ऋण असुल्न बैंकहरू कठोर बन्दै- धमाधम धितो लिलाम, समयमै नतिर्नेले खाता खोल्नसमेत नपाउने – Nepal Press

ऋण असुल्न बैंकहरू कठोर बन्दै- धमाधम धितो लिलाम, समयमै नतिर्नेले खाता खोल्नसमेत नपाउने

काठमाडौ । आर्थिक वर्ष सकिन एक सातामात्र बाँकी हुँदा बैंक तथा वित्तीय संस्थालाई पनि ऋण उठाउने चटारो परेको छ । भाका नाघेको ऋण नउठ्दा बैंकहरूको खराब कर्जा बढ्ने र नाफासमेत प्रभावित हुने भएकाले धितो लिलाम नै गरेर भएपनि ऋण उठाउने पक्षमा बैंक तथा वित्तीय संस्था देखिएका छन् ।

सिटिजन्स बैंकले चल/अचल सम्पत्तिको लिलाम भन्दै १५ दिने सूचना निकालेको छ । सिटिजन्स बैंकको चितवनको मंगलपुर शाखाबाट विभिन्न कर्जा शीर्षकअन्तर्गत कर्जा लिई समयमै साँवाब्याज नबुझाएको, पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेको भन्दै प्रगति हरियाली फर्मको नाममा टंकनाथ रेग्मीले लिएको ऋण (शंकजोम तामाङ जमानी रहेको) को धितो लिलामी गरेर असुल्न १५ दिने सूचना निकालिको छ ।

यस्तै प्राइम कमर्सियल बैंकले पनि ताप्लेजुङ शाखाबाट ऋण लिएकी सरस्वती सुब्बाको सम्पत्ति लिलामीमा राखेर ७ दिने सूचना निकालेको छ । कर्जासम्बन्धी शर्त उल्लंघन गरेको भन्दै उनको नामको सम्पत्ति लिलामी गरेर ऋण असुल्न लागिएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको बालुवाटार शाखाले सुनसरीको होटल बर्जु भेगासको नाममा प्रवाह भएको ऋण नउठेपछि उसको नाममा भएको सम्पत्ति लिलामी गरेर ऋण असुल्न लागेको छ । यसको लागि सम्पत्ति लिलामिको सात दिने सूचनासमेत जारी गरिसकेको छ ।

यता एनआईसी एशिया लघुवित्तले पनि दिएको ऋण नउठेपछि ऋणीलाई ऋण तिर्न आउन ताकेता गरिरहेको छ । ऋण नतिरेकालाई कालोसूचीमा राख्ने पनि उक्त लघुवित्तले जनाएको छ । यी त प्रतिनीधि बैंक तथा वित्तिय संस्था हुन् । असार मसान्तको संघारमा हरेक दिन पत्रिकाको पाना धितो लिलामीका सूचनाले भरिन थालेका छन् । पत्रिकामा मात्र होइन बैंकहरूले फोन गरेरै ऋणीलाई समयमै तिर्न आउन पटकपटक तोकतासमेत गरिरहेका छन् ।

कर्जा सूचना केन्द्रमा ऋण नतिर्ने र चेक बाउन्स भएर कालोसूचीमा पर्नेको संख्या गत वर्षको भन्दा दोब्बरले बढेको छ । बैंकहरूले दिएको ऋणमध्ये करिब ७० प्रतिशत जति घरजग्गा धितोमै दिएका छन् ।

तनावमा बैंकर

केही समयअघि गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा गत वर्षभन्दा यसपटक खराब कर्जा दोब्बर हुने चिन्ता व्यक्त गरेका थिए । बैंकरका अनुसार आर्थिक वर्षको अन्त्यसम्म यस्तै अवस्था कायम रहेमा खराब कर्जा ५ प्रतिशतसम्म पुग्न सक्नेछ ।

अहिले बैंकहरूको खराब कर्जा ०.७ प्रतिशत देखि ४.५६ प्रतिशतसम्म छ । चालू आर्थिक वर्षको नौ महिनाको वित्तीय विवरण अनुसार अधिकांश बैंकहरूको खराब कर्जा बढेको छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बैंकहरूलाई ऋण उठाउन निकै सकस भइरहेको स्वीकार्छन् ।

‘बजारको सुस्तता, व्यापारमा आएको मन्दीजस्ता कारणले ऋण उठाउन समस्या छ । यसको असर यो आर्थिक वर्षको अन्त्यसम्म खराब कर्जामा देखिने निश्चित छ’, उनले भने ।

अहिले बैंकमा साढे तीन खर्ब तरलता छ । तर, ऋण नउठ्ने जोखिमले थप लगानी गर्न बैंकहरू हच्किरहेका छन् । यसकारण पनि राष्ट्र बैंकले नै सस्तो ब्याजदरमा बैंकहरूबाट पैसा उठाइरहेको छ ।

अटेरी ऋणीला२ खाता खोल्न बन्देज

नेपाल राष्ट्र बैंकले समयमै कर्जा नतिर्नेहरूका लागि निगरानी बढाउँदै तिर्न भनेको छ । ऋण समयमा नतिर्ने व्यक्ति तथा संस्थालाई बैंकबाट ऋण लिन र नयाँ खाता खोल्न समेत नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

समयमै ऋण नतिरे कालोसूचीमा परिने, धितो लिलाम हुने भएकाले समयमै तिर्न आव्हानसमेत गरेको छ । कालोसूचीमा परेको व्यक्ति वा फर्मले ऋण नपाउने र खातासमेत खोल्न नपाउने साथै थप कारबाहीसमेत हुने राष्ट्रबैंकका अधिकारी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर