प्रधानमन्त्रीले नै बोल्ने बेला त्रुटी गरेको भनेपछि सदन अघि बढाउन सहमत भएका हौं : पदम गिरी (भिडिओ)
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदमा प्रधानमन्त्रीले भावनात्मक अभिव्यक्ति दिएको जवाफ दिएपछि सदनलाई अघि बढाउन एमाले सहमत भएको बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले प्रधानमन्त्रीले नै बोल्ने बेला त्रुटी गरेको र भविष्यमा यस्तो त्रुटी नगर्ने प्रतिवद्धता आएपछि सदनलाई अघि बढाउन एमाले सहमत भएको बताएका हुन् ।
उनाले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण राष्ट्रिय स्वाभिमानमाथि गम्भीर आघात भएको र जनताको मन दुखेकोमा प्रधानमन्त्रीको जवाफ गहिराईबाट भने आउन नसकेको बताए । समग्रमा प्रधानमन्त्री अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएको उनको भनाइ छ ।
त्यस्तै, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका विषयमा बिभिन्न विषयवस्तु उठेपनि प्रधानमन्त्री देशलाई कसरी अघि बढाउने भन्ने दृढ इच्छाशक्तिका साथ अघि बढेको बताए । उनले सवै बिषयलाई प्रधानमन्त्रीले ठिक ढंगले अघि बढाउने विश्वास व्यक्त गरे ।
त्यस्तै, कांग्रेस नेता प्रदीप पौडेलले प्रचारका लागि आफ्नो उपस्थीति देखाउन एमालेले लगातार सदन अवरुद्ध गरेको आरोप लगाए । उनले सभामुखले पनि संसदीय प्रक्रियालाइ अघि बढाउने भन्दा पनि कुनै दलले अवरोध गर्ने बितिकै सदन स्थगन गर्ने गलत अभ्यास गरेको बताए ।
उनले प्रधानमन्त्रीका विषयमा एमालेले उठाएको प्रश्नको औचित्य पुष्टि हुन नसकेको धारणा राखे ।