पत्रकार महासंघको सदस्यता ‘शुद्धीकरण’ : आफ्नालाई जोगाउने, विरोधीलाई सिध्याउने – Nepal Press

पत्रकार महासंघको सदस्यता ‘शुद्धीकरण’ : आफ्नालाई जोगाउने, विरोधीलाई सिध्याउने

पत्रकारहरुको छाता संगठन मानिएको नेपाल पत्रकार महासंघभित्र सधैंजसो एउटा बहस हुन्छ- सदस्यता शुद्धीकरण । महासंघभित्रका ‘नेता पत्रकार’हरुले आफ्ना भाषणमा पटकपटक सदस्यता शुद्धीकरणको प्रसङ्ग उठाउने गरेका छन् । मैले पत्रकार महासंघको सदस्यता प्राप्त गरेको लामो अवधि त भएको छैन, करिब १६ वर्षमात्रै भयो । योबीचमा धेरै पटक, धेरै व्यक्तिले सदस्यता शुद्धीकरणको भाषण गरेको सुनें । भाषण सुन्दा कुनै दिन फिस्स्स्स्स हाँसेमात्रै, कुनै दिन अचम्म परें, कुनै दिन आक्रोशित पनि भएँ । कुनै दिन महासंघको सदस्यता नै त्याग्नुपर्छ कि भन्नेसम्म पनि सोच्न थालें ।

पत्रकारिता क्षेत्रमा प्रवेशको सुरुवाती दिनहरुमा पत्रकार महासंघको सदस्य भएपछि के के न हुन्छ भन्ने लागेको थियो । खास पत्रकार भनेको त महासंघको सदस्यमात्रै हो कि भन्ने पनि लागेको थियो । व्यवसायिक वा क्रियाशील पत्रकारहरुको छाता संगठनको सदस्यता लिन निकै कोसिस पनि गरियो, करिब तीन वर्षको प्रयासपछि सदस्य भइयो पनि । तर, त्यो महासंघ जसको नाम लिँदा पनि आफूलाई गर्व महसुस हुन्थ्यो, १६ वर्षको यो अवधिमा त्यसको हविगत बुझ्दा सदस्यता प्राप्तिका लागि गरिएको त्यो प्रयास सम्झिन बाध्य छु ।

यही ‘व्यवसायिक पत्रकार’हरुको छाता संगठन नेपाल पत्रकार महासंघकोे सदस्यता ‘शुद्धीकरण’को अभियान यस पटक अलि व्यवहारिक कार्यान्वयनको तहमा पुगेको छ । ठूलो संख्यामा गैरपत्रकारहरुको सदस्यता खारेज हुने भएको छ । यसका लागि वर्तमान नेतृत्वलाई धन्यवाद छ । विगतमा पत्रकारितामा संलग्न व्यक्तिहरु पेशाबाट अलग भएपछि सदस्यता त्यागेको स्व-घोषणा पनि गर्न थालेका छन् । तर, विडम्वना जो जीवनको कुनै कालखण्डमा पनि पत्रकारिता पेशासँग कुनै पनि प्रकारले जोडिएनन्, ‘नेता पत्रकार’हरुको कृपाले महासंघको सदस्यता पाए, तिनीहरुको सदस्यता यस पटक पनि नवीकरण भएको छ ।

नेतृत्व चयनको अंकगणितमा लागेर राजनीतिक दलको सक्रिय भूमिकामा रहेका, दलको टिकटबाट जनप्रतिनिधि भइसकेका व्यक्तिहरुको सदस्यता पनि नवीकरण हुँदैछ । आफूलाई अब्बल दर्जाका पत्रकार भएको दाबी गर्नेहरुले नै नक्कली कागजात पुर्‍याएर सदस्यता नवीकरण गरिदिएका छन् । यसमा महासंघका प्रदेशस्तरका समितिहरुले कस्तो खालको परीक्षण गर्छन् हेर्न बाँकी छ । ती सदस्यहरु साँच्चै क्रियाशील हुन वा होइनन्, तिनीहरुको पत्रकारिता क्षेत्रमा कुनै साइनो सम्बन्ध केही छ वा छैन, त्यसको कसैलाई हेक्का छ वा छैन । राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तिहरु, सरकारी कर्मचारीहरु, व्यापारिक क्षेत्रमा जमेका व्यक्तिहरु, सुरक्षा निकायका व्यक्तिहरुको सदस्यताले निरन्तरता पाउँदैछ ।

विगतमा पत्रकारितामा संलग्न व्यक्तिहरु पेशाबाट अलग भएपछि सदस्यता त्यागेको स्व-घोषणा पनि गर्न थालेका छन् । तर, विडम्वना जो जीवनको कुनै कालखण्डमा पनि पत्रकारिता पेशासँग कुनै पनि प्रकारले जोडिएनन्, ‘नेता पत्रकार’हरुको कृपाले महासंघको सदस्यता पाए, तिनीहरुको सदस्यता यस पटक पनि नवीकरण भएको छ ।

यही अवस्था हो भने एक पटक फेरि सोच्नुपर्ने अवस्था आएको छ- किन पत्रकार महासंघको सदस्य बन्ने ? यसले आफूलाई के फाइदा हुन्छ ? मानिस सामाजिक प्राणी भएकाले एक्लै बस्नुभन्दा समाजमा बस्न रुचाउँछ, एक्लै जीउनुभन्दा समूहमा जीउन सहज हुन्छ । यस हिसाबले महासंघको सदस्यताविनाको पत्रकारिता अलि असहज त होला । तर, असम्भव पक्कै पनि छैन । गैरपत्रकारहरुको समूहभित्र बसेर उकुसमुकुस सहनुभन्दा त एक्लै सहज होला कि भन्ने पनि लाग्ने के !

अहिलेको शुद्धीकरण अभियान विगतको भन्दा व्यवहारिक छ, यसमा दुईमत छैन । तर, अहिले पनि गैरपत्रकारहरुको सदस्यता जोगाउन नेता पत्रकारहरु आफैं फर्जी कागजात तयार गर्न लागिपर्नु दुर्भाग्य हो । यसले आफ्नालाई जोगाउने, विरोधीलाई सिध्याउने खेल भइरहेको देखिन्छ । नयाँ सदस्यता प्रदान गर्ने तरिकामा पनि कुनै सुधार आएन । सञ्चार गृह देख्दै नदेखेका व्यक्तिहरुलाई पनि सदस्यताका लागि सिफारिस गरेको छ । महासंघको सदस्यता लिने दौडमा कतिपय क्रियाशील पत्रकारहरु सामेल हुन सकेका छैनन्, कतिपय सामेल भएकाहरु पनि अयोग्य ठहरिएका छन् ।

त्यसैले महासंघको प्रदेश र केन्द्रीय समितिले नवीकरणका लागि सिफारिस भई आएका र नयाँ सदस्यताका लागि सिफारिस भएका ‘पत्रकार’हरुको विषयमा मसिनोसँग अध्ययन गर्न सक्छ त ? गम्भीर एवं जटिल जस्तो देखिने यस प्रश्नको सटिक उत्तर छ- चाहेको हो भने हुन्छ । यदि पदीय वा अरु कुनै प्रकारको लोभ र मोह छैन भने वा गैरपत्रकार सदस्य शून्य पत्रकार महासंघ बनाउन निर्मम बन्ने नै हुन भने पक्कै सम्भव छ ।

आफूलाई महासंघको सदस्यता प्राप्तिका लागि कसरी योग्य बनाइँदैछ भन्ने समेत जानकारी नभएकाहरु, पत्रकारिता कसले गर्छ र कसरी गर्छ भन्ने समेत जानकारी नभएकाहरु अर्थात् पत्रकारिता पेशाप्रति ‘गोरु बेचेको’ जत्तिको पनि साइनो नभएकाहरु ‘क्रियाशील पत्रकारहरुको छाता संगठन’ का सदस्य बनेका छन् । उहिले कुनै कालखण्डमा पत्रकार भएका तर लामो समयदेखि पत्रकारिताको ‘प’ समेत उच्चारण नगरेका साथीहरुको सदस्यता नवीकरण भएको छ । ती सदस्यहरु अहिले कहाँ छन्, के गर्दैछन् भन्ने कुराको महासंघलाई जानकारी हुँदैन । तर पनि नवीकरण हुन्छ । ‘हाम्रा यति, तिम्रा त्यति’ भनेर धाक लगाउन पनि सदस्यता नवीकरण हुन्छ । विगतमा पनि यही भएको हो, संख्यात्मक रुपमा कम भए पनि यसले निरन्तरता पाउने भयो । यही गतिविधिले गर्दा ‘पत्रकार महासंघ क्रियाशील पत्रकारहरुको छाता संगठन हो र !’ भन्ने पनि बहसको विषय बन्नु जरुरी छ । गैरपत्रकारहरुले ‘म पनि पत्रकार महासंघको सदस्य हुँ नि ! पत्रकार नभए के भयो र ?’ भनेर खिल्ली उडाएको देख्दा कता कता चसक्क बिज्ने ।

नेतृत्व चयनको अंकगणितमा लागेर राजनीतिक दलको सक्रिय भूमिकामा रहेका, दलको टिकटबाट जनप्रतिनिधि भइसकेका व्यक्तिहरुको सदस्यता पनि नवीकरण हुँदैछ । आफूलाई अब्बल दर्जाका पत्रकार भएको दाबी गर्नेहरुले नै नक्कली कागजात पुर्‍याएर सदस्यता नवीकरण गरिदिएका छन् ।

पत्रकार महासंघ क्रियाशील पत्रकारहरुको अभिभावक संगठन हुनुपर्छ, गैरपत्रकारहरुको प्रवेश निषेध गरिनुपर्छ भन्ने सैद्धान्तिक मान्यता सबैले रटेका छन् । तर, व्यवहारमा त्यसो हुँदैन । नयाँ सदस्यता दिनुपर्‍यो भने आफ्नो मान्छेलाई रातारात फर्जी कागजात तयार गरेर सिफारिस गरिन्छ । ‘म महासंघ नेतृत्वका लागि चुनाव लड्ने’ वा ‘मेरो नातागोता चुनाव लड्ने’ वा ‘मेरो संगठनको आदरणीय दाइ/सर चुनाव लड्ने’ भएकाले सदस्य संख्या थप्नुपर्ने, सम्बन्धित व्यक्तिले सदस्यता नवीकरण नगर्न भन्दाभन्दै पनि ‘ठेक्कामा’ सदस्यता नवीकरण गरिदिने परिपाटीले महासंघ शुद्ध हुँदैन । बरु दिन प्रतिदिन बिटुलो हुँदै जान्छ ।

मानौं, हामीले सदस्य बनाएको ठेकेदारले ज्याला नदिएको भन्दै मजदुरहरुले कुटपिट गरेछन् भने अब के भनेर प्रस्तुत हुने महासंघ ? ‘पत्रकार हो’ भन्ने वा ‘पत्रकार महासंघको सदस्य हो’ भन्ने वा ‘ठेकेदार हो’ भन्ने ? विज्ञप्ति निकालौं, पत्रकार होइन, जति मान्छे कुटिन्छन् सबैका लागि विज्ञप्ति निकाल्दै जान सम्भव छैन । विज्ञप्ति ननिकाल्ने हो, सदस्य कुटिएको छ, के हुन्छ यस्तोमा ?

नेपाल पत्रकार महासंघ कुनै राजनीतिक दलको भ्रातृ संगठन हो वा पिछलग्गू संगठन हो वा महासंघ हाम्रो कब्जामा हुनुपर्छ भन्ने बुझाइबाट माथि नउठेसम्म शुद्धीकरणको सवाल भ्रममात्र हो । यदि शुद्धीकरणको सवाल भ्रममात्रै भइरहने हो भने महासंघ अहिलेकै अवस्थामा ‘क्रियाशील पत्रकारहरु’को अभिभावक संगठन हो भन्ने कुरा पनि भ्रम हो । सदस्यता प्रािप्तका लागि उत्सुक नयाँ क्रियाशील साथीहरुलाई महासंघको सदस्यता पाएपछि के के न भइहाल्ने हो भन्ने परेको छ, त्यो पनि भ्रमै हो । तीन वर्षमा एक पटक भोट हाल्न प्रयोग हुनुपर्नेबाहेक अरु कुनै उपलब्धि हुँदैन ।

त्यसैले महासंघले आफ्नो ओज बचाउन आमजनतामा समेत छरपस्टै भएको ‘गैरपत्रकारहरुको संगठन’ भन्ने सन्देश मेटाउन र क्रियाशील पत्रकारहरुको विश्वास जित्न एक पटक गहिरो अध्ययन गर्नु जरुरी छ । यस पटक यो विषय अलि बढी चर्चामा रहेको छ । यदि हामीले महासंघलाई साँच्चै ‘शुद्ध’ बनाउन चाहेका हौं भने एक पटक आँट गरौं, जो, जुन सिद्धान्त बोकेको आए पनि क्रियाशील पत्रकारमात्रै आउने र महासंघ विधिले चल्ने थिति बसालौं । त्यसका लागि केही कुरामा अहिलेदेखि नै अभ्यास गरौं । प्रशस्त समय छ, अब आउने नेतृत्व क्रियाशील पत्रकारमध्येबाट, क्रियाशील पत्रकारहरुले चुनेर आउने वातावरण बनाऔं । त्यसका लागि महासंघले एक अधिकार सम्पन्न कार्यदल गठन गरोस् । भरपुर समय लगाएर र विभिन्न औजारहरुको प्रयोग गरेर त्यो कार्यदलले तयार गरेको सदस्यहरुको सूचीलाई मान्यता देओस् । त्यो कार्यदललाई निम्न कुराको जिम्मेवारी देओस्-

नयाँ सदस्यता दिनुपर्‍यो भने आफ्नो मान्छेलाई रातारात फर्जी कागजात तयार गरेर सिफारिस गरिन्छ । ‘म महासंघ नेतृत्वका लागि चुनाव लड्ने’ वा ‘मेरो नातागोता चुनाव लड्ने’ वा ‘मेरो संगठनको आदरणीय दाइ/सर चुनाव लड्ने’ भएकाले सदस्य संख्या थप्नुपर्ने, सम्बन्धित व्यक्तिले सदस्यता नवीकरण नगर्न भन्दाभन्दै पनि ‘ठेक्कामा’ सदस्यता नवीकरण गरिदिने परिपाटीले महासंघ शुद्ध हुँदैन । बरु दिन प्रतिदिन बिटुलो हुँदै जान्छ ।

१. गैरपत्रकार सदस्यहरुलाई बिदाइ : प्रत्येक शाखाका सदस्यहरुको सूची तयार गर्ने, सूचीमा रहेका सदस्यहरु पत्रकार हुन् कि होइनन् भन्ने खोजी गर्ने । कुनै सैद्धान्तिक, नाता सम्बन्ध, आत्मीयता जस्ता कुराको मोलाहिजा नमानी गैरपत्रकार सदस्यहरुलाई ससम्मान बिदाइ गर्ने गरी सिफारिस गर्ने । त्यस्ता व्यक्तिहरुलाई महासंघले सम्मानपत्र दिने र बिदाइ गर्ने । हुन त उहिले कुनै कालखण्डमा शाखा विस्तार गर्न वा त्यतिवेला आंशिक रुपमा पत्रकारिता पेशामा संलग्न भएकै कारण सदस्यता लिएकाहरुले लामो समयसम्म पत्रकारिता छोडेर अरु पेशामा लागिसकेपछि पनि ‘म पत्रकार महासंघको सदस्य हुँ’ भन्न लाज मान्नुपर्ने हो । तर, त्यो ‘लाज’ भन्ने शब्द अरुका लागि मात्रै हुँदो रहेछ, आफूले जे गरे पनि ‘लाज’ मान्नुपर्दैन । बरु तिनै मान्छेहरु अरुलाई ‘लाज मान्नुपर्ने’ भन्दै चर्किन्छन् । त्यसैले अब महासंघ स्वयंले यो व्यवस्था गर्नुपर्छ । विधानको धारा ७.१ (ङ) मा ‘पत्रकारिता पेशामा नरहेमा वा पेशा परिवर्तन गरेमा’ सदस्यता समाप्त हुने प्रस्ट व्यवस्था छ ।

२. सदस्यता सरुवा गर्न सिफारिस गर्ने : महासंघको विधानको मक्सद पनि ‘जुन क्षेत्रमा क्रियाशील हो, त्यही क्षेत्रको शाखामा आवद्ध हुने’ भन्ने छ । विधानको धारा ५.१ (क) मा ‘महासंघको सदस्यता लिन चाहने पत्रकारले योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, पत्रकारितामा निरन्तरता र क्रियाशीलताको प्रमाण र आफू कार्यरत संस्थाको नियुक्ति-पत्रसहित तोकिएको ढाँचामा आफू क्रियाशील रहेको क्षेत्रकोे शाखा वा एसोसियट संस्थामा निवेदन दिनुपर्नेछ’ भन्ने व्यवस्थाले जुन क्षेत्रमा क्रियाशील हुन्छ, त्यही शाखामा आवद्ध हुन्छ भन्ने हो । यस्ता सदस्यहरु कति छन्, सूची तयार गरी सरुवाका लागि सिफारिस गर्ने जिम्मा अधिकार सम्पन्न कार्यदललाई दिनुपर्छ । वर्षौंदेखि जिल्लाभन्दा बाहिर गएर बस्ने तर चुनावका बेला आएर एक भोट भएको आडमा रडाको मच्चाउने, पदमा दाबी गरेर भएको सहमति पनि भाँड्ने धेरै सदस्यहरु छन् । शाखाका गतिविधिहरुसँग तीन वर्षसम्म पूर्ण रुपमा बेखबर रहने, चुनावका बेलामात्रै ‘नारायण नारायण भन्दै प्रकट हुने’ यस्ता नारद सदस्यहरुको सूची तयार गरी यस्ता सदस्यहरुको टाउकोमात्रै गनेर बसिराख्ने मोह सम्बन्धित शाखाले पनि त्याग्नुपर्छ ।

पाउनुपर्ने व्यक्तिलाई सदस्यताबाट वञ्चित गर्ने र कुनै कारणले पनि सदस्यता नपाउनुपर्ने व्यक्तिलाई सदस्यता सिफारिस गर्ने शाखालाई कारबाही हुने व्यवस्था विधानको धारा ५.१ (ग) ले गरेको छ ।

३. सिफारिस भएका नयाँ सदस्यहरुको छानबिन गर्ने : माथि उल्लेख भए झैं नयाँ सदस्यता दिन शाखाहरुले जुन घृणित कार्य गरेका छन्, त्यसको छानबिन गर्नुपर्छ । यसका लागि गहिरो अनुसन्धान पनि आवश्यक पर्दैन । सतहमै देखिएको छ । पार्टीका र भ्रातृ संगठनका नेताहरु, व्यापारी र व्यापारी नेताहरु, ठेकेदारहरु, सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी, गैससकर्मी, डान्सर, होटेल व्यवसायी, ‘वाउन्सर’ हरु समेत सिफारिस भएर आएका छन् । तर, कतिपय क्रियाशील पत्रकारहरु योग्यता हुँदाहुँदै पनि राजनीतिक आस्थाका कारण अनेक बहानामा सिफारिस हुन सकेका छैनन् । यस्तो अवस्थामा शाखाबाट सिफारिस भएका व्यक्तिहरुमध्ये हटाउनुपर्नेलाई हटाउन र सदस्यता पाउनुपर्ने वास्तविक व्यक्तिहरुलाई मात्र सदस्यता दिन सिफारिस गर्ने जिम्मा पनि त्यो कार्यदलले पाउनुपर्‍यो ।

४. गलत व्यक्तिलाई सदस्यता सिफारिस गर्ने शाखा वा व्यक्तिलाई कारबाही गर्ने : पाउनुपर्ने व्यक्तिलाई सदस्यताबाट वञ्चित गर्ने र कुनै कारणले पनि सदस्यता नपाउनुपर्ने व्यक्तिलाई सदस्यता सिफारिस गर्ने शाखालाई कारबाही हुने व्यवस्था विधानको धारा ५.१ (ग) ले गरेको छ । ‘त्यस्तो शाखा वा एसाोसिएट संस्थाको समितिलाई सचेत, निलम्बन, भंग वा कुनै पदाधिकारी वा कुनै सदस्यको सदस्यता निलम्बन वा समाप्त गर्न सकिनेछ’ भन्ने व्यवस्था विधानमा हुँदाहुँदै पनि यस्ता हर्कतहरु पटक पटक दोहोरिनु संस्थाकै लागि पनि राम्रो होइन । हामी सञ्चारकर्मीहरु नीति, थिति र विधिअनुसार काम हुनुपर्छ भनेर अरुको विषयमा औंला उठाउँछौं, राज्यको चौथो अङ्ग भनेर दाबी गर्छौं, खबरदारी गर्ने निकाय भन्छौं । हामी स्वयंको छाता संगठनको वैधानिक व्यवस्था कार्यान्वयन हुनुपर्छ कि पर्दैन ? हामीभित्र देखिएका आचरणहीनता सुधार हुनुपर्छ कि पर्दैन ? विधानविपरीत सदस्यता सिफारिस गर्ने वा सदस्यता रोक्ने शाखा वा पदाधिकारीहरुलाई कारबाहीको दायरामा ल्याउन पनि यो कार्यदलले सिफारिस गर्नुपर्छ ।

कार्यदलले दिएको सिफारिसलाई केन्द्रीय समितिको पूर्ण बैठकमा छलफलको विषय बनाइनुपर्छ । त्यो बैठकमा अनुहार हेरेर होइन, क्रियाशीलता हेरेर निर्णय लिइनुपर्छ । पहिले आफू शुद्ध भयो भनेमात्रै अन्यत्र शुद्धता खोज्न सजिलो हुन्छ । आफ्नो आङमा डुङ्डुङ्ती गन्हाइरहने, अरुलाई आँगन फोहर छ भनेर गाली गर्नुको कुनै अर्थ हुनेछैन । महासंघले यसका लागि पत्रकारहरुका वैचारिक संगठनहरुसँग पनि छलफल गरोस्, ठोस निर्णयमा पुगेर सबै सदस्यहरुलाई महासंघको सदस्य भएकोमा गर्व गर्ने वातावरण सृजना गरोस्, यही अनुरोध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *