कोही किन एक्लो हुन्छ ? – Nepal Press
ब्लग

कोही किन एक्लो हुन्छ ?

मानिस जंगली/ढुङ्गे युगको घुमन्ते जीवनमा त्यसबेलाको आवश्यकता वा बाँच्नका लागि समूहमा बस्ने हुँदै परिवार समाजको विकास भएको हो । आजको यस अन्तरनिर्भर संसारमा मानवीय सम्बन्ध एक अपरिहार्य आवश्यकता हो । सम्बन्धविना त आफ्नो अस्तित्व जोगाउन वा बाँच्न पनि मुस्किल पर्छ । मनोवैज्ञानिकहरुको दाबीअनुसार सुखी र सफल जीवनको आधार मानवीय सम्बन्ध हो भने मानिसले भोगिरहेका तनावको मूल कारण मानवीय सम्बन्धमा समस्या हो । आफ्ना सम्बन्धहरुमा समस्या देखिएको छ भने समस्या आफूमा पनि छ । त्यसैले सम्बन्धलाई जीवनको ऐना भन्छु म । किनकि हामीले अरुप्रति गर्ने विचार तथा व्यवहार हाम्रो स्वयंको ऐना हो । दुवै पक्षको दोष कमजोरी नभइकन सम्बन्धहरुमा समस्या आउँदैन । तर, कमजोरी अरुको मात्रै देख्ने र आफ्नो कमजोरी स्वीकार्न तयार नहुने आफ्नो अहंको खातिर बरु सम्बन्धहरुबाटै टाढिन खोज्छौं वा अरुलाई सुधार्ने कोसिसमा लाग्छौं । के ऐना फेरेर आफ्नो दोष मेट्टिन्छ त ? वा आँखा चिम्लँदैमा आफू चोखिन्छौं त ? प्रश्न यो पनि उठ्न सक्छ कि एक्लो हुनु नराम्रो हो र ?

एक्लो हुनु आफैंमा नराम्रो होइन । ‘म’ र ‘म’ले जन्माएका ‘मेरा’हरुप्रतिको मोहलाई त्याग्न सक्यौं भने एक्लै हुनु वा दुक्लै हुनुमा केही फरक पर्दैन । हामी सबै एक्ला नै हौं र यो दुनियाँ एक्लाएक्लैको भीडमात्र हो । यही नै जीवनको यथार्थ र नियति हो । तर, एक्लोपन हाम्रो मानसिक उपज हो र जसरी हामी आफ्नो एक्लोपनसँग डराएर अरुको साथमा रमाउन खोज्ने वा आफ्नो अहंको पर्खाल लगाएर एक्लो हुन खोज्ने गर्छौं, यी दुवै कुराले हामीलाई आफैसँग र दुनियाँसँग एक्ल्याएर आफ्नो वास्तविक स्वरुपबाट पनि विमुख गराउने हुन्छ र यही नै हाम्रो दुःखको कारण हो ।

मनोविद् कार्ल जङ्ग भन्नुहुन्थ्यो- ‘एक्लोपन आफ्नो कोही नभएर होइन बल्कि आफना महत्त्वका कुरा अरुलाई बुझाउन नसक्दा वा अरुलाई अस्वीकार्य दृष्टिकोण समाउन पुग्दा आउने हुन्छ ।’ हामी अरुले आफूलाई बुझेन भनी गुनासो गर्छौं । तर, यथार्थ के हो भने कुनै पनि परिस्थितिलाई हामी आफ्नो मनको अवस्थाअनुसार हेर्छौं र बुझ्छौं । हाम्रो मनको स्थितिअनुसार परिस्थितिप्रतिको बुझाइ सबैको फरक हुन्छ । त्यसैले अरुले आफूलाई बुझेन भनी गुनासो गर्नुभन्दा पहिले आफूले आफैंलाई बुझ्नु जरुरी छ । अनि हामी अरुलाई बुझ्न सक्छौं । जब हामी अरुलाई बुझ्नसक्ने हुन्छौं, अरुले पनि हामीलाई बुझ्न थाल्छन् ।

हाम्रो मनको स्थितिअनुसार परिस्थितिप्रतिको बुझाइ सबैको फरक हुन्छ । त्यसैले अरुले आफूलाई बुझेन भनी गुनासो गर्नुभन्दा पहिले आफूले आफैंलाई बुझ्नु जरुरी छ । अनि हामी अरुलाई बुझ्न सक्छौं । जब हामी अरुलाई बुझ्नसक्ने हुन्छौं, अरुले पनि हामीलाई बुझ्न थाल्छन् ।

हाम्रा विगतका सफलता असफलताका अनुभव र भोगाइहरुले स्थापित भएका आफ्ना मूल्य मान्यता र विश्वासहरुमा आधारित भई हामीले आफू र दुनियाँप्रति एउटा धारणा र दृष्टिकोणको विकास गरेका हुन्छौं । जसलाई हामी मन भन्छौं । जब हाम्रा मूल्य, मान्यता र विश्वासहरुमा आँच आउने गरी कसैले केही गरे हाम्रो अहं आफ्नै अस्तित्वलाई समाप्त पार्ने गरी आक्रमण गरेकोजसो ठानी त्यसको बचाउमा लाग्छ, त्यसको प्रतिकारमा लाग्छ । सम्बन्धको सवालमा यसको जग त हामी जन्मिएसँगै बनेको हुन्छ । मनोविद् जोन बाउलको विचारलाई मान्ने हो भने हामी जन्मिँदा सबैभन्दा पहिला बनेको सम्बन्ध (आमा वा स्याहारसुसार गर्नेसँगको) ले नै पछिका सम्बन्धहरुको आधार निर्धारण गर्ने हुन्छ ।

मनोविद् मेरी आइन्सवर्थको अनुसार हाम्रो हुर्काइको तरिकासँगै हामीले लगाव शैली पनि फरक फरक तरिकाले विकास गरेका हुन्छौं । सुरक्षित लगावमा राम्ररी स्याहारसुसार र पालनपोषण पाएको कारणले आफू र अरुप्रति सकारात्मक भावको विकास हुन्छ । जसले गर्दा आफू वा दुवै तनाव र समस्यामा रहेको अवस्थामा पनि साथीप्रति रचनात्मक र सकारात्मक रुपमा व्यवहार गर्ने हुन्छ । चिन्ताग्रस्त लगावमा असंगत र अप्रत्याशित स्याहारसुसार पाएको कारण आफूप्रति नकारात्मक भावको विकास हुन्छ र आफूलाई मायाको लायक नभएको रुपमा लिने हुन्छ । जसले गर्दा आफ्नो साथीले माया गर्दैन कि भनेर चिन्ता लिने हुन्छ । जोगिने लगावमा तिरस्कृत र स्याहारसुसारमा बेवास्ता भएको कारण अरुप्रति नकारात्मक भावको विकास हुन्छ र अरुलाई अविश्वास गर्ने हुन्छ । जसले गर्दा सम्बन्धमा रहन नरुचाउने र आफू नै बलियो र भरपर्दो हुनुपर्दछ भन्ने हुन्छ ।

हामी सबै फरक छौं । सोच्ने तरिका फरक छन् । हाम्रा मूल्य मान्यता र विश्वासहरु फरक छन् । आफ्नोभन्दा फरक सोच र विचार हुनुको अर्थ गलत नहुन पनि सक्छ । तर, जसरी हामी आफ्नो सहयात्रीले पनि आफूले जस्तै सोचून् भनी उनका मूल्य मान्यता र विश्वासहरुलाई गलत साबित गर्न वा परिवर्तन गर्न खोज्छौं अनि समस्या खडा भइदिन्छ । सम्बन्धमा जब विश्वास र भरोसाको लागि ठाउँ सानो हुन्छ वा ठाउँ नै हुँदैन तब आफूले खोजेको स्वतन्त्रता र आत्मियताको कमीले आफू निस्सासिएको अनुभूति हुन्छ । त्यहाँ भावना साट्ने र स्वस्थ तथा सुरक्षित बहस सम्भव हुँदैन । जसले सँगै भएर पनि एक्लोपनको अनुभव गराउने हुन्छ । सम्बन्धमा समस्या आएको छ भने गल्ती दुवै पक्षको छ र यो बुझ्नु जरुरी छ कि हामीले अरुको गल्ती कमजोरी सुधार्न सक्दैनौं । यदि हामीले आफ्नो गल्ती र कमजोरीको इमानदारीपूर्वक जिम्मेवारी लिएर त्यसलाई सुधार गरी आफूलाई परिवर्तन गर्‍यौं भने अरुलाई आफू परिवर्तन हुन कर लाग्छ । आफ्नो कमजोरी सुधार नगर्नुका कारण नयाँ बनेका सम्बन्धहरुमा पनि समस्या दोहोरिन्छ । एउटा सम्बन्धलाई राम्ररी निभाउन सफल भयौं भने हजार सम्बन्धहरुमा पनि समस्या हुँदैन । तर, हामी एउटा सम्बन्ध निभाउन सकेका छैनौं, हजार सम्बन्धहरु जोड्ने कोसिस गर्छौं ।

आफ्नो कमजोरी सुधार नगर्नुका कारण नयाँ बनेका सम्बन्धहरुमा पनि समस्या दोहोरिन्छ । एउटा सम्बन्धलाई राम्ररी निभाउन सफल भयौं भने हजार सम्बन्धहरुमा पनि समस्या हुँदैन । तर, हामी एउटा सम्बन्ध निभाउन सकेका छैनौं, हजार सम्बन्धहरु जोड्ने कोसिस गर्छौं ।

दुई जना सँगै हुँदा मतभेद हुनु स्वाभाविक हो र यो जरुरी पनि छ । किनकि समान विचारले परिस्थितिको आँकलन र सामना गर्न सक्षम नहुन पनि सक्छौं । दुइटा कुरामा समानता हुनु भनेको एउटा कुरा काम नलाग्नु पनि हो । मनोवैज्ञानिकहरु दाबी गर्छन् कि समस्यारहित सम्बन्ध सम्भव नै छैन । कहिले पनि ठाकठुक नपरेको सम्बन्ध छ भने दुईमध्ये एकले आफ्ना इच्छा, आकांक्षालाई दबाइराखेका छन् । जुन कुनै पनि बेला विस्फोट हुन बेर लाग्दैन । तर, मनमुटावका कारण उब्जिएका तीक्ततालाई समयमै उचित तवरले व्यवस्थापन गर्न सकिएन भने यही नै दुःखको कारण बन्छ । त्यसैले पारस्परिक छलफल र विमर्शले एक अर्कालाई बुझी चिरा परेको सम्बन्धलाई जोड्ने सेतुको काम गर्नसक्छ । अक्सर द्वन्द्वका समस्याहरु गलत बुझाइ वा भनौं फरक विचारलाई सुन्न तयार नहुने तर आफ्नो कुरामा मनाउन कोसिस गर्ने हाम्रो बानीका कारण भइरहेका हुन्छन् ।

हामी बुझ्न होइन, बुझाउनमा बढी समय खर्चन्छौं । सञ्चारभन्दा हामीले लेख्ने, पढ्ने र बोल्नेमात्र माध्यम ठानेका छौं । तर, सुन्ने कलामा हामी कमजोर छौं । अरुलाई नसुनिकन बुझ्नु असम्भव छ । फेरि सुन्नु भनेको शब्दमात्र होइन, भावलाई पनि बुझ्न सक्नुपर्‍यो । मैले कहीं पढेको थिएँ, यही फरक बुझाइको बारेमा । जँड्याहाहरुका लागि एउटा सचेतना कार्यक्रम आयोजना भएको रहेछ र त्यहाँ रक्सीले शरीरमा कस्तो असर गर्ने रहेछ भनेर बुझाउन रक्सीको भाँडो र पानीको भाँडोमा गड्यालो राखी देखाएछ । रक्सीको भाँडोको गड्यौलो मरेको देखिन्छ भने पानीको भाँडोको गड्यौलो चाँहि जिउँदै पौडिएको देखिन्छ । अनि सहभागी जँडियाहरुलाई सोधेछ- ‘यो देखेर तिमीहरूले के बुझ्यौ ?’ एउटा जँड्याहाले उत्साहपूर्वक उठेर जवाफ दिएछ- ‘रक्सी खायौं भने हाम्रो शरीरभित्रका कीटाणुहरु पनि यसरी नै मर्छन् र हामी निरोगी हुन्छौं ।’

अब हामी आफैं बुझौं, वास्तवमा त्यहाँ बुझाउन खोजेको के थियो ? आफूलाई चिन्न सकेका छैनौं । अरुलाई चिन्न खोज्छौं । जसले भ्रममात्र पैदा गर्छ । आफूलाई आफ्नो मनभन्दा माथि उठाएर आफ्ना मूल्य मान्यता र विश्वासलाई प्रश्न गर्न सक्यौं भने आफैं र अरुप्रतिको प्रश्न पनि हराउनेछ, मात्र स्वीकारोक्ति हुन्छ । आत्म स्वीकारोक्ति भनेको आफ्ना सफलता र क्षमतामात्र होइन, आफ्ना असफलता र कमिकमजोरी तथा सीमाहरुलाई पनि चिन्नु र स्वीकार्नु हो । जब आफूलाई र आफ्ना विचार, मूल्य मान्यता र विश्वासहरुलाई छुट्याएर हेर्न सिक्छौं, तबमात्र वास्तविक बुझाइ सम्भव हुन्छ ।

हामी बुझ्न होइन, बुझाउनमा बढी समय खर्चन्छौं । सञ्चारभन्दा हामीले लेख्ने, पढ्ने र बोल्नेमात्र माध्यम ठानेका छौं । तर, सुन्ने कलामा हामी कमजोर छौं । अरुलाई नसुनिकन बुझ्नु असम्भव छ । फेरि सुन्नु भनेको शब्दमात्र होइन, भावलाई पनि बुझ्न सक्नुपर्‍यो ।

हामी सम्बन्ध किन गाँस्छौं भन्दा हाम्रा आवश्यकता पूर्तिका लागि गाँस्छौं र यही आवश्यकताका आधारमा सम्बन्धहरुलाई विभिन्न नाम पनि दिन्छौं । हामीले आफूले चाहेको कुरा पहिला अरुलाई दिन सक्नुपर्छ । अनिमात्र त्यो कुरा पाउन सक्छौं, जसरी बैंकमा बचत गरेको पैसा पछि आफूलाई चाहेको बेला निकाल्न सक्छौं । आफ्नो स्वार्थ पूरा गर्न पहिला अरुको स्वार्थलाई सम्बोधन गर्नैपर्छ, होइन भने ढिलोचाँडो सम्बन्धमा समस्या खडा भइ नै हाल्छ । तर, सम्बन्धलाई उपयोगितावादमै अल्झाएर ससाना खुशीका लागि आफूलाई भुलाइराख्ने हो भने Abraham Maslow को Hierarchy of Needs अनुसारको हाम्रो सबैभन्दा माथिल्लो आवश्यकता मुक्तिको तहसम्म पुग्न सम्भव नहुन पनि सक्ला ! र जीवनमा सबैको उद्देश्य मुक्ति नहुन नि सक्ला !

तर, हाम्रा भौतिक/जैविक, सामाजिक र मानसिक तथा भावनात्मक आवश्यकताभन्दा माथि आध्यात्मिक आवश्यकता मुक्तिका लागि पनि सम्बन्ध जरुरी छ । दिनु लिनुभन्दा माथि आफू हुनुमा पुगेको सम्बन्धले नै हामीलाई मुक्तिको लक्ष्यसम्म पुर्‍याउन मद्दत गर्नसक्छ । होइन भने त्यही सम्बन्ध नै बोझ लाग्न थाल्छ । आफू आफू हुन नसकेकै कारण त कोही आत्मसम्मानको नाममा वा अहंकारको बचाउमा सम्बन्धबाट नै भाग्दै हिँड्छन् त कोही आफ्नो सुखको तृष्णामा भुली हिँड्छन् ।

त्यसैले सवाल आफूसँग आफैं छौं कि छैनौं भन्ने हो न कि आफूसँग अरु छन् कि छैनन् र राम्रो र स्वस्थ सम्बन्धको मापन साथै हुनुले मात्र गर्न सकिँदैन । हामी एक्लो छौं किनकि हामीले आफूले आफैंलाई बुझ्न सिकेनौं । आफैंले आफैंलाई प्रेम गर्न सिकेनौं । आफैंले आफैंलाई विश्वास गर्न सिकेनौं । आफूसँग नभएको कुरा अरुबाट आश गरेर पाउने निराशामात्र हो । आफू आफैंसँगै खुशी छैनौं भने अरुसँग जोडिएर हामीले उसको खुशी पनि रित्याइदिन्छौं । अक्सर सम्बन्धमा समस्या यही कारण उब्जिने हुन्छ । आफू आफैंसँग खुशी भएर अरुको खुशीको कारण बन्न सक्यौं भने कोही किन एक्लो हुन्छ ? स्वस्थ र राम्रो सम्बन्ध भनेको सँगै हुँदा र नहुँदा पनि दुबैको जीवनमा प्रगति र खुशी हुनु हो । जसले यो एक्लै र दुक्लै भन्ने प्रश्न नै गौण हुन्छ । यो दुनियाँ र समाज भनेको आफू स्वयंको विस्तारित रुपमात्र हो । आफू जे हो, अरुमा त्यही देख्छौं । त्यसैले सम्बन्धलाई आफ्नै प्रतिविम्बको रुपमा लिएर आफूलाई अझै चिन्न, आफूलाई अझै परिस्कृत गर्न र आफूलाई सँगसँगै अरुलाई पनि विश्वास गर्न सिक्ने अवसर बनाउन सक्यौं भने जीवन सुखी र सफल हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *