मीनबहादुर पक्राउको ‘साइड इफेक्ट’- भाटभटेनीका १ हजार सप्लायर्सलाई भुक्तानी समस्या, बैंकहरुको १२ अर्ब लगानी – Nepal Press

मीनबहादुर पक्राउको ‘साइड इफेक्ट’- भाटभटेनीका १ हजार सप्लायर्सलाई भुक्तानी समस्या, बैंकहरुको १२ अर्ब लगानी

भाटभटेनी सीईओ पौडेलको दाबी- कसैको पनि भुक्तानी रोकिएको छैन

काठमााडौं । आर्थिक वर्षको अन्तिममा सबै व्यवसायीहरुलाई बैंकबाट लिएको ऋणको साँवा र ब्याज तिर्ने चटारो छ । भ्याटलगायत कर बुझाउने समय पनि यही हो ।

यता भाटभटेनी सुपर मार्केटलाई सामान सप्लाइ गर्नेहरुको समस्या भने आर्थिक वर्षको अन्त्यमा झनै विकराल बनेको छ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललिता निवास प्रकरणको छानबिनमा पक्राउ परेपछि सप्लायर्सहरु समस्यामा परेका हुन् । आर्थिक वर्षका अन्त्यमा बैंक र सहकारीबाट लिएको ऋणको साँवा र ब्याज नै तिर्न समस्या परेको व्यवसायीहरुको भनाइ छ ।

गुरुङसँग मिलेर व्यवसाय गरेका र भाटभटेनीमा सामान सप्लाइ गर्ने व्यवसायीहरु गुरुङ पक्राउ परेपछि समस्यामा परेका हुन् । भाटभटेनीबाट भुक्तानी रोकिएपछि व्यवसायीहरु छटपटीमा परेका छन् ।

भाटभटेनीमा सामान सप्लाइ गर्ने एक सप्लायर्सले भने, ‘भाटभटेनीका सञ्चालक गुरुङ ठूलो व्यापारी हुन् । उनको कम्पनीमा गएर लफडा गर्न सकिने अवस्था पनि छैन । प्रत्येक महिनाको १५ गते भाटभटेनीले भुक्तानी दिने गरेको थियो । तर, जनकपुरमा नयाँ भाटभटेनीको ब्रान्च सञ्चालनमा आउने भएपछि गरुङ उता व्यस्ता भए । उनले सबै सप्लायर्सहरुलाई असार १५ गते २ महिनाको भुक्तानी दिने बताएका थिए । तर अब कसलाई भन्ने ?’

उनलाई प्रहरीले असार १२ गते नै पक्राउ गरेको छ । भाटभटेनीको अहिलेसम्म भुक्तानीमा अहिलेसम्म मीनबहादुरको मात्र चेकमा हस्ताक्षर चल्ने गरेको छ । कसलाई कति भुक्तानी दिनुपर्ने हो भन्ने समेत अन्यलाई जानकारी नभएको बताइन्छ ।
एक सप्लायर्सले भने, ‘आर्थिक वर्षको अन्तिममा आएर २ महिनाको भुक्तानी रोकिएपछि ठूलो समस्यामा छु । मेरो भाटभटेनीसँग राम्रो व्यापार थियो । तर, अब भुक्तानी नपाएपछि म आफैं समस्यामा परेको छु । मीनबहादुर दाइलाई प्रहरीले पक्राउ गरेको छ । भाटभटेनीबाट लिनु पर्ने भुक्तानी कसरी लिने हो भन्ने ठूलो चिन्ता परेको छ । अब घरबार नै बिग्रिने अवस्था आएको छ । बैंकलाई पैसा तिर्न नसकेपछि बैंकले राखेको धित्तो लिलाम उठाउँछ । अब कसरी बैंकको किस्ता तिर्ने भन्ने नै सबैभन्दा ठूलो समस्या परेको छ ।’

भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पानु पौडेलले भने भाटभटेनीमा सप्लायर्सलाई दिनुपर्ने भुक्तानी नरोकिएको बताए । उनले भने, ‘भाटभटेनी भनेको सिस्टमले चलेको कम्पनी हो । सञ्चालक पक्राउ पर्दा भुक्तानी रोकिएको छैन । हामीले सिस्टमअनुसार नै भुक्तानी गरिरहेका छौं ।’

तर भाटभटेनीका सञ्चालक पक्राउ परेपछि करिब १ हजार सप्लायर्सको असार मसान्तको क्लोजिङ नै समस्यामा पर्ने व्यवसायीहरु नै बताउँछन् ।

भाटभटेनी सञ्चालनमा गुरुङका भाई, श्रीमती र छोराले साथ दिए पनि भुक्तानीमा मीनबहादुरको मात्रै हस्ताक्षर चल्ने गरेको थियो । उनले कसलाई कति दिने हो र व्यवसायी कसरी अगाडि बढाउने हो भन्ने एकल निर्णय गर्ने गरेका थिए ।

हाल भाटभटेनीको २५ वटा आउटलेट छन् । केही दिन पहिले मात्रै जनकपुरमा नयाँ आउटलेट सुरु गरेको हो । ललितानिवास जग्गा प्रकरणमा गुरुङ यसभन्दा पहिले पनि २०७६ सालमा पक्राउ परेका थिए । त्यतिबेला उनी धरौटीमा छुटेका हुन् । अहिले पनि ललिता निवास जग्गा प्रक्ररणमा नै उनी पक्राउ परेका हुन् ।

२०७६ साल माघ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसहित १७५ जनाविरुद्ध १२३ रोपनी सरकारी जग्गा किर्ते गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले गुरुङविरुद्ध मुद्दा दायर गरेपनि विशेष अदालतले २ करोड धरौटीमा रिहा भएका हुन् ।

भाटभटेनीमा ७ वटा बैंकको १२ अर्ब लगानी

गुरुङसँग नजिक रहेका एक व्यवसायीका अनुसार विभिन्न ७ वटा बैंकले गुरुङका कम्पनीहरुमा करिब १२ अर्ब लगानी रहेको छ । गुरुङलाई पक्राउ गरेपछि बैंकहरु पनि आफ्नो लगानीमा केही समस्या आउने हो कि भन्ने चिन्तामा छन् । यद्यपी सिस्टमअनुसार नै बैंकसँगको कारोबार चलिरहेको पौडेलले बताए ।

निजी क्षेत्र आक्रोशित

भाटभटेनीका मालिक मिनबहादुर गुरुङ पक्राउ परेपछि निजी क्षेत्रका संस्थाहरुले विज्ञप्ति निकालेर त्यसको विरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले सयुंक्त रुपमा विज्ञप्ति निकाले विरोध गरेका हुन् ।

मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र अहिले समस्यामा छ । न्यून मागका कारण लगानी विस्तार हुन नसक्दा कुल ग्राहस्थ्य उत्पादन अपेक्षितभन्दा ६ प्रतिशत विन्दु कम भएको छ भने राजश्व संकलन गत वर्षभन्दा १३ प्रतिशतले घटेको निजी क्षेत्रले बताएको छ ।

मीनवहादुर भागेर हिँड्ने व्यक्ति नभएको र आरोप समेत अदालतबाट प्रमाणित नभएको अवस्थामा उनलाई अपराधी सरह पक्राउ गरेर राख्दा एकातिर अर्बौंको कारोबार अन्यौलमा छ भने अर्कोतिर निजी क्षेत्र त्रसित बनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *