सुदूरपश्चिममा बजेट पारित भएको दिनलाई एमालेको टिप्पणी- प्रदेशको ‘कालो दिन’ – Nepal Press

सुदूरपश्चिममा बजेट पारित भएको दिनलाई एमालेको टिप्पणी- प्रदेशको ‘कालो दिन’

कैलाली । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले बजेट पारित भएको दिनलाई कालो दिनको रुपमा संज्ञा दिएको छ ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले संसदीय दलले संसदीय मान्यताको खिल्ली उडाउँदै रातारात बजेट पारित गरिएको हुँदा ‘कालो दिन’ का रुपमा संकेत गरेको जनाएको हो ।

‘शनिबारको बैठकका लागि कार्य व्यवस्था परामर्श समितिले बैठकको लागि कार्यसूची तयार गरेको थियो र तर अर्थमन्त्रीलाई बजेटमा उठेका सवालहरूमा जवाफ दिन नलगाई बलजफती बजेट पारित गरिनु अख्तियारको दुरुपयोग समेत भएको हाम्रो ठहर छ,’ संसदीय दलका नेता राजेन्द्र रावलले पत्रकार सम्मेलनमा भने

शनिबार एमाले र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले प्रदेशसभा बैठक बहिष्कार गरेका थिए । राप्रपा सांसद खेमा देवी बिष्टले पनि बैठक बहिस्कार गरेको भन्दै निस्किएकी थिइन् । पछि सत्ता पक्षले उनलाई ल्याएर बैठक सुरु गरेको थियो ।
यता एमाले संसदीय दलले भने उनलाई अपहरण शैलीमा ल्याइएको आरोप लगाएको छ ।

रावलले असार १ गते देखि २६ गते सम्म सदनलाई बन्धक बनाइनु, बजेट माथिको छलफल नगरिनु, विषयगत छलफल नगरी अबेर राति पारित गरिनु संसदीय परम्पराको उल्लङ्घन गरिएको बताए ।

एमालेको बहिष्कारकाबीच शनिबार प्रदेशसभाबाट बजेट पारित गरिएको थियो । एमालेले दर्ता गरेको खर्च कटौतीको प्रस्ताव सम्बन्धित व्यक्ति सभामा उपस्थित नभएको भन्दै सभामुखले निष्किय भएको घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर