पृथ्वी राजमार्गकाे पोखरा खण्ड २ वर्षमा मात्र ८ प्रतिशत काम, अवैध संरचना हटाउन सुरू – Nepal Press

पृथ्वी राजमार्गकाे पोखरा खण्ड २ वर्षमा मात्र ८ प्रतिशत काम, अवैध संरचना हटाउन सुरू

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सोमबार डोजर लिएर सडक छेउमा पर्ने अवैध संरचना हटाउन सुरु गरेका छन् । पृथ्वी राजमार्ग खण्डअन्तर्गत पोखरा बसपार्कदेखि विजयपुर खोलासम्मको सडकको दायाँबायाँ बनेका संरचना भत्काउन सुरु गरेको हो ।

सोमबारदेखि पृथ्वीचोकदेखि विजयपुर खोलासम्मको सडकको बीचभागबाट २३/२३ मिटर दायाँ/बायाँका अस्थायी संरचनामा डोजर चलाएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।

उनले भने, ‘बाटोका लागि एडिबीको टिम पर्सि आउँदैछ । त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो ।’

सडक मापदण्डभित्र पर्ने स्थायी संरचना मुआब्जा वितरण सकिएपछि भत्काउन सुरु गरिने मेयर आर्चायले सुनाए । आयोजनाका अनुसार उक्त सडक आयोजना अन्तर्गत पोखरा महानगरपालिकाभित्र १७० घर भत्काउनुपर्ने हुन्छ । हालसम्म १ सय १२ वटा भौतिक संरचनाको मुआब्जा वितरण गरिसकेको आयोजनाको पश्चिम खण्ड प्रमुख अमित श्रेष्ठ बताए ।

सडक विस्तार आयोजन अन्तर्गत पश्चिम खण्डमा २ करोड ७० लाख रुपैयाँ मुआब्जा वितरण सकिएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । अझै ६ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी रहेको उनको भनाइ छ ।

यसो त मुग्लिन–पोखरा सडक खण्डमध्ये पश्चिम खण्डमा निर्माणले गति लिन सकेको छैन । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्मको सडक निर्माणका लागि २ वर्षअघिनै सम्झौता भइसकेको छ । चीनको यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रसन २०७८ जेठ २ गते ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा निर्माण सम्झौता गरिएको थियो ।

एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा बन्न लागेको उक्त सडकको निर्माण सम्झौता भएको २ वर्ष वितिसक्दा पनि प्रगति भने ७.८९ प्रतिशतमा सिमित रहेको छ । सडकको पूर्वी खण्डको प्रगति २०.५ प्रतिशत हुँदा पश्चिम खण्ठ ७.८९ प्रतिशतमा सिमित रहेको आयोजनाका प्र्रमुख इञ्जिनियर नरेन्द्र सुवेदीले जानकारी दिए ।

उक्त सडकमा कामले गति लिन नसक्दा दाता एसियाली विकास र्बैंक रुष्ट छ । सोही कामको अनुगमनको गर्न असार २७ गते एसियाली विकास बैंकको टोली आउने तयारी गरेको छ ।

मुग्लिन–पोखरा सडक खण्डलाई मुग्लिन–आँबुखैरेनी, आबुँखैरेनी–दमौली, दमौली–विजयपुर खोला र विजयपुरबाट पृथ्वीचोक गरी ४ खण्डमा विभाजन गरिएको छ ।
मुग्लिनदेखि तनहुँको जामुनेसम्मको ४१ किलोमिटर पूर्वी खण्डको लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग २०७७ साल माघ १७ गते ४ वर्षभित्र सक्ने गरी ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

केही दिनअघि सडक निर्माणको काम सुस्त भएको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत छन सोन, एसियाली विकास बैंकका प्रमुख, पालिका प्रमुख, सडक विभागका अधिकारीसहितको टोलीले सडकको निरीक्षण गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले निर्माण कम्पनीलाई समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा-मुग्लिन सडक विस्तार गरी ४ लेन बनाइँदैछ । सडक आयोजनाको मापदण्ड अन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइ हुनेछ । सडकको पोखरा खण्डमा सडक विस्तारको काम ८ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २-२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ । सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल बन्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *