बागमती प्रदेशको २३ अर्ब बजेट फ्रिज
हेटौँडा । चालू आर्थिक वर्षमा बागमती प्रदेश सरकारले विनियोजन गरेको ७० अर्ब बजेट मध्य २३ अर्ब फ्रिज भएको छ ।
चालू आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको प्रदेश सरकारले खर्च गर्न नसक्दा २३ अर्ब २८ करोड ९४ लाख ४१ हजार ३ सय ८२ रुपैयाँ बजेट फ्रिज भएको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाले जनाएको छ। यो पुरा बजेटको ६७.१९ प्रतिशत हो ।
प्रदेश सरकारले यो पटक पुँजीगत र चालु खचै तर्फ कुल बजेटको ७० प्रतिशत पनि खर्च गर्न नसकेको प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौँडाका सूचना अधिकारी होमनाथ रिजालले बताए ।
कार्यालयका अनुसार तत्कालीन १४ मन्त्रालय रहेको बागमती प्रदेशमा सबैभन्दा धेरै रकम खर्च गर्ने मन्त्रालयको रूपमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको छ ।
मन्त्रालयले प्राप्त गरेको ११ करोड ७९ लाख ५३ हजार रुपैयाँ मध्य १० करोड ६४ लाख ३० हजार खर्च गरेको छ । यो ९०.२३ प्रतिशत हो । सबैभन्दा कम खर्च भने मुख्यमन्त्री कार्यालयले गरेको पाइएको छ ।
मुख्यमन्त्री कार्यालयले पाएको ६१ करोड ८२ लाख ९१ हजार रुपैयाँ बजेट मध्य राखेकोमा ३५ करोड ९ लाख ६० हजार रुपैयाँ मात्र खर्च गर्न सफल भएको छ । यो कुल बजेटको अर्थात् ५६.७० प्रतिशत हो ।
बागमतीको अन्य मन्त्रालयले पनि ठुलो रकम खर्च गर्न सकेन , सबैभन्दा धेरै बजेट हिस्सा २१ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल बजेटको ६९.९२ प्रतिशत मात्रै अर्थात् १५ अर्ब ३७ करोड ५२ लाख ७२ हजार रुपैयाँ मात्र खर्च गर्न सक्यो ।
भौतिक पूर्वाधार तर्फ यो निराशाजनक प्रस्तुति रहेको विश्लेषकहरूको दाबी छ ।