पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात् गरिरहेको छ : सभापति देउवा
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2023/07/KB-KTM-0U3A1664-scaled-e1689429902814.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात् गरिरहेको बताएका छन् ।
तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उनले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा राजनीतिक परिवर्तनलगायतका आन्दोलनमा सबै समुदाय र जनजातिको उत्तिकै सहभागिता र योगदान छ, राज्यका संरचना र दलभित्र सबै ठाउँमा समावेशिता आवश्यक छ ।’
पार्टी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन, आर्थिक समृद्धि र रुपान्तरणको पक्षमा दल र सरकारले काम गरिरहेको बताए ।
उनले भने, ‘मुलुक र जनताको विरुद्धमा रहेको भ्रष्टाचार न्यूनीकरणमा यो वा त्यो भनिने छैन । सुशासन कायम गर्दै जनतालाई सहज र सरलरूपमा सेवा प्रवाहलाई चुस्त तुल्याइने छ, दुई दिनभित्र मिटर ब्याजीसम्बन्धी विधेयक सदनबाट पारित हुन्छ ।’