रा अर्थात् जीवनमा विशेष जिम्मेवारीको वहन ।

नेपालको मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ६८ ले विवाहलाई परिभाषित गरेको छ । दफा ६८ अनुसार विवाह एक अनतिक्रम्य सामाजिक सम्बन्ध हो । त्यस्तै दफा ६८ को उपदफा १ ले ‘विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्न कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र तथा सामाजिक सम्बन्ध हो’ भनेर परिभाषित गरेको छ ।

सनातन धर्ममा मानव जीवनमा कुल १६ संस्कारमध्येको विवाह चौधौं हो । विवाह एक त्यस्तो धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य हो, जसमा आआफ्नो धर्म-सम्प्रदाय-समाजमा कुनै पनि किसिमको बाधा नपर्ने गरी उमेर पुगेका र विवाह बन्धनमा बाँधिन इच्छुक वरवधूको स्वेच्छाले धर्मनिर्वाहार्थ पतिपत्नीका रूपमा सम्बन्ध जोडिन्छ ।

वैदिक सभ्यता वा हिमवतखण्डमा विशेष पहिचानका रूपमा रहेका ब्रह्मचारी-गृहस्थ-वानप्रस्थ तथा सन्न्यास: यी चार आश्रममध्येका गृहस्थ आश्रममा विशेष रूपले केन्द्रित रहेर विवाहका बारेमा केही कुरा प्रस्तुत आलेखमा गरिँदैछ ।

सनातन धर्ममा मानव जीवनमा कुल १६ संस्कारमध्येको विवाह चौधौं हो । विवाह एक त्यस्तो धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य हो, जसमा आआफ्नो धर्म-सम्प्रदाय-समाजमा कुनै पनि किसिमको बाधा नपर्ने गरी उमेर पुगेका र विवाह बन्धनमा बाँधिन इच्छुक वरवधूको स्वेच्छाले धर्मनिर्वाहार्थ पतिपत्नीका रूपमा सम्बन्ध जोडिन्छ ।

प्राचीन आर्य सभ्यताका चार आश्रम (ब्रह्मचर्य-गृहस्थ-वानप्रस्थ-सन्न्यास)मध्येको सुरुवाती आश्रम ब्रह्मचर्य हो । विवाहमा उमेरको निर्णय धार्मिक शाखा-परम्परा-सामाजिक तथा कानूनी अवस्थाअनुसार केही फरक फरक तोकिएको भए पनि सामान्यतया शिक्षालाई प्रमुख मानेर विवाहको अवस्था तोकिएको पाइन्छ । जीवनको एक चौथाइ भाग अर्थात् जीवनको सुरुवाती २५ वर्षसम्म स्नातकसम्मको अध्ययन पूरा गरेपश्चात् गृहस्थ धर्ममा जानुपर्ने व्यवस्था सनातन धर्ममा पाइन्छ । एक शिक्षित व्यक्तिको गृहस्थ जीवन सुखद हुनसक्ने र धर्म निर्वाहमा पनि सहज हुने भएकाले विवाहअघि शिक्षालाई एक अनिवार्य पाटोका रूपमा राखिएको पाइन्छ । विवाहपश्चात् नै ब्रह्मचर्य आश्रमको समाप्ति हुने र गृहस्थ आश्रम सुरु हुन्छ । गृहस्थ आश्रम अन्य तीन आश्रमका उपकारक हुने र विवाहपश्चात् नै गृहस्थ धर्मको परिपालन सम्भव हुने हुन्छ ।

द्वितीयमायुषो भागं कृतदारो गृहे वसेत् । -मनुस्मृति ४/१

अर्थात्, आयुको दोस्रो भागमा विवाह गरेर गृहस्थ आश्रममा बसोस् ।

त्रयाणामाश्रमाणां तु गृहस्थो योनिरुच्यते। -दक्षस्मृति २/४८

भावार्थ: तीनै आश्रमहरूको योनी (उत्पत्तिस्थल) गृहस्थ आश्रमलाई भनिन्छ ।

महाभारतको आदिपर्वमा जरत्कारू मुनिले विवाह नगरेकाले उनका पूर्वजहरूले स्वर्गबाट खस्नुपरेको र उद्धारका लागि जरत्कारूलाई विवाह गर्न सम्झाएको प्रसङ्ग पनि पाइन्छ । महाभारतकै शान्तिपर्वमा धौम्य ऋषिले युधिष्ठिरलाई सम्झाउँदै भन्नुहुन्छ- जीवनका चारै आश्रममध्येमा गृहस्थ नै श्रेष्ठ हो र यसैबाट धर्म-अर्थ-काम र मोक्ष जस्ता चारै पुरुषार्थको उपलब्धि हुनसक्छ । जनकआदि राजर्षिले पनि गृहस्थ आश्रममै रहेर मोक्ष पाएको हुनाले पनि मानव जीवनमा गृहस्थ जीवनको निकै ठूलो महत्त्व रहेको बुझ्न सकिन्छ ।

जीवनको एक चौथाइ भाग अर्थात् जीवनको सुरुवाती २५ वर्षसम्म स्नातकसम्मको अध्ययन पूरा गरेपश्चात् गृहस्थ धर्ममा जानुपर्ने व्यवस्था सनातन धर्ममा पाइन्छ । एक शिक्षित व्यक्तिको गृहस्थ जीवन सुखद हुनसक्ने र धर्म निर्वाहमा पनि सहज हुने भएकाले विवाहअघि शिक्षालाई एक अनिवार्य पाटोका रूपमा राखिएको पाइन्छ ।

विवाहका बारेमा विचार गर्दा यो कुराको ज्ञात हुन्छ कि विवाह स्त्री र पुरुषका बीचमा हुने धार्मिक तथा सांस्कृतिक अनि सामाजिक सम्बन्ध हो । सृष्टिको सुरुदेखि नै स्त्री शक्ति र पुरुष शक्तिको दुई धारा अविच्छिन्न चलिआएको छ । विवाहले नै पुरुष शक्तिको साथमा स्त्री शक्तिको मेल गराउने र त्यसबाट नवीन सृष्टिको रचना हुन सम्भव छ र सृष्टि धाराको विस्तार चल्न सकेको छ । दुवैको आपसमा समुचित मेल हुनु आवश्यक रहेको देखिन्छ । साधारणतस् गर्भाधानको समयमा रज र वीर्यको मेलद्वारा नै नवीन सृष्टिले स्थूल रुप धारण गर्न पाउँछ । संसारका उद्भिज-स्वेदज-अण्डज-जरायुज सबै स्त्री-पुरुषको संयोगद्वारा नै संसारमा जन्म लिन सक्ने सामर्थ्य राख्छन् । जसले संसारको सृष्टि चक्रमा आफ्नो योगदान दिन सक्तैन, त्यस्ताको जीवन व्यर्थ छ भनेर श्रीमद्भगवद्गीतामा पनि उल्लेख पाइन्छ ।

एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः।
अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ।। -श्रीमद्भगवद्गीता ३/१६

भावार्थ: हे पार्थ ! जसले यस लोकमा परम्परादेखि चल्दै आएको सृष्टि चक्रको अनुसरण गर्दैन, अर्थात् सृष्टि चक्रमा योगदान पुग्नेगरी कर्म गर्दैन र इन्द्रीयहरूद्वारा विषय भोगमा रमण गर्ने पापमय जीवन भएको व्यक्ति बाँच्नु व्यर्थ छ ।

सृष्टि चक्रको निरन्तरता र जीवनका आवश्यकताको पूर्तिका क्रममा मानव जीवनको एक अभिन्न संस्कारका रूपमा रहेको विवाह प्रथा अद्यापि चलिरहेकै छ ।

सामान्यतया समाजमा विवाहलाई तीन भागमा बाँड्ने गरिएको पाइन्छ ।
१) परम्परागत विवाह
२) कानूनी विवाह र
३) प्रेम विवाह ।

तर, सनातन धर्ममा विवाह ८ प्रकारका मानिएका छन्।

ब्राह्मो दैवस्तथैवार्षस् प्राजापत्यस्तथाऽऽसुर ।
गान्धर्वो राक्षसश्चैव पैशाचश्चाष्टमोधमः ।। -मनुस्मृति ३/२१

१) ब्राह्म विवाह- धर्माचरण भएका वरलाई आफैंले बोलाएर सम्मानका साथमा वस्त्रालंकारले युक्त कन्याको दान गरेर गरिने विवाह ।

२) दैव विवाह- यज्ञ चलेका बेलामा ऋत्विकलाई वस्त्रालंकारले युक्त कन्या दिएर गरिने विवाह ।

३) आर्ष विवाह- वरबाट केही सम्पत्ति लिएर विधिपूर्वक कन्यादान गरेर गरिने विवाह ।

४) प्राजापत्य विवाह- स्त्री-पुरुष दुवै मिलेर धर्मार्थकाम सम्पादन गर्नू भनी वचनले बुझाएर सत्कारपूर्वक कन्या दिएर गरिने विवाह ।

५) आसुर विवाह- कन्या र कन्याका आफन्तलाई समेत यथाशक्य सम्पत्ति दिएर खुशी तुल्याई गरिने विवाह।

महाभारतकै शान्तिपर्वमा धौम्य ऋषिले युधिष्ठिरलाई सम्झाउँदै भन्नुहुन्छ- जीवनका चारै आश्रममध्येमा गृहस्थ नै श्रेष्ठ हो र यसैबाट धर्म-अर्थ-काम र मोक्ष जस्ता चारै पुरुषार्थको उपलब्धि हुनसक्छ । जनकआदि राजर्षिले पनि गृहस्थ आश्रममै रहेर मोक्ष पाएको हुनाले पनि मानव जीवनमा गृहस्थ जीवनको निकै ठूलो महत्त्व रहेको बुझ्न सकिन्छ ।

६) गान्धर्व विवाह- कन्या र वर दुवैको स्वेच्छाले भएको, रतिवर्द्धक, कामवासनामूलक तथा परस्परमा आकर्षणका आधारमा भएको विवाह।

७) राक्षस विवाह- कन्या पक्षबाट प्रतिरोध भएमा प्रतिरोध गर्नेहरूलाई मारेर वा घाइते बनाएर वा घेरा हालेर वा घर फोरेर कन्यालाई बलपूर्वक हरण गरेर गरिने विवाह ।

८) पैशाच विवाह- अचेत अवस्थामा रहेकी वा झुक्याएर वा करणी गरेर गरिने विवाहलाई पैशाच विवाह भनिन्छ । पैशाच विवाहलाई सबैभन्दा घृणित विवाह मानिन्छ ।

सनातन धर्मशास्त्रहरूमा, सनातन परम्परामा, लौकिक परम्परामा समेत विवाह भनेको स्त्री र पुरुषको सामाजिक तथा धार्मिक अनतिक्रम्य सम्बन्ध हो । स्त्री-स्त्री वा पुरुष-पुरुषका बीचमा अर्थात् समलैंगिक सम्बन्धमा विवाह हुनसक्ने कुराको कल्पना सामाजिक परम्परा अनि सनातन धर्म दुवैमा रहेको पाइँदैन ।

मानव जीवनमा प्रमुख रूपले देव ऋण, ऋषि ऋण तथा पितृ ऋण गरी तीन किसिमका ऋण रहेका हुन्छन् । मानव जीवनमा गरिने पुण्य कर्महरूको अनुष्ठानद्वारा देव ऋणको चुक्ता हुन्छ भने ज्ञान प्राप्त गरेर ऋषि ऋणको चुक्ता गरिन्छ । त्यसैगरी विवाहमार्फत सन्तानोत्पत्ति गरेर पितृ ऋणको चुक्ता हुन्छ । सनातन धर्ममा विवाह केवल स्त्री र पुरुषका बीचमा मात्रै हुने गरेको उल्लेख पाइन्छ । विवाह गर्न असक्षम वा अयोग्यले तथा आबाल ब्रह्मचारीहरूले विवाह गर्न नचाहेको खण्डमा आफ्नो समग्र जीवन ज्ञानमार्गमा लगाएर ज्ञानमार्गबाट नै देव ऋण-ऋषि ऋण तथा पितृ ऋणको चुक्ता गर्नुपर्ने विधान पाइन्छ ।

सृष्टिको सुरुवातदेखि नै ऊर्जाको दुई धारा अवच्छिन्न रूपले चलिआएको छ । प्रजापतिले आफ्नै शरीरको बायाँ भागबाट स्त्रीको उत्पत्ति गरे र दायाँ भागबाट पुरुषको उत्पत्ति गरेपश्चात् यी दुई तत्त्वको आपसमा मिलनको स्वाभाविक आकर्षण आजपर्यन्त पनि विद्यमान नै छ । यी दुई धारा नै उद्भिज-स्वेदज-अण्डज-जरायुजस यी चारै प्रकारका प्राणीहरूमा स्त्री-पुरुषका रूपमा अनवरत अघि बढिरहेको पाइन्छ । स्त्री-पुरुषको संयोग र सहयोगले नै सृष्टि धाराको विस्तार हुँदै आएको छ । यही कारणले सृष्टिको प्रत्येक स्तरमा स्त्री शक्ति र पुरुष शक्तिको उपलब्धता देखिन्छ । स्त्री प्रकृति हो भने पुरुष त्यस प्रकृतिको चैतन्य हो । प्रकृतिलाई आश्रय लिएर नै ईश्वरले जगतको सृष्टि गरेको भन्ने सिद्धान्त पनि छ ।

भगवद्गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ-

मयाध्यक्षेण प्रकृतिस् सूयते सचराचरम्। -श्रीमद्भगवद्गीता,९/१०
अर्थात् मेरै अध्यक्षतामा प्रकृतिले चराचर जगत् उत्पन्न गर्छिन् ।

जगतले आजसम्म विवाह जस्तो सरल, सुव्यवस्थित तथा प्रेमिल उपाय पाउन सकेको छैन। मनुष्यले विवाहद्वारा आफैंलाई सन्तानको रूपमा प्राप्त गर्छ । आफ्नै अंशको रूपमा सन्तान रहने भएकाले सन्तानको रूपमा आफैंलाई अझ विस्तार गर्छ । भनिन्छ- स्वर्गादि देवताहरू अमृतको पान गरेर अमर भए भने मनुष्य चाहिं विवाहद्वारा प्रेमिल रहँदै आफ्ना सन्ततिहरूद्वारा अमर रहन्छ ।

यसबाट पनि पुष्टि हुन्छ कि ईश्वरको ईश्वरता उनको शक्तिसँग अवलम्बित रहेको हुन्छ । प्रकृति पनि ईश्वरबेगर जड हुन्छिन् । त्यसर्थ पनि स्त्री-पुरुष एकापसमा परिपूरक रहेको बुझ्न सकिन्छ । स्त्री शक्तिले मात्रै वा पुरुष शक्तिले मात्रै प्रकृतिको नियमलाई उल्लङ्घन गरेर अघि बढ्न सक्ने अवस्था रहँदैन । शारीरिक, मानसिक तथा बौद्धिक अपरिपूर्णताले गर्दा कुनै एक शक्तिमात्रै अघि बढ्न नसक्ने हुन्छ । दुवैको आपसी सामन्जस्यले नै प्रकृतिसँग तादात्म्य राख्नसक्ने र मुक्तिको क्रममा अघि बढ्नसक्ने हुन्छ । स्त्री र पुरुषमा मौलिक भेद रहेकाले दुवैको प्रकृति अनि प्रवृत्तिमा पनि भेद रहेको बुझ्न सकिन्छ । भेदको अवस्थाबाट अभेदको अवस्थामा पुग्न स्त्री-पुरुष दुवै आपसमा पूर्ण हुनु जरुरी हुन्छ भने त्यही पूर्णताले नै लौकिक अनि आध्यात्मिक जीवन सफल बनाउन सक्छ ।

संसार सत्व-रज तथा तम गुणले व्याप्त छ । प्रकृतिको यी तीन गुणबाट कोही पनि मुक्त हुनसकेको छैन । प्रकृतिको गुणानुसार नै पुरुष र स्त्रीमा क्रमशस् रौद्रात्मक, विसंगात्मक र रजात्मक तथा शान्त्यात्मक, आदनात्मक र सहनात्मक प्रवृत्ति विद्यमान रहेको हुन्छ । सत्व-रज र तम गुणको उचित सन्तुलनले नै मानव जीवन र मानव सभ्यताले उचाइ लिन सक्छ । परस्परमा सन्तुलन हुन नसक्दाको अवस्थामा केवल विनाशमात्रै निम्तिने हुन्छ । हामीकहाँ त शिव र शक्तिको आराधना गर्ने चलन पनि छ । शिव अर्थात् पौरुष्य गुण र शक्ति अर्थात् स्त्रैण गुण हो । पौरुष्य गुण र स्त्रैण गुणको उचित सन्तुलनले मात्रै प्रकृतिमा निर्माण, उन्नति र शान्तिपूर्ण अवस्थाको निर्माण गर्न सक्छ । पौरुष्य गुणमा पौरुष्य गुण नै मिल्न गएमा त्यसले कुनै नवीन उत्पादन-निर्माण वा उन्नति-शान्ति प्राप्त गर्न सक्तैन । त्यसले निम्त्याउने भनेको भएको उत्पादन-निर्माण वा उन्नति र शान्तिको विनाशमात्रै हो ।

त्यस्तै गरी स्त्रैण गुणमा स्त्रैण गुण नै मिल्न गएमा त्यसले पनि कुनै उन्नति गर्न सक्तैन । त्यसले पनि केवल विनाशमात्रै निम्त्याउने हुन्छ । जसरी शक्ति तत्त्वको अभावमा शिव तत्त्व केवल शवमात्रै हुन्छ, अर्थात् त्यहाँ कुनै सकारात्मक प्रतिक्रिया हुन सक्तैन । त्यस्तै गरी शिव तत्त्वको अभावमा शक्ति तत्त्व पनि सर्वथा निष्क्रिय रहन पुग्छ र यदि केही गरी कुनै किसिमको क्रिया-प्रतिक्रिया हुन गएमा पनि त्यसले सर्वथा विनाशमात्रै निम्त्याउने हुन्छ ।

विवाहको उद्देश्य वा आवश्यकतालाई जम्माजम्मी ५ किसिमले व्याख्या गर्न सकिन्छ-

१) ऊर्जा समन्वय अर्थात् शक्ति सन्तुलन- विवाहले स्त्री शक्ति र पुरुष शक्तिको समन्वय गर्छ । सांसारिक जीवनमा पुरुष शक्ति र स्त्री शक्तिको समन्वयविना न सृष्टि हुन्छ न त त्यसबाट कुनै किसिमको शान्ति तथा उन्नति नै । स्त्री करुणा, प्रेम र सहनशीलताको परिचायक हो भने पुरुष सृजन, विवेक र साहसको परिचायक हो । स्त्री धर्ती अर्थात् क्षेत्र हुन् भने पुरुष त्यस धर्तीमा उत्पन्न हुने नवीन सृजनको बीज । क्षेत्र र बीजको यही समन्वयले नै संसारको व्यवहारिकता सिद्ध हुन गएको छ ।

सनातन धर्मशास्त्रहरूमा, सनातन परम्परामा, लौकिक परम्परामा समेत विवाह भनेको स्त्री र पुरुषको सामाजिक तथा धार्मिक अनतिक्रम्य सम्बन्ध हो । स्त्री-स्त्री वा पुरुष-पुरुषका बीचमा अर्थात् समलैंगिक सम्बन्धमा विवाह हुनसक्ने कुराको कल्पना सामाजिक परम्परा अनि सनातन धर्म दुवैमा रहेको पाइँदैन ।

२) सामाजिक धर्म निर्वाह- मानिस सामाजिक प्राणी हो । एक्लै रहन सामान्य मनुष्यलाई रुचिकर विषय भएको देखिँदैन । स्त्री तथा पुरुषको सुमधुर तथा पवित्र समन्वय तथा सामन्जस्यद्वारा पारिवारिक, सामाजिक तथा राष्ट्रिय जीवनको सुव्यवस्था तथा उन्नति र शान्ति कायम गर्न विवाहको आवश्यकता देखिन्छ । व्यक्ति-व्यक्ति मिलेर समाज बन्छ भने सामाजिक जीवनमा रहेर सामाजिक धर्म निर्वाह गरेर सृष्टि चक्रको निरन्तरता दिन पनि विवाह आवश्यक देखिन्छ ।

३) सन्तानोत्पत्ति- विवाहको उद्देश्यमा सन्तानोत्पत्ति पनि एक हो । मानव जीवनका तीन ऋणमध्ये पितृ ऋणको भुक्तान गर्न पनि सन्तानोत्पत्ति आवश्यक हुन्छ । सन्तानद्वारा नै मनुष्य आफ्नो वंश विस्तारका लागि सक्षम हुन्छ । स्त्री शक्ति र पुरुष शक्तिको आपसमा मेल गराउँदै उत्तम खालको धार्मिक तथा आध्यात्मिक सन्तानको उत्पत्तिद्वारा नै जीवनमा पितृ ऋणबाट मुक्त हुन सक्ने भएकाले सृष्टि चक्रको रक्षा र संवर्द्धन विवाहबाट नै सम्भव हुन्छ । धर्मानुकूल सन्तानोत्पादन गरेर पितृ ऋणबाट मुक्त भएर मोक्षार्थ अघि बढ्न विवाह आवश्यक देखिन्छ भने सन्ततिले युक्त भएको घर साँच्चैको स्वर्ग हो भनेर लोकनीतिहरूमा पनि भनिएकै कुरा हो ।

४) आध्यात्मिक उन्नति- स्त्री शक्ति र पुरुष शक्तिको आपसमा समन्वयपश्चात् धर्म-अर्थ र काम जस्ता तीन पुरुषार्थ हासिल गर्न सकिने र तदनन्तर दुवैको आध्यात्मिक उन्नति फलिभूत हुनसक्छ । स्त्री शक्तिलाई पुरुष शक्तिमा मेल गराउँदै दुवैको अनर्गल अनियन्त्रित पशु प्रवृत्तिलाई नियन्त्रित गर्दै दुवैको शारीरिक, मानसिक, बौद्धिक, लौकिक र पारलौकिक तथा आध्यात्मिक उन्नति गराउनु र दुवैको मधुर समन्वयले दुवैको पूर्णतालाई सिद्ध गर्दै सांसारिक सुख प्राप्त गर्नु हो । विवाहद्वारा स्त्री-पुरुष दुवैको व्यक्तिगत अनर्गल भोग-प्रवृत्तिको एक-अर्कामा केन्द्रीभूत एवं नियन्त्रित गर्दै आत्मसंयम र त्यागको अभ्यासद्वारा एक-अर्काको आध्यात्मिक उन्नतिमा सहायक बन्नु पनि हो । अध्यात्मविनाको मानिस अपूर्ण रहन्छ । मानिस पूर्ण हुन पनि जीवनमा विवाह एक प्रमुख साधन हो । लोकमा चलेकै उक्ति पनि हो- विवाहविना मान्छे अपूर्ण रहन्छ र उसको कुनै घर पनि हुँदैन ।

५) दिव्यभावको जीवन प्राप्ति- विवाहअघिको समयमा व्यक्तिमा स्वार्थ भाव प्रबल रहेको हुन्छ । व्यक्तिका सम्पूर्ण कर्तव्य केवल आफ्ना लागि मात्रै हुन्छ । तर, विवाहपछिको समयमा भने व्यक्तिको जीवनमा परार्थभावको विकास हुन पुग्छ । एकजनाको लागि मात्रै कर्तव्य गरिन्थ्यो भने अब अन्यका लागि पनि सोचविचार गरेर कर्तव्य सुरु हुन्छ । गरिएको काम-कर्तव्यले परिवार अनि समाजमा कस्तो प्रभाव पार्नेछ रु यी सबैका विचार गर्न सुरु हुन्छ भने एक स्वच्छन्द रहेको व्यक्तिको जीवन विवाहपछि विस्तारै जिम्मेवारीको साथमा अघि बढ्छ । अधिक स्वच्छन्दताले व्यक्ति अनियन्त्रित बन्न पुग्छ र सामाजिक संरचना ध्वस्त हुन पुग्ने सम्भावना प्रबल रहन्छ । विवाहले व्यक्तिलाई जिम्मेवार बनाउनुको साथै परोपकारमा समेत प्रेरित गर्ने हुन्छ ।

प्रकृतिको गुणानुसार नै पुरुष र स्त्रीमा क्रमशस् रौद्रात्मक, विसंगात्मक र रजात्मक तथा शान्त्यात्मक, आदनात्मक र सहनात्मक प्रवृत्ति विद्यमान रहेको हुन्छ । सत्व-रज र तम गुणको उचित सन्तुलनले नै मानव जीवन र मानव सभ्यताले उचाइ लिन सक्छ । परस्परमा सन्तुलन हुन नसक्दाको अवस्थामा केवल विनाशमात्रै निम्तिने हुन्छ ।

सृष्टि चक्रलाई सुव्यवस्थित राखेर व्यक्ति र समाजलाई एक कल्याणकारी मार्गमा लैजाने र धर्तीको सर्वाधिक सुखको उपभोग गराउँदै धर्म-अर्थ-काम-मोक्षलगायतका पुरुषार्थको प्राप्तिमा विवाह एक प्रमुख साधन रहेको देखिन्छ । विवाहरहित मनुष्य पितृ ऋणबाट मुक्त हुन त सक्तैन नै, साथै ऊ जीवनका सबै सुखका आधारबाट पनि वन्चित रहन पुग्छ भने उसको जीवनमा कतिपय धार्मिक संस्कार गर्नमा पनि व्यक्ति अयोग्य ठहरिने हुन्छ । स्त्री शक्ति र पुरुष शक्तिको समन्वयको अभावले जीवनमा सत्यको बोध हुन सक्दैन । जसको आधार नै असत्य छ, त्यो चीज कहिले पनि स्थायी भावले रहन सक्तैन ।

जस्तो: श्रीमद्भगवद्गीतामा श्रीकृष्ण भन्नुहुन्छ-

नासतो विद्यते भावो नाभावो विद्यते सतस्। -श्रीमद्भगवद्गीता २/१६
भावार्थ- असतको भाव हुँदैन र सतको कहिल्यै अभाव हुँदैन ।

विवाहमा सम्बन्धविच्छेद

विवाहलाई नेपालको कानूनले अनतिक्रम्य सम्बन्ध भनेर व्याख्या गरेकै छ भने धर्मशास्त्रहरूको अध्ययन गर्दै जाँदा पनि विवाहलाई एक अनतिक्रम्य सम्बन्धकै रूपमा लिइएको पाइन्छ । त्यस्तो भएकाले सामान्यतया विवाहमा सम्बन्धविच्छेदको अवस्थालाई पूर्वीय दर्शन, सामाजिक परम्परामा स्वीकार गरिएको पाइँदैन । परन्तु विविध अवस्थालाई मध्यनजर गरेर विवाहमा विच्छेदका कुराहरू केही मात्रामा उल्लेख पाइन्छ । जस्तैस् जीवनसाथी यदि उन्मत्त, पतित, नीच, नपुंसक, दीर्घरोगी भएमा सम्बन्ध विच्छेद हुन सक्ने कुरा लौकिक कानून तथा धार्मिक ग्रन्थहरूमा पनि पाइन्छ। त्यस्तै परदेश गमनका विषयको अवस्था छ भने केही निश्चित समयसम्म पर्खने र परदेश गएको व्यक्ति नआएको खण्डमा सम्बन्ध विच्छेद गर्न सकिने अवस्था कौटिलीय अर्थशास्त्र, अथर्ववेद तथा धर्मसूत्रहरूमा पनि पाइन्छ।

समग्रमा हेर्दा विवाह परिवारको आधार हो । विवाहपश्चात् नै पारिवारिक जीवनको प्रारम्भ हुनपुग्छ । विवाह मानव जातिको आत्मसंरक्षण, वंशवृद्धि तथा स्वजातीय जीवनको अविच्छिन्नतालाई कायम राख्ने प्रमुख साधनका रूपमा रहेको बुझ्न सकिन्छ । विवाहको सर्वप्रधान अंग मैथुन हो । मैथुनिक प्रजननद्वारा नै संसारको चक्र चलेको छ । मरणधर्माशील जगतका सबै प्राणीले विवाहलाई प्राप्त गरेकै छन् । विशेष गरेर मनुष्य जातिले आफ्नो धर्म-अर्थ-काम जस्ता तीन पुरुषार्थको प्राप्ति गर्दै आआफ्नो आध्यात्मिक उन्नतिलाई विधिपरक, संस्कारपरक र न्यायोचित तवरले उपयोग गर्दै आएको पाइन्छ ।

मरणधर्माशील मनुष्य आफूलाई मरणधर्मा भएको जान्दाजान्दै पनि अमर रहने कोसिसले विगतमा उसले अमृतको खोज गर्‍याे । अनेक रसायनहरूको निर्माण गर्‍याे । आज पनि वैज्ञानिकहरू मानव जातिलाई अमर बनाउने कोसिसमा अनवरत लागेकै छन् । परन्तु, जगतले आजसम्म विवाह जस्तो सरल, सुव्यवस्थित तथा प्रेमिल उपाय पाउन सकेको छैन। मनुष्यले विवाहद्वारा आफैंलाई सन्तानको रूपमा प्राप्त गर्छ । आफ्नै अंशको रूपमा सन्तान रहने भएकाले सन्तानको रूपमा आफैंलाई अझ विस्तार गर्छ । भनिन्छ- स्वर्गादि देवताहरू अमृतको पान गरेर अमर भए भने मनुष्य चाहिं विवाहद्वारा प्रेमिल रहँदै आफ्ना सन्ततिहरूद्वारा अमर रहन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *