आर्मीको अपराजित यात्रा पुलिसले रोक्यो
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगिताअन्तर्गत बिहीबार भएको पुरुषतर्फ नेपाल पुलिसँग पराजित भएको छ ।
चौथो खेलसम्म अपराजित आर्मीलाई पुलिसले ३-० को सोझो सेटमा हराउँदै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो । पुलिसले २५-२१, २८-२६ र २५-१४ ले आर्मीलाई पराजित गरेको हो ।
पुलिसको ५ खेलबाट १२ अंक भएको छ । पुलिस अंक तालिकामा दोस्राे स्थानमा उक्लिएको छ । आर्मीको पाँच खेलमा ११ अंक छ ।
नेपाल भलिबल संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत अर्को खेलमा विजयी हुँदै टिपटप हेल्प नेपाल अंक तालिकामा अग्र स्थानमा कायमै रहेको छ । प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा टिपटपले एपीएफलाई ३-२ सेटमा हराउँदै अपराजित यात्रा कायमै राख्यो ।
हेल्प नेपालले सुरुका दुई सेट २७-२५, २५-१७ ले जितेर बलियो दबाब बनाएको थियो । तर, एपीएफले तेस्रो र चौथो सेट २५-२१ र २५-२३ ले जित्दै बराबरीमा पुगेको थियो । अन्तिम तथा निर्णायक पाँचौं सेटमा टिपटप हेल्प नेपालले एपीएफको म्याच प्वाइन्ट १४-११ को स्थितिलाई उल्टाउँदै १६-१४ अंकका साथ जीत हात पार्यो । टिपटपको पाँच खेलबाट १३ अंक भएको छ भने एपीएफको ११ अंक छ ।
महिलातर्फ बिहीबार आर्मी र एपीएफले जीत हात पारेका छन् । आर्मीले एक पक्षीय खेलमा एभरेष्ट भलिबल क्लबलाई २५-१२, २५-१९ र २५-१९ ले पराजित गरेको हो ।
यस्तै अर्को खेलमा एपीएफले न्यू डायमण्डलाई २५-१९, २५-१८, २५-१२ ले पराजित गर्यो । महिलातर्फ पुलिस ४ खेलबाट १२ अंक, एपिएफ ५ खेलबाट ११ अंक, न्यू डायमण्ड ४ खेलबाट ८ अंक, आर्मी ४ खेलबाट ५ अंक र गण्डकीको ४ खेलबाट ३ अंक रहेको छ ।
एभरेष्टले ५ खेल खेले पनि अंक हात पार्न सकेको छैन । पुलिस फाइनल प्रवेश गरिसकेको छ ।