असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री ज्वाला – Nepal Press

असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले अध्ययनबिना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक बिपत्तिहरु भइरहेका भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले डोजरे विकासका कारण सयौँ बिगाहा खेतीयोग्य भुमि पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताए ।

उनले भने,‘निश्चयपनि सडक निर्माण एक प्राविधिक विषय हो । बिना अध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति हुँदै गइरहेको कुरा सत्य हो । कठिन भू–बनोटबाट सडक निर्माण गर्नुपर्ने, चलायमान पहाडको पाखामा सडक निर्माण गर्नुपर्ने, सडक निर्माणको क्रममा निस्किएका ढुंगा माटोको उचित व्यवस्थापन नहुँदा त्यस्तो डोजरे विकासले सयौँ बिगाहा खेतीयोग्य भुमि पुरिने र बहुमुल्य पुल तथा पूर्वाधारमा क्षति हुने गरेको छ । हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छौँ । राजधानी काठमाडौं र विभिन्न राजमार्गका खाल्डाखुल्डी मर्मत सम्भार गरेर यात्रुहरुलाई पीडा हुन नदिन मन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिइसकिएको छ ।’

उनले नारायणघाट–मुग्लिन सडक खण्डमा पहिरोका अल्पकालिन, मध्यकालिन र दीर्घकालिन समाधानमा उपाय खोजि गरी कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै पृथ्वी राजमार्गको नौबिसे–काठमाडौं सडक खण्डको पनि बिस्तार कार्य अगाडी बढाइरहेको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर