नेपालले भारत-चीन सन्तुलन गर्ने होइन, आफैं सन्तुलित हुने हो: मधुरमण आचार्य (भिडिओ)
‘नेपालको आवश्यकता साइकल कूटनीतिः आफू सन्तुलित हुँदै अगाडि बढ्ने’
काठमाडौं । नेपाल सरकारले सुरु गरेको परराष्ट्र मन्त्रालयको सिग्नेचर कार्यक्रम हो- यदुनाथ खनाल लेक्चर सिरिज । आजभन्दा दुई वर्ष अगाडिबाट सुरु भएको लेक्चर सिरिज वार्षिक कार्यक्रम हो । कार्यक्रमको पहिलो किस्ता सन् २०२२ जुन ७ मा भएको थियो । पहिलो लेक्चर सिरिजका वक्ता बेलायतको लिड्ड विश्वविद्यालयका प्राध्यापक तथा अक्सफोर्ड विश्वविद्यालयका अतिथि प्राध्यापक सूर्यप्रसाद सुवेदी आएका थिए ।
दोस्रो संस्करणमा पूर्वराजदूत तथा परराष्ट्र मामिलमा केही ठेली ग्रन्थहरु लेखिसकेका मधुरमण आचार्य आएका थिए । गत जुन २५ मा भएको दोस्रो लेक्चर सिरिजमा आचार्यले झण्डै एक घण्टा मन्तव्य दिएका थिए र आधा घण्टा बढी प्रश्नोत्तर सञ्चालन गरेका थिए ।
नेपालको परराष्ट्र मन्त्रालयमा सहसचिवको रुपमा प्रवेश गरेका आचार्य बंगलादेशका राजदूतदेखि संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि हुँदै परराष्ट्र सचिवसमेत भएका थिए । उनले केही लोकप्रिय पुस्तकहरु लेखेका छन् । ‘नेपाल वर्ल्ड भ्यू’, ‘दि टकिङ प्याइन्टस्’ र ‘बिजनेस अफ व्युरोक्रेसी’ आदि उनका चर्चित पुस्तकहरु हुन् । परराष्ट्रमन्त्री एनपी साउद, पूर्वपरराष्ट्रमन्त्रीहरु प्रदीप ज्ञवालीदेखि सुजाता कोइरालासम्म हुँदै नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि तथा राजदूतहरु सहभागी भएको हलमा आचार्यले आफ्नो मन्तव्यमा नेपालको संस्थागत स्मृतिको अभ्यास, नेपालको परराष्ट्र नीतिदेखि अबको रणनीतिकलगायतका विषयमा बोलेका थिए ।
भीमबहादुर पाँडे र यदुनाथ खनालसँग कूटनीतिक समन्वय शिल्प सिकाइ
आचार्यले आफू परराष्ट्र मन्त्रालयमा हुँदा कूटनीतिक स्मृति कमजोर भएको संकेत गर्दै काबिल कूटनीतिज्ञहरुको कूटनीतिक समन्वय शिल्प सिक्न प्रयत्न गरेको बताए । खासगरी सरदार भीमबहादुर पाँडेबारेमा पढेकाे र प्राध्यापक यदुनाथ खनालबाट शिल्पको अनुभव टिपिएको आचार्यले बताए ।
सन् १९५० को सन्धिताका भएको समन्वय र अरु कूटनीतिक समन्वयका शिल्पहरु कसरी प्रयोग गरिए भन्ने बारेमा खनालसँग एक कार्यक्रम राखेरै अनुभव सुनिएको आचार्यले बताए । तर, खनालको सल्लाहबमोजिम नै त्यो समन्वय शिल्प र अनुभवका कुराहरु गोप्य राखिएको बताए ।
राजनीतिक दलहरु नै निम्त्याउँछन् वैदेशिक हस्तक्षेप
तत्कालीन सोभियत संघ र अमेरिकाको शित युद्धताका नेपालले दुवै पक्षबाट विश्वास पाएको आचार्यले बताए । अहिले पनि नेपालले सबै शक्तिको विश्वास लिने वातावरण हुनुपर्नेमा उनले संकेत गरे । नेपालले सहयोग र हस्तक्षेप छुट्याउन सक्नुपर्ने आचार्यले बताए । नेपालको आवश्यकतालाई परिपूर्ति गर्ने खालका आर्थिक परियोजनामा नेपालले सबैको सहयोग लिनुपर्ने तर त्यो सहयोगहरु राजनीतिक झुकाव तथा ऋण पासोको रुपमा आउन नहुने उनको भनाइ थियो । सहयोग र हस्तक्षेपको बीचमा प्रस्ट सीमा भएको भन्दै उनले नेपालले त्यो छुट्याउन आवश्यक भएको बताए ।
नेपालमा जायज सहयोग आवश्यक भएको तर, हस्तक्षेप अनावश्यक भएको उनले स्पष्ट पारे । नेपालमा राजनीतिक दलहरुले नै आफ्नो पायक पर्ने मुद्दामा वैदेशिक हस्तक्षेप निम्तो गरेको आचार्यको बुझाइ छ । राजनीतिक लाइनमा पक्ष विपक्ष भए पनि कूटनीतिमा सबै एकमत हुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘कूटनीतिमा कुनै गल्ती हुनुहुन्न ।’
नेपालको आर्थिक, सैन्य र राजनैतिक शक्ति पूर्ति गर्न कूटनीतिमा लगानी
नेपालले विश्व मञ्चमा देखाउने आर्थिक, सैन्य तथा राजनीतिक शक्ति धेरै कमजोर भएको भन्दै आचार्यले त्यसको क्षतिपूर्ति तिर्न पनि कूटनीतिमा लगानी हुनुपर्ने बताए । अहिले नेपालका ३० देशमा ४० मिसनमात्रै भएको र देशको कुल बजेटको ०.२५ प्रतिशतमात्रै परराष्ट्र क्षेत्रमा लगानी गरिएकोमा त्यो बढाउनुपर्ने उनको सुझाव छ । परराष्ट्र मन्त्रालयमा दक्ष जनशक्ति ल्याउन अन्तर्राष्ट्रिय संस्थाहरुदेखि विदेशमा काम गरेको अनुभव भएकाहरुसम्मलाई प्राथमिकता दिनेगरी पदपूर्ति हुनुपर्ने आचार्यले बताए । उनले परराष्ट्र मन्त्रालयकाे लक्ष्यबमाेजिम मन्त्रालयलाई ‘ब्रेन गेन सेन्टर’ बनाउन सल्लाह दिए । गैरआवासीय नेपालीहरु ८५ देश पुगेको भन्दै उनले नेपालका कूटनीतिज्ञहरुले सार्वजनिक कूटनीतिमा दख्खल राख्नुपर्ने बताए ।
यदुनाथ खनालले सार्वजनिक कूटनीतिमा विश्वभर आफ्ना लेख तथा भनाइहरुमार्फत् उपस्थिति जनाएको भन्दै नेपालका राजदूतहरुले त्यही सूत्र प्रयोग गर्न सक्ने आचार्यले बताए । नेपालको बहुआयामिक कूटनीतिक अभ्यास गर्नुपर्नेमा उनको जोड थियो । नेपालले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना, जलवायु परिवर्ननदेखि लुम्बिनी क्षेत्र आदिको सदुपयोग गरेर राम्रो वैश्विक कूटनीतिक उपस्थिति बनाउन सक्ने आचार्यले बताए । चीन र रुसको बीचमा रहेको मंगोलियाले तेस्रो छिमेकी नीति ल्याएको भन्दै नेपालले पनि दुई छिमेकी भारत र चीनका अलावा आकाशे छिमेकीसँग पनि स्वतन्त्र, राष्ट्रिय स्वार्थप्रेरित, संस्थागत र सिर्जनात्मक कूटनीतिक अभ्यास गर्नुपर्ने आचार्यले बताए ।
चीन उड्दै गरेको ड्रागन, भारत दु्रत गतिको हात्ती, नेपाल दुईबीचको कछुवा
भारत र चीनबीचको भूराजनीतिक अवस्थितिमा भएको नेपाललाई व्याख्या गर्दा दुई देशको गतिशील पुलदेखि ट्रान्जिट अर्थतन्त्रको कुरा गरिए पनि नेपाल अहिले त्यो अवस्थामा नभएको आचार्यले विम्बमा सुनाए । अहिलेको अवस्था हेर्दा चीन, भारत र नेपालको कूटनीतिक विम्ब भन्दै आचार्यले चीन उड्दै गरेको ड्रागन, भारत द्रुत गतिको हात्ती र नेपाल कछुवा भएको बताए । नेपाल हुनुपर्ने चाहिँ गैंडा भए पनि त्यो नसके कम्तिमा खरायो हुनुपर्ने आचार्यले बताए ।
चीनले इरान र साउदी अरबको सम्बन्ध सुधारदेखि ग्लोबल सेक्युरिटी इनिसिएटिभसम्म, ग्लोबल सिभिलाइजेसनल इनिसिएटिभदेखि ग्लोबल डिभेलपमेन्ट इनिसिएटिभसम्म ल्याएको भन्दै आचार्यले अब चीन क्षेत्रीय शक्ति नभएर विश्व शक्ति भएको बताए । जी-७ बैठकले रुसलाई मनाउन चीनलाई दबाब दिने निर्णय गरेकाले पनि चीनको विश्व शक्ति देखिएको आचार्यले बताए ।
भारतले जी-२० अध्यक्षता गरेको, असंलग्नताबाट पर रहेर बहुसंलग्नतामा जोडिएको भन्दै भारत अहिले विश्व गुरुको रुपमा अगाडि बढिरहेको आचार्यले बताए । भारतले विश्वको आध्यात्मिक, शैक्षिक र आर्थिक केन्द्र बन्ने प्रयत्न सुरु गरेको भन्दै आचार्यले भारत र चीन दुवै संयुक्त राष्ट्रसंघको पुनर्संरचनामा भने एकमत भएको बताए ।
नेपालको आवश्यकता : साइकल कूटनीति
आचार्यले नेपालले भारत र चीनलाई सन्तुलन गर्न नसक्ने भन्दै नेपालले आफैं सन्तुलित भएर अगाडि जानुपर्ने बताए । त्यसको लागि नेपालले साइकल कूटनीति अवलम्बन गर्नुपर्ने आचार्यले सुझाए । उनले नेपालको आवश्यकता साइकल कूटनीति भएको भन्दै उनले नेपाल आफू सन्तुलित भएर अगाडि बढ्ने अबको आवश्यकता भएको बताए ।
बास्तममा नेपाल ले चिन भारत सन्तुलन राख्ने होइन आफुलाई सन्तुलित राख्न सक्नु महत्तो पूर्ण कूरा हो।