अष्ट्रेलियन क्रिकेटर एलेक्स केरीले कपाल काटेर पैसा नतिरी भागेको आरोप, स्मिथले गरे खण्डन – Nepal Press

अष्ट्रेलियन क्रिकेटर एलेक्स केरीले कपाल काटेर पैसा नतिरी भागेको आरोप, स्मिथले गरे खण्डन

काठमाडौं । अष्ट्रेलिया र ईंग्ल्याण्डबीच एसेज श्रृंखला निकै रोमाञ्चक बनिरहँदा साइडलाइन गसिपहरुले पनि उत्तिकै बजार तताइरहेका छन् । सबैभन्दा ताजा गसिप बनिरहेको छ, अष्ट्रेलियन विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीमाथि ।

ईंग्ल्याण्डका भुतपूर्व क्याप्टेन एलेस्टेयर कुकले शनिबार म्याचको कमेन्ट्री गर्ने क्रममा एउटा रोचक तर अपुष्ट कुरा बोलिदिए । उनले विकेटकिपर केरिले लिड्सको एउटा सैलुनमा कपाल काटेर पैसा नतिरिकन हिँडेको दावी गरे । कुकको यो दाबी तत्कालै सोसल मिडियामा भाइरल भइहाल्यो । छिट्ट नै अष्ट्रेलियन साइडबाट जवाफ पनि आयो ।

क्रिकेट अष्ट्रेलियाले केरीमाथि कुकले लगाएको आरोप खण्डन गरेको फक्स क्रिकेटले जनाएको छ । ईंग्ल्याण्डमा केरीले कपाल नै नकाटेको समाचारमा जनाइएको छ ।

स्रोतका अनुसार अष्ट्रेलियन टिमका एक खेलाडी कपाल काट्न गएका थिए, तर उनी केरी थिएनन् । उनी को थिए भन्ने खुलाइएको छैन । उनले नगद नभएर इन्टरनेसनल ट्रान्सफरबाट पैसा तिरेको जनाइएको छ ।

ब्रिटिश अखबार ‘द सन’ मा सैलुनका कर्मचारी डोक बार्नेटको अन्तरवार्ता पनि प्रकाशित गरिएको थियो । त्यसमा उनले भनेका छन्, ‘हामी कार्ड लिँदैनौं । एलेक्सले भने कि उनीसँग क्यास छैन । सायद बिर्सिए होला । म उनलाई शंकाको सुविधा दिन्छु तर यदि सोमबारसम्ममा तिरेनन् भने म खुशी हुनेछैन ।’

बार्नेटका अनुसार केरिले कपाल काटेकाे ३० पाउण्ड तिर्नुपर्ने छ ।  तर, अष्ट्रेलियन टिमका अन्य खेलाडीहरुले पनि केरीले कपाल नकाटेको बताएका छन् । स्टिभ स्मिथले नयाँ सामाजिक सञ्जाल थ्रेड्समा समाचारको खण्डन गरेका छन् ।

‘म यकिन गर्न सक्छु कि एलेक्स केरीले हामी लन्डनमा आएदेखि कपाल काटेको छैन । ‘द सन’ ले आफ्नो तथ्य ठीक गर्नुपर्यो,’ उनले लेखेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *