रेडक्रसमा नेत्र तिम्सिना नेतृत्वको छुट्टै महाधिवेशन : ३३ सदस्यीय केन्द्रीय समिति घोषणा – Nepal Press

रेडक्रसमा नेत्र तिम्सिना नेतृत्वको छुट्टै महाधिवेशन : ३३ सदस्यीय केन्द्रीय समिति घोषणा

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले नेतृत्व पाएको छ । लामो समयदेखिको विवाद र अनिर्णय अन्त्य गर्दै डा. नेत्र तिम्सिनाको नेतृत्वमा केन्द्रीय कमिटी बनाइएको हो ।

काठमाडौंमा आज सम्पन्न विशेष महाधिवेशनबाट तिम्सिना अध्यक्ष रहेको ३३ सदस्यीय कमिटी घोषणा गरिएको छ । कमिटीको महिला उपाध्यक्षमा चन्द्रकला कार्की, उपाध्यक्षमा विशाल भण्डारी, महामन्त्रीमा दीपेन्द्रराज ढकाल, कोषाध्यक्षमा सीताराम कोइराला, उपमहामन्त्रीमा जगदीश भट्टराई र उपकोषाध्यक्षमा होमप्रसाद पाठक छन् ।

नेपाल रेडक्रस सोसाइटीलाई गठबन्धन दलले भागबन्डा गरेर महाधिवेशनको तयारी गरिरहेको बेला तिम्सिना नेतृत्वको तदर्थ समितिले छुट्टै महाधिवेशनबाट केन्द्रीय समिति गठन गरेको हो ।

भूकम्पपछिको परियोजनामा चरम आर्थिक अनियमितता भएको सरकारी छानबिनले देखाएपछि निकासका लागि तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ साउन १२ गते अध्यक्ष नेत्र तिम्सिना नेतृत्वको तदर्थ समिति गठन गरेको थियो । तिम्सिनालाई बर्खास्त गरी देउवा सरकारले २०७८ पुस १४ गते सुदर्शन नेपालको अध्यक्षतामा नयाँ तदर्थ समिति बनायो । नेपाललाई नियुक्तिको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालत र उच्च अदालत पाटनबाट एकैपटक आदेश जारी भएको थियो । तर, तिम्सिनालाई काम गर्न दिइएन । उल्टै नेपालले अवकाश भइसकेका कार्यकारी निर्देशक उमेश ढकाललाई अधिकार प्रत्यायोजन गरेर कर्मचारीबाट रेडक्रस चलाउँदै आइएको छ ।

अर्को पक्षले भने असार २७ र २८ मा विशेष महाधिवेशन गर्ने तयारीका साथ गठबन्धन दलका प्रतिनिधि बसेर कांग्रेस, माओवादी र नेकपा एसलाई पद भागबन्डा गरेको छ । त्यो महाधिवेशन रोक्न माग गर्दै परेको रिट अदालतमा विचाराधीन छ ।

‘रेडक्रस सोसाइटीको मार्गचित्र’ नाम दिएर गरिएको साझा सहमतिमा सुदर्शन प्रसाद नेपाल, भूपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिना, मनोजकुमार थापा र विनोदकुमार बस्नेतले हस्ताक्षर गरेका छन् ।

यी ५ जनाले कांग्रेसबाट अध्यक्ष, उपाध्यक्ष (खुल्ला), उपमहामन्त्रीसहित १५ जना, माओवादीबाट महिला उपाध्यक्ष, कोषाध्यक्षसहित ८ जना, नेकपा एसबाट महामन्त्री र कोषाध्यक्षसहित ६ जना भाग लगाएका थिए । त्यस्तै अन्य समूहलाई ४ जना छुट्याइएको छ । तर, सहमति हुन नसके गठबन्धन समूहमै समानुपातिकरूपमा बाँडफाँट गर्ने समझदारी गरेका थिए ।


प्रतिक्रिया

2 thoughts on “रेडक्रसमा नेत्र तिम्सिना नेतृत्वको छुट्टै महाधिवेशन : ३३ सदस्यीय केन्द्रीय समिति घोषणा

  1. यो देशलाई भारतको प्रान्त बनाउन खोज्ने कांग्रेस माओवादी र नेकपा एस र राष्ट्रिय जनमोर्चा समाजवादी मोर्चा उपेन्द्र र महन्त ठाकुर ले रेडक्रस समेत भागबन्डा गरे ।

  2. यस्तो चरम राजनीतिले गठबन्धन ठगबन्धन हो भनेर प्रमाणित गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर