साढे ४४ मेगावाटको सानीभेरी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, २०८४ भित्रै उत्पादनको लक्ष्य – Nepal Press

साढे ४४ मेगावाटको सानीभेरी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, २०८४ भित्रै उत्पादनको लक्ष्य

काठमाडौं । रुकुम पूर्वमा निर्माण हुने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

आयोजनाको प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्राली र नेपाल विद्युत प्राधिकरण बीच बुधवार पीपीएमा हस्ताक्षर भएको हो ।

आयोजनाले उत्पादन गरेको विद्युत हिउँद याममा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँमा विद्युत प्राधिकरणले खरिद गर्ने गरी सम्झौता भएको हो ।

आयोजनाका तर्फबाट एक्सपर्ट ग्रुपका अध्यक्ष जयराम अर्याल र विद्युत प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौतामा हस्ताक्षर गरेका छन् । एक्सपर्ट ग्रुपमा अष्ट्रेलियामा बसेर शैक्षिक क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरूको लगानी रहेको छ ।

रुकुमपूर्वको पुठा उत्तरगंगा र सिस्ने गाउँपालिकामा निर्माण हुने आयोजना सानीभेरी खोलामा निर्माण हुनेछ । १४५ मिटर हेड रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३६.८ घनमिटर/प्रतिसेकेण्ड रहेको छ । आयोजनामा ४ हजार ३०० मिटर सुरुङमार्ग र ३१० मिटर पेनस्टक पाइप प्रयोग हुनेछ ।

आयोजनाले आयोजनाको विद्युत गृहदेखि नेपाल विद्युत प्राधिकरणको बाफिकोट सवस्टेशनसम्म १३२ केभी क्षमताको २० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने छ । त्यस्तै, १० किलोमिटर पहुँचमार्गको पनि स्तरोन्नती गर्नुपर्ने आयोजनाले जनाएको छ ।

आयोजना निर्माणको अनुमानित लागत ९ अर्ब रुपैयाँ रहेको छ ।

यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको एक्सपर्ट हाइड्रोका अध्यक्ष जयराम अर्यालले जानकारी दिए । आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने २०८४ पुष भित्र रहेको छ ।

आयोजनाबाट वार्षिक रुपमा २८३.३७ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर