यसकारण अक्षम्य र लज्जास्पद छ प्रधानमन्त्रीको अभिव्यक्ति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गत सोमबार भारतीय ढुवानी व्यवसायी प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा गरेको भाषणबारे अहिले सदन, सडक, सञ्चार माध्यम र आम मानिसबीच बहस चलेको छ । दाहाल मुलुकको कार्यकारी प्रमुख हुन् ।
उनले सार्वजनिक कार्यक्रमा गरेको भाषण अहिले सामाजिक सञ्जाल र अनलाइनमार्फत क्षणभरमै आम जनतामाझ पुगिसकेको हुन्छ । अहिले कुनै पनि विषय यति छिट्टै सञ्चार हुन्छ कि त्यसको बेगमा लगाम लगाउने वा सच्याउन कठिन नै हुन्छ ।
देशका कार्यकारी प्रमुखले गरेका भाषण र गरेका मुल निर्णयहरू समाचार बन्छन्, अर्थ राख्छन् र त्यसले बहस सिर्जना गर्छ नै। त्यो नियमित कुरा नै भयो । तर, प्रचण्डले गत सोमबार सो कार्यक्रममा बोलेको विषय नियमित मुलुकको आन्तरिक विषय नभइ नेपालको सरकार निर्माण वा कार्यकारी प्रमुख को बन्ने भन्ने विषयमा हुने अदृष्य चलखेल र हस्तक्षप बारे हुने आशंकलाई बल पुग्ने प्रसंग थियो ।
प्रधानमन्त्री दाहाल तेस्रो पटक मुलुकको कार्यकारी प्रमुख भएयता नेपालको छिमेक सम्बन्ध र नेपालका आन्तरिक विषयमा हस्तक्षेप आमन्त्रण गर्ने खालका अभिव्यक्ति दिएका छन् । उनले ती विषयलाई हल्का रुपमा प्रस्तुत गरिरहेका छन् । जुन विषय कूटनीतिक दृष्टिले सामान्य रुपमा लिन मिल्दैन ।
त्यसको पछिल्लो कडी अपरिपक्व र गम्भीर रुप सरदार प्रीतम सिंहको पुस्तक विमोचनमा सन्दर्भमा उनले दिएको अभिव्यक्ति हो। वास्तवमा सार्वभौम मुलुकको प्रधानमन्त्रीका रुपमा प्रचण्डले जे कुरा बोले,अन्य देशमा हो भने पदत्यागको विकल्प हुन्न । आफ्नो बोलीका कारण धेरै देशका सरकार प्रमुखले पद त्याग्नुपरेको छ ।
प्रधानमन्त्रीको समर्थन गर्ने वा बिरोधका लागि बिरोध गर्नेलाई यो विषय हल्का लाग्ला तर देशको कार्यकारी पदमा बसेको व्यक्तिले नेपालको सरकार निर्माणमा ‘भारतीय हस्तक्षेप’ वा अस्वभाविक चासो हुन्छ भन्नु सामान्य होइन। त्यसमा पनि एउटा भारतीय सामान्य व्यापारीले सरकार गठनमा नेपाल वा भारतमा भूमिका खेल्छ भन्नु अझ गम्भीर हो।
प्रधानमन्त्रीको तहबाट दोहोरिने यस्ता खालका गल्ती उनको पदका लागि मात्रै होइन देशकै लागि आत्मघाती हुनजान्छ। यो आलेख देशको कार्यकारी तहबाट देशको आन्तरिक विषय, सरकार गठन र सञ्चालनको स्वतन्त्र र सार्वभौम अधिकार, छिमेकी सम्बन्ध र सहकार्य बारे गर्ने हल्का टिप्पणी, त्यसको गम्भिर्यता र दीर्घकालिन असर बारेचर्चा गरिएको छ।
बोलीको बल
प्रचण्डले गत सोमबार सरदार प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचन गर्दै भनेका थिए, ‘नेपाल भारतबीच जनता–जनता बीचको सम्बन्धलाई विकसित गर्न सरदार प्रीतम सिंहको योगदान विशिष्ट र ऐतिहासिक छ भन्दा अतियुक्ति हुँदैन भन्ने लाग्छ‘उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटी दिल्ली जानुपनि भयो। काठमाडौंका नेताहरु र पार्टीहरु सँग लगातार छलफल गर्नुभयो । उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्नेमा विश्वास पनि गर्नुहुन्छ ।’
प्रधानमन्त्री प्रचण्डले यसो भनिरहँदा हलमा सहभागीले तरर ताली पिट्छन् । प्रचण्डसँग पारिवारिक रुपमै नजिक रहेका सरदार बारे उनकै छोरी किरण दीप सिन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’पुस्तकको विमोचनमा सहभागीले ताली पिटेका थिए ।
प्रचण्डले सिंहसँगको निकटताबारे अझ अगाडि बढेर भन्छन्,‘मेरो ठूली छोरीलाई क्यान्सर हुँदा उहाँले निकै ठूलो सहयोग गर्नुभएको छ, मेरो परिवार नै उहाँप्रति नतमस्तक छ।‘
प्रचण्ड पारिवारिक रुपमा लामो समय नेपालमा बसेर व्यवसाय गरिरहेका सिंहसँग निकट हुनुलाई अन्यथा मान्नु हुँदैन । तर, जब देशको कार्यकारी प्रमुख सहभागी कार्यक्रम र उनले गरेको भाषणको विषय आउँछ त्यसबारे छलफल हुन्छ र हुनुपर्छ । पहिलो कुरा देशको प्रधानमन्त्री कुन तहको कार्यक्रममा सहभागी हुने वा नहुने भन्ने नै बहसको विषय हो । त्यसपछि सम्बन्धित कार्यक्रमको उद्देश्य र ओज बारे विश्लेषण र तयारी सोही अनुरूप गर्नुपर्ने हो ।
एकजना व्यापारीको लागि भारतीय राजदूतसँगै उभिएर प्रधानमन्त्रीले पुस्तक विमोचन गर्नु ठिक वा बेठिक? कार्यक्रम छनौट र सहभागीता सन्दर्भमा गाउँपालिका भवन उद्घाटनदेखि दैनिक थुप्रै कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीलाई समय मिलेकै छ ।
हाम्रा प्रधानमन्त्री तथा मन्त्रीहरुको सिंहदरबारमा बसेर आफ्नो नियमित काम गर्नेभन्दा शिलन्यास र उद्घाटनमा रमाउने र सानादेखि ठूला कार्यक्रममा गएर भाषण गर्ने आदात नै देखिन्छ।
यो विषय छोडौं, कार्यक्रममा सहभागी हुने निर्णय गर्नुभयो।अर्को कुरा, प्रधानमन्त्रीले गर्ने भाषण विषय केन्द्रीत र लिखित हुनुपर्छ कि पर्दैन?तर, विडम्बना यसरी पदअनुसारको व्यवहार र अभ्यास भएको पाइँदैन।
सो कार्यक्रममा पनि प्रचण्डले हलका सहभागीको भावना र आयोजकसँगको व्यक्तिगत सम्बन्ध केन्द्रित भई मौखिक भाषण गरे। जसले गर्दा विषयको गम्भीर्यता मुल्याङ्कन भएन र आत्मघाति बन्न पुग्यो। अन्य देशमा हो भने सार्वभौम मुलुकको प्रधानमन्त्रीले आफू पदमा पुग्न दिल्ली समेत धाइएको प्रसंग खुलासा गर्दा पद जानेखालको अक्षम्य विषय हो ।
सत्य बोले ?
प्रचण्डको उक्त भाषणले तत्काल कार्यक्रममा सहभागी भारतीय राजदूतसहित सबैको मन जित्यो होला।तर, उनी कार्यक्रम सकेर बाहिर निस्कन नपाउँदै सामाजिक सञ्जाल, मिडिया र जनतामाझ ‘प्रचण्डले प्रधानमन्त्री बनाउन सिंहको भूमिका किन देखे?’ भन्ने विषयमा बहस र आलोचना सुरु भइसकेको थियो।
नेपालमा सरकार निर्माणमा बाह्य हस्तक्षप हुने गरेको, प्रायः भारतबाट सरकारी तहका व्यक्ति, कूटनीतिज्ञ, जासुसी निकाय सम्मले चलखेल गर्दै आएको सुनिँदै आएको थियो।तर, प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन एउटा व्यापारीले दिल्ली, काठमाडौंका दल तथा नेताहरुसँग छलफल गरेको भन्नु आफैमा अचम्म लाग्दो र गम्भीर विषय थियो।
देशको कार्यकारी प्रमुख बनाउँदा आशंका गर्ने गरिएको बाह्य हस्तक्षपमा सो पुस्तकका पात्र तथा एउटा व्यवसायीको समेत भूमिका देख्नु हुने गरेको वा शंका गरिएको हस्तक्षप भित्राउन हाम्रै नेता जिम्बेवार छन् भन्ने पनि यसले देखाउँछ।
त्यसैले उनको भाषण बारे सामाजिक सञ्चाल, अनलाइन, टेलिभिजन, पत्रिका, सत्तापक्ष, प्रतिपक्षी, बुद्धिजिवी हुँदै जनता सम्मले आलोचना र भएको हो।
गत सोमबारको भाषण बारे समाजका सबै पक्षले आलोचना गरिरहँदा प्रधानमन्त्री प्रचण्ड स्विकार गर्न तयार देखिँदैनन्। सो विषयमा चौतर्फी आलोचना भइरहँदा बुधबार उनले माओवादी केन्द्र निकट विद्यार्थी संगठनको कार्यक्रममा पुगेर अझ चर्को भाषण गरे ।
उनले उक्त विषयलाई आफू नेतृत्वको सरकारका कामबाट अत्तालिएका बिरोधीहरूले चलाएको हल्ला भने। उनले भने, ‘ सिख (सिंह) को किताब बिमोचन गर्दै गर्दा मैले बोलेको, उनले बोलेको कुरा मैले बोलेको। मेरो कुरा होइन। उनले बोलेको। मैले भनेँ उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ। उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ कहिले कहाँ। कहिले दिल्ली कहिले नेपालका पार्टीसँग लाग्नुहुन्थ्यो भनेर उहाँको बारेमा भनेको कुरालाई‘ उचालेर फेरि एकचोटी बबण्डर गर्न खोजिएको छ।मलाई लाग्छ त्यो बेलुन पनि छिट्टै फुट्नेवाला नै छ।त्यसले केही दिनेवाला छैन। तर, यसबाट के देखिन्छ भनेहाम्रो विपक्षीहरुमा कति धेरै विक्षिप्तता छन् कति धेरै पूर्वाग्रह छ भन्ने देखिन्छ।‘
उनको सोमबारको भाषण सर्वत्र भिडियोसहित छाइसकेको थियो।त्यसकारण उनले युवा विद्यार्थीहरु माझ आफूलाई सच्याउन खोजे पनि सकेनन्।सोही दिन प्रधानमन्त्रीको भाषणले उनी भारतपरस्त भएको स्पष्ट भएकाले विपक्षी दल एमालेले राजीनामा नै माग्यो।
देशको सार्वभौमसत्ता प्रतिकुल र प्रतिनिधिसभाबाट छानिने प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको बेइज्जत गरेको भन्दै विपक्षी दलहरुले दुवै सदन अबरुद्ध गरे। बुधबार नै प्रधानमन्त्रीको सचिवालयले एक प्रेस विज्ञप्ति नै निकालेर प्रचण्डको अभिव्यक्तिको बचाउ गर्ने प्रयास गर्यो। त्यसैगरी सत्तारुढ दलको बैठक नै बसेर सोमबार प्रचण्डको उक्त भनाइलाई अनुमोदन गर्यो।
यसबाट के बुझिन्छ भने यस्ता गम्भीर विषयमा सत्ताधारी दलहरु र प्रधानमन्त्री आफ्नो कमजोरी सच्याउन तयार देखिँदैन। प्रधानमन्त्रीको सचिवालय पनि कार्यक्रममा जानुअघि विश्लेषण र आवश्यक तयारी गर्नुपर्ने महशुस गर्दैन र विपक्षीलाई नै दोष देखाएर तर्किन खोज्छ।तर, एक सामान्य कार्यक्रममा उपस्थित भएर भावनामा बहकिएर देशको कार्यकारी प्रमुखको तहबाट भएको गल्तीले नेपालीलाई लज्जाबोध महशुस गरेका छन्।
प्रचण्ड प्रवृति
प्रधानमन्त्री प्रचण्डले यसपटक मात्रै यस्तो गम्भीर गल्ती गरेका होइनन्।उनी देशको आन्तरिक विषयमा बाह्य हस्तक्षप भित्र्याउने अभिव्यक्ति दोहोराइरहेका छन्।उनको विशेषगरी भारतलाई रिझाउने गरी आएका अभिव्यक्तिको श्रृंखला ५ पुस २०७७ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्वार्ताबाट सुरु हुन्छ।
त्यतिबेला उनले भनेका थिए, ‘‘अब बन्ने सरकार भारतका निम्ति पनि यो भन्दा कम्फर्टेवल समीकरण हुँदैन।चीनका लागि पनि यो कम्फर्टेवल नै हुन्छ।‘ जसबारे उनले बारम्बार स्पष्ट पार्नुपरेको थियो।
त्यसपछि गत पुसमा प्रधानमन्त्री नियुक्ति भएदेखि प्रचण्ड भारतसँग निकट भएर आफ्नो सत्ता टिकाउन सकिन्छ भन्नेमा देखिन्छन् र सोहीअनुसारका गतिविधि गर्छन्।उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने भन्दै त्यसका लागि लालयित देखिए। जसले गर्दा उनी गत चैतमा चीनमा भएको बोवाओ फोरमको कार्यक्रममा सहभागी भएनन्।
सो विषयमा उनले संसददेखि सडकसम्म प्रश्नहरुको सामाना गर्नुपर्यो। ज्ब उनले सांसदको प्रश्नको जवाफ दिने क्रममा बोवाओ फोरमको कार्यक्रममा सहभागी नहुनुको र चीन नजाने निर्णय आफ्नो नभएको भन्दै राष्ट्रिय सभाको बैठकमा बोले, त्यस प्रसंगले गर्दा चीनका राजदूतले बालुवाटारमा भेटेरै प्रधानमन्त्रीसँग आपत्ति जनाए।
त्यसैगरी गत जेठमा भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्रीको हतारमा बोल्ने फुर्सदमा पछुताउने बानी दोहोरियो। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग र नेपाली सम्पादकहरु माझ नेपाल–भारत सिमा समस्या समाधान गर्न ‘बंगलादेश मोडल’ अपनाउन सकिने विकल्प बताए। जुन विषयमा नेपालको सरकारी तहमा यसअघि छलफल नै भएको थिएन।
भारत र बंगलादेशले सिमा विवाद केही ठाउँमा जग्गा साटफेर गरी समाधान भएको थियो। जुन नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले मिचेको भूमि फिर्ता लिने विषयसँग मिल्ने प्रशंग नै होइन। पछि त्यही विषयमा नेपाल फर्केर संसददेखि सडकसम्म जवाफ दिँदा उनले यो मेरो होइन अरुले नै भनेको विषय हो भन्दै प्रतिरक्षात्मक बने।
भारत भ्रमणलाई प्रधानमन्त्रीले ऐतिहासिक भएको भन्दै प्रचार गर्दैगर्दा र केही विद्युत खरिद सम्झौताबाहेक नेपाल–भारत सम्बन्धमा दीर्घकालिन प्रभाव राख्ने ईपीजी प्रतिवेदन, दुई देश बीचको सिमा समस्या र दक्षिण एसीयाली क्षेत्रीय संगठनका विषयमा ठोस पहल गरेनन्। यी विषयमा कुरा किन नउठाएको भनेर प्रश्न आउँदा उनले दुई देशको सम्बन्धमा वातावरण बिग्रन्छ भनेर नउठाएको भन्दै हल्का जवाफ दिए।
यसरी देशको कार्यकारी प्रमुख देश भित्र हुँदा होस वा विदेश भ्रमणमा हुँदा देशको आन्तरिक विषय, विदेश सम्बन्ध, देशको हित, स्वार्थ,सीमाका विषयमा विना तयारी बक्तव्य दिँदा देशको कूटनीतिक अपरिपक्कता त प्रकट हुन्छ नै यसले दीर्घकालसम्म देशमा विदेशी हस्तक्षपलाई प्रशय दिने गर्दछ।
कुनै देशसँग आफूलाई निकट देखाउन, सत्ता टिकाउन वा कुनै व्यक्तिलाई रिझाउनका लागि नेपालको सरकार निर्माण, विदेश सम्बन्ध, सार्वभौमसत्तातथा सिमा विवाद लगायत देशका संवेदनशिल विषयमा हल्का ढंगले प्रस्तुत भएर हस्तक्षप भित्राउनु देश प्रतिकुल हो।देशको हित भन्दा भारतसँग बढी नजिक हुन र विगतमा आफूले‘भारत परस्त’ भनेर अरुलाई ठड्याउँदै आएको औला आफैतर्फ फर्किएको आरोप उनलाई लाग्न थालेको छ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता रस्वाभिमान र जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारको प्रतिकुल हुनेगरी बोल्ने वा कार्य गर्न कुनै पनि प्रधानमन्त्री वा नेतालाई छुट छैन। आफ्नो सत्ता स्वार्थ पुरा गर्नका लागि मुलकका गम्भीर र दीर्घकालसम्म असर पार्ने विषयमा विना तयारी बोल्ने छुट कसैलाई छैन। त्यसकारण विदेश सम्बन्ध र कूटनीतिक विषयमागरिने भाषण भावना, आवेग, पूर्वाग्रह, सत्ता केन्द्रीत नभइ मुलुकको हितमा हुनुपर्दछ।
(पौडेल चीनको सेन्जेन विश्वविद्यालयबाट ‘राजनीतिक सञ्चार’ विषयमा विद्यावारिधि गर्दै छन्।)
यो गठेबन्धन नामको दिल्लीको टट्टुलाई लाज शरम भए पो! देश लुटने र दिल्लीको नोकर हुनेभन्दा अरू काम छैन यी दलालहरूको ।