म त मर्छु कि क्या हो: धुर्मुस-सुन्तलीको जोडदार ‘कमब्याक’
काठमाडौं । एक समय टेलिभिजनमा निकै तहल्का पिटेको हास्य टेलिश्रृंखला हो- मेरी बास्सै । यही टेलिश्रृंखलाबाट सीताराम कट्टेल र कुञ्जना घिमिरेको जोडी धुर्मुस-सन्तुलीका रुपमा स्थापित भयो र रियल लाइफमा समेत उनीहरुले जोडी बाँधे ।
मेरी बास्सै छोडेपछि पनि देश-विदेशमा उनीहरुको डिमान्ड उच्च थियो । जहाँ पनि उनीहरुलाई दर्शकले धुर्मुस-सुन्तलीकै क्यारेक्टरमा हेर्न चाहन्थे । आजपर्यन्त उनीहरुलाई वास्तविक नामले भन्दा धुर्मुस-सुन्तलीकै रुपमा धेरैले चिन्छन् ।
तर, पछिल्लो समय सामाजिक अभियानमा बढी केन्द्रित भएपछि यो जोडीको कलाकारिता ओझेलमा परिरहेको छ । खासगरी चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा होमिएपछि उनीहरुले आफ्नो मुख्य पेशामा समय नै दिन सकेनन् । फाट्टफुट्ट यूट्युबमा छोटा भिडियो हालेर आफ्नो तलतल मेट्न खोजे पनि दर्शकको तिर्खा भने मेटिएन ।
यसबीचमा उनीहरुले एउटा फिल्म पनि खेलेका हुन् । तीन वर्षअघि रिलिज भएको चलचित्र ‘सेन्टी भाइरस’ मा उनीहरुले मुख्य भूमिकामा अभिनय गरेका थिए । तर, त्यसमा ‘धुर्मुस-सुन्तली’ थिएनन् । दुवैले गम्भीर भूमिकामा अभिनय गरेको चलचित्रले दर्शकलाई खासै अपिल गर्न सकेन । रामबाबु गुरुङ निर्देशित चलचित्र व्यापारिक रुपमा असफल भयो ।
कोरोना भाइरसका कारण देशव्यापी लकडाउन भएपछि चितवनमा रंगशालाको काम पनि रोकियो । उक्त फुर्सदको समयलाई सदुपयोग गर्दै उनीहरुले बनाए एउटा वेब सिरिज । तीन एपिसोडमा बनाइएको यो वेब सिरिज ओटीटी एपमा रिलिज गर्ने तयारी थियो । तर, विविध कारणले हुन सकेन । अन्ततः यो वेब सिरिजलाई एउटै चलचित्रको रुप दिएर यूट्युबमै केही दिनअघि रिलिज गरिएको छ । दुई घन्टाको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ ले भने ‘धुर्मुस-सुन्तली’ का फ्यानहरुको तिर्खा अवश्य मेट्नसक्छ ।
यदि कन्टेन्ट बलियो छ भने सीमित बजेट, थोरै कलाकार र सानो लोकेसनमा पनि गज्जबको चलचित्र बन्न सक्छ भन्ने उदाहरण हो- म त मर्छु कि क्या हो । पुरानै क्यारेक्टरमा धुर्मुस-सुन्तलीले प्रशस्त नयाँपन दिएका छन् । चलचित्रले धेरै ठाउँमा पेट मिचिमिची हसाउँछ । भावुक पनि बनाउँछ ।
पूर्ण मनोरञ्जनात्मक बनेको छ चलचित्र । हेरुञ्जेल आनन्द दिन्छ यसले । यद्यपि पहिलो हाफ जति उत्कृष्ट छ, अन्त्यसम्म त्यही लय कायम रहन भने सकेको छैन । उत्तरार्द्धपछि चलचित्र अलि बहकिएको छ ।
फरक तरिकाले कथाको उठान गरिएको छ । एउटा फ्याक्ट्रीका सीईओका रुपमा सुटबुट र कालो चस्मामा धुर्मुसको इन्ट्री हुन्छ र जब उनले डाइलग बोल्न थाल्छन्, तत्काल हाँसो सिर्जना भइहाल्छ । सुन्तलीको पनि त्यस्तै छ । हेर्दा आधुनिक तर ‘पाखे’ लवजमा उनीहरु बडो ‘हिलारियस’ लाग्छन् ।
पूर्ण मनोरञ्जनात्मक बनेको छ चलचित्र । हेरुञ्जेल आनन्द दिन्छ यसले । यद्यपि पहिलो हाफ जति उत्कृष्ट छ, अन्त्यसम्म त्यही लय कायम रहन भने सकेको छैन । उत्तरार्द्धपछि चलचित्र अलि बहकिएको छ । दोस्रो हाफमा ल्याइएका ‘फिल्मी’ ट्विस्टहरु परम्परागत छन् । धुर्मुस-सुन्तलीबाट जतिबेला पनि कमेडी नै खोज्ने दर्शक भावुक दृश्यहरुमा बाँधिन सक्दैनन् । कथाको इन्डिङ खासै मजबुत छैन । अन्तिममा समावेश गरिएको गीत पनि नायकनायिका बन्ने रहर पूरा गर्न नै जबरजस्ती राखिएको प्रतित हुन्छ ।
फार्ममा सबै चल्लाहरु मरेपछि धुर्मुसले आफ्नो स्वभाव बदलेको र कृषिकर्ममै फरक तरिकाले संघर्ष गरेर त्यो स्थानमा पुगेको देखाइएको भए चलचित्र सन्देशमूलक पनि बन्न सक्ने थियो । तर, दुर्घटनामा आफूलाई जोगाएपछि एउटा धनाढ्यले छोराका रुपमा अपनाएको देखाएर भाग्यवादलाई प्रश्रय दिइएको छ । कृषि तथा पशुपालन क्षेत्रका मुद्दा उठाउन खोजिएको भए पनि त्यो प्रभावकारी बनेको छैन ।
अभिनयको कुरा गर्दा सबै कलाकारहरुले आआफ्नो भूमिकामा न्याय गरेका छन् । सबैभन्दा अब्बल धुर्मुस र सुन्तली नै छन् । धुर्मुसको अभिनय जति जोडदार छ, सुन्तली पनि लगभग उनको हाराहारीमा नै छिन् । टेलिभिजनमा कैयौंपटक निभाइसकेको चरित्रलाई दोहोराउँदा पनि उनीहरुले दर्शकलाई मोनोटोनस हुन दिएका छैनन् । यस्तो लाग्छ कि धुर्मुस-सुन्तलीका रुपमा उनीहरुको एक्सप्रेसन र संवाद सम्प्रेषण कहिल्यै पुरानो हुनेवाला छैन ।
धुर्मुस-सुन्तलीपछि दर्शकलाई आकर्षण पर्ने पात्र हुन्, प्रमिला खनाल र पुष्पा आचार्य । धुर्मुस-सुन्तलीको छिमेकीको रुपमा प्रमिलाको भूमिका र अभिनय दुवै टेसिलो छ । पुष्पाले चलचित्रमा ग्ल्यामर थपेकी छन् । विजय बराल आफ्नै लयमा छन् । बुद्धि तामाङको अभिनयमा भने नयाँपन छैन । सुमन कार्की र सुमन कोइराला जस्ता अहिलेका चर्चित कमेडीयनलाई पनि चलचित्रमा देख्न सकिन्छ । तर, छोटो भूमिका दिइएकाले उनीहरुले आफ्नो क्षमता देखाउने अवसर पाएका छैनन् । अन्य कलाकारहरुको अभिनय सामान्य छ ।
अहिले यूट्युबमा यो चलचित्रले निकै राम्रो रियाक्सन पाइरहेको छ । धेरैले धुर्मुस-सुन्तलीलाई आफ्नो कलाकारितालाई नियमितता दिन आग्रह गरेका छन् । समग्रमा भन्दा यो चलचित्र धुर्मुस-सुन्तलीका लागि एउटा बलियो कमब्याक हो । आगामी दिनमा उनीहरु पुरानै रफ्तारमा कलाकारितामा अगाडि बढेको देख्न पाइयोस् ।