गुट फुटाउन राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि माओवादी काेशी संसदीय दलमा चरम विवाद – Nepal Press

गुट फुटाउन राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि माओवादी काेशी संसदीय दलमा चरम विवाद

विराटनगर । पूर्वसहमति विपरीत माओवादीले राजेन्द्र कार्कीलाई कोशी प्रदेशको मन्त्री बनाएपछि पार्टीभित्र चरम विवाद उत्पन्न भएको छ ।

शुक्रबार भएको माओवादी संसदीय दलको बैठकमा उदयपुरबाट प्रदेशसभामा विजयी नारायण बुर्जा मगरलाई मन्त्री बनाउने सहमति भएको थियो ।

२०७४ र २०७९ को निर्वाचनमा विजयी बुर्जाको ठाउँमा सङ्खुवासभाबाट विजयी राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि पार्टीभित्र देखिएको असन्तुष्टि सतहमा आएको छ ।

कार्कीलाई मन्त्री बनाएपछि बुर्जा मगरले सामाजिक सञ्जालमा जिल्लावासी मतदातालाई सम्बोधन गर्दै राजीनामा दिन परे तयार रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको नीति, सिद्धान्त र पद्धतिभन्दा बाहिरको कुरा हो यो, त्यसैले मलाई मतदान गर्नुहुने आम जनतासँग सल्लाह लिनेछु ।’

उनले दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मूल्याङ्कन गर्न नसकेकोमा आपत्ति जनाएका छन् ।

बुर्जाले लेखेका छन्, ‘कोशी प्रदेश सरकार गठनप्रति मेरा विमति छ, आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजीनामा दिने मनसाय बनाइसकेको छु ।’

शुक्रबार प्रदेश इन्चार्ज राम कार्कीसहित भएको बैठकमा दुई जना मन्त्री हुँदा जीवन आचार्य र बुर्जा मगरलाई पठाउने सहमति भएको थियो । सहमतिविपरीत माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले कार्कीलाई मन्त्री बनाएर पठाएको भन्दै पार्टीभित्र चर्को विरोध भएको छ ।

कार्कीले आइतबार बिहान विनाविभागीय मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ खाएका छन् । हिक्मत कार्की नेतृत्वको सरकारमा पनि बुर्जालाई मन्त्री बनाउने पार्टीभित्र सहमति भएको थियो । तर, कार्कीले माओवादीबाट दुई जनाभन्दा बढी मन्त्री नबनाएपछि उनी छुटे ।

हिक्मत कार्की नेतृत्वको सरकारमा माओवादीबाट तेह्रथुमबाट विजयी दुर्गाप्रसाद चापागाईं (सचिन) र मोरङबाट विजयी जीवन आचार्य मन्त्री भएका थिए । विवादका बीच मुख्यमन्त्री नियुक्त उद्धव थापा नेतृत्वको सरकारमा पनि दुर्गाप्रसाद चापागाईंको नेतृत्वमा माओवादी सरकारमा जाने पार्टीभित्र सहमति भएको थियो ।

तर, पार्टीभित्र गुटगत लडाइँ सुरु भएपछि चापागाईंले सामाजिक सञ्जालमा लेख्दै आफू मन्त्री नहुने घोषणा गरेका थिए । उनलाई आन्तरिक मामिला तथा कानूनमन्त्री बनाउने तयारी थियो ।

पार्टीभित्र नेताहरूको व्यवस्थापन गर्न आफू मन्त्री नहुने निर्णयमा पुगेको चापागाईंले शुक्रबार नेपाल प्रेससँग बताएका थिए । उनले भनेका थिए, ‘पार्टीमा अरू नेताहरूले पनि अवसर पाउनुपर्छ । मन्त्री बन्ने चाहना धेरैको भएपछि मैले मन्त्री नहुने निर्णय गरें ।’

उनले आफू मन्त्री नभए पनि बुर्जालाई मन्त्री बनाउनुपर्ने अडान संसदीय दलको बैठकमा राखेका थिए । उनैले अडान राखेपछि शपथ खान ठिक्क परेका जीवन आचार्य शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा परेनन् । केन्द्रको दबाब भन्दै सोही दिन आचार्यलाई मन्त्री बनाउने तयारी थियो ।

चापागाईं वर्षमान पुन निकट नेता हुन् । उनले पुनको सचिवालयमा बसेर काम गरिरहेका छन् । बुर्जा मगर पनि पुन समूहकै नेताका रूपमा चिनिन्छन् । कोशी प्रदेशमा माओवादीका प्रभावशाली नेताहरू वर्षमान पुन र जनार्दन शर्माको आआफ्नै गुटगत लाइन रहेको छ ।

माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्वो जर्नादन शर्मा समूहका नेता हुन् । गुटगत राजनीतिका कारण आङ्वोले राजेन्द्र कार्कीलाई मन्त्री बनाएको आरोप पुन समूहका नेताहरूले लगाएका छन् ।

कार्की भने माओवादी विभाजन हुँदा मोहन बैद्य किरणसँगै पार्टी छाडेर गएका थिए । उनी केही समय नेत्रविक्रम चन्द विप्लवको पार्टीमा गएका थिए । निर्वाचनताका उनी पुन समूहसँग निकट भएका थिए । मन्त्री भएपछि आङ्वोसँग नजिक भएर अवसर लिएको पुन समूहका नेताहरूले आरोप लगाएका छन् ।

आङ्वोमाथि एकलौटी दल चलाएको आरोप

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता आङ्वोले संसदीय दलमा अरूलाई जिम्मेवारी नदिई एकलौटी चलाएको आरोप लागेको छ ।

कोशीमा माओवादीबाहेक अरू दलमा जिम्मेवारी बाँडफाँट भइसकेको छ । निर्वाचन सम्पन्न भएको महिनौं हुँदा पनि माओवादीको संसदीय दलमा जिम्मेवारी बाँडफाँट भएको छैन ।

‘उहाँ सबै हो, उपनेता, प्रमुख सचेतक, सचेतक’, असन्तुष्ट माओवादीका एक प्रदेशसभा सदस्यले भने, ‘दलको नेताले एकल ढङ्गले चलाउनुभएको छ । जिम्मेवारी कसैलाई पनि दिइएको छैन ।’

आङ्वो मुख्यमन्त्री पाएको अवस्थाबाहेक सरकारमा नजाने सर्तमा दलको नेता भएका थिए । १३ सदस्यीय संसदीय दलमा अधिकांश प्रदेश सांसद पुन समूहका छन् । अल्पमतमा परेको गुटलाई बलियो बनाउन आङ्वोले राजेन्द्र कार्कीलाई मन्त्री बनाएको वर्षमान समूहका एक प्रदेश सांसदले आरोप लगाए ।

यता आङ्वोले मुख्यमन्त्रीसँग कुराकानी हुन नसक्दा माओवादीबाट दुई जनामात्रै मन्त्री पठाउनु परेकाले बुर्जा मगर छुटेको बताए । उनले माओवादीबाट तीन जना मन्त्री बनाउने कुरा भएको र तीन जना मन्त्री हुँदा बुर्जा मगर पनि मन्त्री बन्ने बताए ।

‘सामान्य मिसअन्डरस्टयान्डिङ भएको हो । सबै कुरा मिलिसक्यो’, आङ्वोले भने । उनले के कारणले उपनेता र सचेतकको जिम्मेवारी नदिइएको हो भन्ने बारेको जवाफ भने दलको बैठकमा दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर