लुम्बिनीका सबै जिल्लामा एमालेले बनायो नयाँ योजना
रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशका सबै जिल्लाको बैठक बसालेर एक महिनाभित्रै नयाँ योजना बनाएको छ ।
लुम्बिनी प्रदेशको इन्चार्ज बनेर आएपछि एमाले सचिव पद्मा अर्यालले लुम्बिनी प्रदेशका १२ वटै जिल्ला कमिटीको बैठक सम्पन्न गराइसकेकी छन् ।
सबै जिल्ला कमिटीको बैठक सकेर योजना बनाउन अन्य प्रदेशका इन्चार्जलाई उनले जितेकी छन् । अर्यालले जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै लुम्बिनीका सवै जिल्ला कमिटीका बैठकहरु सम्पन्न गरेर नयाँ योजना बनेका छन् ।
सबैभन्दा अन्तिममा गुल्मीमा जिल्ला कमिटीको बैठक भएको हो । एक साता अगाडि नै मिति तय भएपनि बाढी र पहिरोका कारण स्थगित गुल्मी जिल्ला कमिटीको बैठक शनिबार सकिएको हो ।
गुल्मीको बैठकमा लुम्बिनी प्रदेश इन्चार्ज सचिव पद्मा अर्याल, एमाले पोलिटब्यूरो सदस्य एवं गुल्मी जिल्ला इञ्चार्ज सूर्य थापा, केन्द्रीय सदस्यहरू दिनेश पन्थी र गणेश खनाल तथा प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलसहितको टोली पुगेको थियो ।
जिल्ला इञ्चार्ज थापाले बैठकले समस्याको ठोस पहिचानसहित समाधान केन्द्रित छलफलसहित योजना बनाएर जिल्लाका सवै पालिका र वडा तहसम्म पुग्ने कार्ययोजना बनाउने बताए ।
यसअघि नै सचिव अर्यालकै उपस्थितिमा रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, प्यूठान, रुकुम, रोल्पा र नवलपरासी जिल्लाको बैठक सम्पन्न भइसकेको छ । बैठकले समस्या पहिचान र समाधानका योजना बनाएको सचिव अर्यालको भनाई छ ।
केन्द्रीय कमिटी र सचिवालय बैठकले जिम्मेवारी तोकेसँगै जेठ २९ बाट लुम्बिनी प्रदेशमा आएकी सचिव अर्यालले पहिलो चरणमा प्रदेश कमिटी बैठकसहित जिल्ला कमिटी बैठकसहित जनसंगठन र प्रचारसँग सम्बन्धित कामको योजना र समाधानका उपायसहित वडा तहसम्म जिम्मेवारी तोक्ने काम गरेकी छन् ।
बैठकले आधारभूत तहमा रहेका कार्यकर्तादेखि नेतासम्मको अवस्थाबारे जानकारीसहित हालसम्म काममा देखिएको त्रुटि पहिचान पनि गरेको सचिव अर्यालको भनाइ छ । सिंगो प्रदेशमा नेकपा एमालेलाई एकल बहुमतको शक्ति बनाउने गरी काम गर्ने अठोट सवै जिल्ला कमिटीका बैठकमा आएको अर्यालको भनाइ छ । ‘पहिलो चरणमा एमालेका नेतादेखि कार्यकर्तासम्मको मनोवल उकासेर काममा दृढताका साथ खटिने गरी योजना बनाइएको छ, समस्याका थप पहिचान पनि भइरहेका छन,’ सचिव अर्यालले भनिन् ।
एमाले लुम्बिनी प्रदेशका प्रचार प्रमुख डिआर घिमिरेले सचिव सचिव पद्मा अर्यालले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलसहितको टीम लिएर हरेक जिल्ला र पालिका तहसम्म समस्या पहिचान र समाधान केन्द्रित रहेको बताए ।
‘प्रदेश र जिल्लाको बैठक, जनसंगठनको भेला भए, पालिकास्तरका बैठक भइरहेको छन् । अब प्रदेश अधिवेशन तयारी छ, जिल्लादेखि पार्टीका वडास्तरका कमिटीको अधिवेशन गर्ने, चलायमान बनाउने अहिलेको मुख्य उद्देश्य हो, इन्चार्जले यसैलाई ध्यान दिएर अगाडि बढाएको देखिन्छ’, घिमिरेले भने ।
प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी इन्चार्जसँग सबै जिल्लामा एक महिनाभित्र पुगेको बताए । ‘पार्टीलाई चलायमान बनाउनन, असार मसान्तसम्म पूरा गर्नुपर्ने सदस्यता नवीकरणका लागि समन्वय गर्नु, नयाँ कार्ययोजना बनाउने अहिलेका मुख्य उद्देश्य थिए, इन्चार्जले पनि यही विषयलाई उठाउनुभयोे’ उनले भने ।
‘असार मसान्तसम्म अहिले कायम रहेका १ लाख ५ हजार सदस्यको नवीकरण गर्ने र नयाँ करिब २० हजार जनालाई दिने योजना हो’ कंडेलले भने ।