एमालेको आरोप- मिटरब्याजसम्बन्धि विधेयकमा सरकारले छलकपट र द्वैध भूमिका खेल्यो (भिडिओ)
काठमाडौं । मिटरब्याज पीडितहरूको समस्या समाधानमा लागि सरकारले ‘आफू काँक्रो चोरेर, बियाँ अरूको गालामा टाँसिदिने’ प्रवृत्ति देखाएको आरोप नेकपा एमालेले लगाएको छ ।
सचिवालय बैठकपछि प्रदीप ज्ञवालीले मिटरब्याज सम्बन्धी विधेयकबारे गठबन्धन दलबाट व्यक्त भइरहेका अभिव्यक्तिप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनले भने, ‘अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले आफैले ढिला गरी विधेयक राष्ट्रियसभामा प्रस्तुत गर्यो । दुवै सदनबाट पारित गरिसक्नुपर्ने समय सीमाको अन्तिम दिन मात्रै उक्त विधेयक सदनमा आयो । सरकार आफैले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने । सदन सञ्चालनमा आवश्यक पहल गर्ने र विधेयकबारे सत्ता घटकभित्रै गम्भीर विवाद रहेको कारण छलफल हुन नसकेको हो ।’
उनले यो विषयमा गठबन्धन दल र विभिन्न मिडियाबाट भ्रामक खबरहरू आइरहेको भन्दै आपत्ति समेत जनाए ।
उनले सरकार आफूले काँक्रो चोरेर बिया अरूको गालामा टाँसिदिने छलकपट र द्वैध भूमिका खेलेको भन्दै त्यसको भर्त्सना गरे ।