व्यापारीहरुसँग अभद्र व्यवहारको गुनोसोपछि सभ्यरुपमा प्रस्तुत हुन महानगर प्रहरीको निर्देशन (भिडिओ)
काठमाडौँ । काठमाडौं महानगर प्रहरी बलले व्यापारीहरुसँग अभद्र व्यवहारको गुनासो आएपछि सभ्यरुपमा प्रस्तुत हुन निर्देशन दिएको छ ।
बुधबार राष्ट्रिय सभा गृहमा सहरी व्यवस्थापनका क्रममा व्यापारीहरुसँग अभद्र व्यवहारको गुनासो आउन थालेकोले महानगर प्रहरी बलले निर्देशनात्मक ब्रिफिङ् गरेको हो । नागरिकसँग आदरार्थी शव्दको प्रयोग गरेर बोल्नुपर्ने बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले बताए ।
‘सहरी सुव्यवस्थाका लागि हामीले गरेका काम र आचरणलाई नागरिकलाई नजिकबाट नियालिरहेका हुन्छन् । सडक व्यापारीको सामान पोखिने गरी कारबाही गरेको जस्ता विषयमा गुनासा आएका छन् । सामान पोखिने गरी कारवाही नगर्नू । नागरिकसँग आदरार्थी शव्दको प्रयोग गरेर बोल्नु’, पाण्डेले भने, ‘कानूनको परिपालना गर्ने गराउने, नागरिकमैत्री व्यवहार गर्ने, अनुशासन र आदेश सृङ्खलाको पालना नगर प्रहरीका अनिवार्य जिम्मेवारी हुन् । यसलाई पालना गर्नू ।’