चिकित्सा शिक्षा ऐनकाे साइड इफेक्टले नर्सिङ कलेज बन्द भएपछि राष्ट्रिय सभामा उठ्यो प्रश्न – Nepal Press

चिकित्सा शिक्षा ऐनकाे साइड इफेक्टले नर्सिङ कलेज बन्द भएपछि राष्ट्रिय सभामा उठ्यो प्रश्न

काठमाडौं । नर्सिङ कलेज सञ्चालन गर्न १०० बेडको आफनै अस्पताल अनिवार्य हुनुपर्ने विषयको विरुद्ध राष्ट्रिय सभामा आवाज उठेको छ । चिकित्सा शिक्षा ऐनमा ४० सिटको नर्सिङ कलेज सञ्चालन गर्न १०० बेडको अनिवार्य अस्पताल हुनुपर्ने व्यवस्थाले नेपालमा नर्सिङ कलेजहरु धमाधम बन्द हुने क्रममा पुगेपछि राष्ट्रिय सभामा ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय सभाकी सदस्य इन्दु कडरियाले शून्य समयमा बोल्दै नेपालका नर्सिङ कलेजहरु बन्द गरी विद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्। उनले नेपालमा नर्सिङ कलेज बन्द हुँदा बोर्डरमा नेपालीलाई लक्षित गरिएको खोलिएको कलेजहरुमा जान शैक्षिक माफियाहरुले प्रेरित गरेको समेत सदनमा कुरा उठाइन् ।

नर्सिङ कलेज बन्द हुँदा बढेको माफीयाकरण, डुबेको लगानी र गुमेको रोजगारीबारे नेपाल प्रेसले सिरिजमै समाचार सामग्री पस्किएको थियो ।

उनले भनिन्, ‘धेरै जसो स्वास्थ्य क्षेत्रहरुमा यतिबेला जनशक्ति र स्वास्थ्य उपकरणहरुको अभाव छ भनेको सुनिएको छ । सरकारले प्राविधिक र छिट्टैरोजगारीको सम्भावना भएको विषय अध्ययन, अध्यापन गराउन नर्सिङ कलेजहरुलाई १०० शैय्याको अस्पताल अनिवार्य बनाउँदै दर्जनौँ नर्सिङ कलेजहरुलाई बन्द गर्न बाध्य पारिएको हो भनेर सुनिएको छ । नर्सिङ कलेजहरुलाई बन्द गर्दै बोर्डरमा खोलेका कलेजहरुमा जान शैक्षिक माफियाहरुले नै प्रेरित गरेको पनि सुनिएको छ। यो महत्वपूर्ण विषयमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण होस् ।’

चिकित्सा शिक्षा ऐनको कारण देखिएको असरहरुको बारेमा नेपालप्रेसले सिरिज गरेको थियो । चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थाकै कारण हालसम्म ७३ वटा नर्सिङ कलेजहरु बन्द भएका छन् । २०७५ सालमा चिकित्सा शिक्षा ऐन आएपछि २२ वर्षअघिदेखि चलिरहेको नर्सिङ क्याम्पसहरु धमाधम बन्द हुने अवस्थामा पुगेका छन् ।

चिकित्सा शिक्षा ऐन आएपछि एसईई उत्तीर्णलाई १८ महिने प्रि-डिप्लोमा तह पढाइ भइरहेका शिक्षण संस्थाहरुको त सम्बन्धन नै खारेज भयो । २०७७ बाट प्रि(डिप्लोमा स्वास्थ्यतर्फका कोर्सहरु फेजआउट भएको हो । यस्तै यहाँका कलेजहरु धमाधम बन्द हुन थालेपछि नेपालको सीमावर्ती भारतीय शहरहरुका कलेजहरु नेपाली विद्यार्थीको लागि ढोक्सा थापेर बसेका छन् ।

नेपालको बोर्डरमा नेपाली विद्यार्थीलाई लक्षित गरी नर्सिङ कलेज खुलेका छन् । नेपालमा ७३ वटा नर्सिङ कलेज बन्द हुँदा नेपाल सीमावर्ती भारतीय शहरहरुमा १६३ वटा नर्सिङ कलेज खुलेका छन् । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले अर्को नीति नबनाएसम्म नर्सिङ कलेजका समस्याहरु समाधान गर्न गाह्रो हुने बताए ।

संसदमा सांसदले प्रश्न उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री बस्नेतले नर्सिङ कलेजहरु बन्द हुन थालेकाे र नर्सिङ जनशक्ति अभाव हुन थालेको विषयमा आफू गम्भीर भएको बताए ।

उनले भने,‘ यो विषयमा एउटा गम्भीर विषय के छ भने चिकित्सा शिक्षा ऐनको कारणबाट अहिले जुन प्यारामेटिक नर्सिङ डाक्टरहरु उत्पादन हुने हो । त्यो कुरा कमजोर भइरहेको छ । दुर्गम जिल्लाहरुमा हामी ले नयाँ ठाउँहरु खोल्यो शिक्षा स्वास्थ्य दिनको लागि त्यो ठिक छ तर भएकाहरुलाई पनि यो जनशक्ति उत्पादन गर्न दिइरहन्नुपर्ने थियो त्यो कुरा अप्ठयारो भइराखेको छ । यसलाई व्यापक रुपमा छलफल गराएर अर्को नीति निर्माण नगरेसम्म यो समस्या समाधान गर्न गाह्रो छ । ’

उनले ऐन नयाँ बनाउनुपर्ने बताएपनि ऐन संसोधन गर्ने कुरा उठाएनन् । चिकित्सा शिक्षा ऐन आउनुमा चिकित्सा सुधारको माग गर्दै पटकपटक अनसन बसेका डा. गोविन्द केसीको आन्दोलनको मुख्य भूमिका छ । केसीको १७औं अनसनपछि सरकारले उनले अनसन बस्दा राखेका मागहरु समावेश गरेर चिकित्सा शिक्षा ऐन बनाएको थियो ।

जसमा केसीले नर्सिङ क्षेत्रको सुधार गर्न भन्दै ऐनमा एक सय बेडको अस्पताल बनाउनुपर्नेदेखि प्रि(डिप्लोमा तहको पढाइ रोक्न सम्बन्धन खारेज गर्नेसम्मको बुँदा विधेयकमा समावेश गराए । सोही विधेयक ऐन बनेर आयो ।

ऐनमा एक सय बेडको अस्पताल अनिवार्य गर्नुको कारण रहेको डा.केसी पक्षको भनाइ छ । कलेजहरुले गुणस्तरीय जनशक्ति उत्पादन गर्नुको साटो प्रमाणपत्रमात्र बाँड्ने काम गरेकाले ऐनमा गुणस्तरीय जनशक्ति उत्पादन गर्न एक सय बेडको अस्पताल हुनुपर्ने प्रावधान राखिएको उनीहरुको तर्क छ ।

एउटै अस्पतालमा धेरै कलेजका विद्यार्थी हुँदा प्राक्टिस गर्न नपाउनुको साथै सरकारी अस्पताल दोहन हुने भएकाले आफ्नै अस्पताल चाहिने व्यवस्था गरिएको केसी पक्षको भनाइ छ ।

२०६७ सालमा स्वास्थ्य मन्त्रालयले पाँच वर्षभित्र नै नयाँ खुल्ने कलेजहरुले अनिवार्य रुपमा अस्पताल बनाउनुपर्ने र अगाडि नै सञ्चालनमा आएका कलेजहरुलाई दुई वर्षभित्र अस्पताल बनाउन भनेको थियो । तर, पटक पटक अटेर गरेपछि ऐनमा नै अस्पताल बनाउनुपर्ने बाध्यकारी नियम ल्याइएको डा.केसी बताउँछन् ।

यसबीच एकसय बेडको अस्पताल चाहिने ऐनको प्रावधान संशोधन गर्ने प्रयास भएको थियो । तर, पटक पटक सरकार परिवर्तन हुँदा ऐन संशोधन गर्ने प्रयास सफल हुन सकेन । दुई वर्षसम्म पनि समस्याको समाधान हुन नसकेपछि गत असार दोस्रो हप्ता चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले चिकित्सा शिक्षा आयोगमा ज्ञापनपत्र बुझाएको थियो ।

४० सिटमा ८०० सम्म विद्यार्थीहरुको आवदेन पर्ने अति रुचाइएका तथा विपन्न वर्गका विद्यार्थीहरु प्राविधिक विषयहरुप्रवेशदारका रुपमा स्थापित प्रि डिप्लोमा, पिसिएल नर्सिङ अनमी, अहेब, ल्याब लगायतका कार्यक्रमहरु किन कसरी कसको इशारामा बन्द भए भन्ने उत्तर अझै गर्भमा रहेको संघर्ष समितिको गुनासो छ ।

विभिन्न १५ वटा मागहरु राख्दै ७ दिन भित्र सम्बोधन गर्न चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेको थियो । ती मागहरु पुरा नभए थप आन्दोलनको कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी दिएको थियो । तर संघर्ष समितिले दिएको अल्टिमेटमको समय सकिएको छ । हालसम्म कुनै प्रतिक्रिया नआएको संघर्ष समितिका संयोजक निर्मल सापकोटाले बताए । उनले भने,‘ हाम्रो माग सुनुवाई भएको छैन ।हामी आन्दोलनका कार्यक्रमहरु बनाउँदैछौं ।’

याे पनि पढ्नुहाेस्  ।

चिकित्सा शिक्षा संघर्ष समितिले बुझायो १५ बुँदे ज्ञापन पत्र, ७ दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने

चिकित्सा शिक्षा ऐनको साइड इफेक्ट: ४० जना नर्स पढाउन सय बेडको अस्पताल कति व्यवहारिक ?

नेपालमा ७३ नर्सिङ कलेज बन्द हुँदा बोर्डरमा १६३ भारतीय ढोक्सा, प्रतिविद्यार्थी ५० हजार कमिसन

तीन वर्षमा ७३ नर्सिङ कलेज बन्द, १० अर्ब लगानी डुब्दा ५ हजारले गुमाए रोजगारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर