सरसापटी मिटर ब्याजमा परिणत भएपछि…
बुटवल । छरछिमेक र ऐंचोपैंचो हाम्रो पुरातन समयदेखि चल्दै आएको चलन हो । आवश्यक पर्दा सरसहयोग लिने र दिने चलन पनि पहिलेदेखिकै हो । मुलुकी देवानी संहिता २०७४ को लेनदेनसम्बन्धी व्यवहारको दफा ४७८ ले साहूले ऋणीसँग ब्याज लिन पाउने व्यवस्था गरेको छ ।
तर, पछिल्लो समयमा यही पुरानो चलनले आपसी सम्बन्ध बिग्रनेमात्रै होइन, सबै वैभव गुमाएर सडकमा पुर्याउनेसमेत काम गरेको छ । खासगरी वित्तीय साक्षरताको अभाव र कारोबारमा हुने उतारचढावले कैयौं परिवारलाई बेघरबारको अवस्थामा पुर्याएका नमीठा घटना बढिरहेका छन् । मिटर ब्याजको लोभलालच र त्यसैको जालोमा फसेका कैयौं परिवारलाई अहिले घर न घाटको स्थितिमा पुर्याएको छ ।
वित्तीय कारोबार गर्न अनुमति नलिई अति उच्चदरमा ऋण प्रवाह गर्ने, कीर्ते कागज खडा गर्ने र ऋण तिर्न नसक्नेहरुलाई धम्की वा हिंसाको माध्यमबाट आतंकित वा भयभित पारी वा छलपूर्वक जायजेथा हडपी ऋणको धेरै गुणा रकम असुल गर्ने व्यक्तिहरुलाई मिटर ब्याजी भनेर चिनिन्छ ।
रुपन्देहीमा मिटर ब्याज र अनुचित लेनदेनसँग सम्बन्धित विषय जटिल बन्दै गएपछि प्रशासन कार्यालयमा उजुरबाजुरसम्म पुगेका ५३६ वटा घटना छन् । यीमध्येका केही घटनाका नालीबाली सुन्दा समाजमा वित्तीय साक्षरताको अभाव र क्षणभरमै धेरै कमाउने भन्ने लालसाले धेरैलाई सताएको पाइयो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भएका विभिन्न प्रकारका ती ५३६ उजुरीमध्येका केही घटनाको विवरण सुन्दा लाग्छ, जब मान्छेले मेसो बिराउँछ उसले आफूमात्रै होइन, परिवारै र नातेदारसमेतलाई आपतमा पार्छ ।
दुई लाख लिएको डेढ वर्षमा डेढ करोड तिर्दा पनि चएन चुक्ता !
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१, ड्राइभरटोलमा एक सुखी र सम्पन्न परिवार थियो । घरको मुली मान्छे भारतीय सुरक्षा फौजमा उपल्लो तहमै पुगेका थिए र अब ‘लाहुरे’ को अवकासको मिति नजिकिँदै थियो । घरपरिवार राम्रोसँग चलेकै थियो । यसैक्रममा डेढ वर्षअघि ‘लाहुरेनी’ ले एक दिन छिमेकीसँग दुई लाख रुपैयाँ भने जति ब्याज बुझाउने भन्दै सापटी लिइन् । सुरुका केही महिना ब्याज बुझाइन् । केही महिना बुझाउन बाँकी रह्यो र थपियो ।
थपिएको ब्याज रकमसमेत साँवामा जोडियो । दुई लाख सापटी लिएको छिमेकीकोमा ब्याजसमेत जोडिँदै जाँदा ३० लाख रुपैयाँ पुगेको बताइयो । यही रकमको कागज लेख्ने कुरा भयो । कागज लेख्दालेख्दै पाँच लाख रुपैयाँ थपियो । किन त भनेर सोध्दा ‘फेरि पनि ब्याज तिर्न ढिला हुनसक्छ यसैमा एकैचोटी थपिदिएपछि सजिलो हुन्छ भनेर’ भन्दै ३५ लाखको तमसुकमा सहीछाप लगाए । ३५ लाखको ब्याज तिर्न फेरि अरु छिमेकी र भएभरका आफन्तसँग पैसा सापटी लिइन् । विभिन्न बहानामा विभिन्न व्यक्तिसँग पैसा भने जति सापटी लिइन् र पहिले खोजेकी छिमेकीकोमा ब्याज तिरिरहिन् ।
दुई लाख रुपैयाँ सापटी लिएको छिमेकीलाई १९ महिनाको अवधिमा उनले एक करोड ५१ लाख रुपैयाँ जति बुझाइसकिन् । त्यहाँ अझै उनले ५४ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको भन्दै उनै छिमेकी महिलाले भनिन् । प्रायः नगदै उनले ती महिलालाई ब्याज दिइरहिन् । तिनलाई ब्याज तिर्न उनले आफन्तसँग अनेक जुक्ति लगाएर पैसा माग्थिन् ।
यति हुँदासम्म घरमा पतिलाई कुनै सुइकोसमेत छैन । पति, छोरीहरु, नातेदार कसैलाई पनि यसबारेमा सूचना छैन । पति भारतीय सेनाको जागिरबाट अवकाससहित केही पैसा लिएर घरमा आए र नयाँ गाडी किन्ने सोच बनाए । ल्याएको केही लाख रकम उनले गाडी किन्ने हो राख है भन्दै पत्नीलाई दिए । पैसा लिएर पत्नीले अर्को कुनै छिमेकीलाई दिइन् । त्यो दिएको पैसा माग्न जाँदा थाहा भयो- सापटी लिएको पैसा पो उसलाई तिरेको रहेछ ।
उनी एकदिन अनायासै सम्पर्कविहीन भइन् । घरमा, आफन्तकोमा सबैतिर सोधीखोजी भयो । फेला परिनन् । प्रहरीकोमा उजुरी पुगेपछि खोज्दा उनी विभिन्न मन्दिर चहारेर पाथीभरासम्म पुगेको थाहा भयो र फेला परिन् । घरमा ल्याइयो र किन यसो गरेको भनेर सोध्दा सबै फेहरिस्त खुल्यो । दुई लाख रुपैयाँ सापटी लिएको रकमको १९ महिनामा डेढ करोड बुझाइसक्दा पनि अझै बाँकी छ भनेपछि पीडित परिवार गुहार माग्दै पुग्यो जिल्ला प्रशासन कार्यालयमा ।
करोडपतिबाट केही वर्षमै सडकमा !
यस्तै बुटवल सुख्खानगरको अर्को घटना छ- जब मेसो नमिलेर करोडौंको प्रोपटी सकाएर ऋण तिर्दा पनि नसकिएपछि आफैं हिरासतमा जानुपरेको घटना । बुटवल सुख्खानगरमा १० कट्ठा जति जग्गा र त्यहाँ बनेको राम्रो पार्टी प्यालेस । सुख्खानगर बजारमै बनेको पाँचतले घर । ऋण कहींकतै नभएको । यहीबीचमा ठूलो होटल चलाउने भन्दै बैंकबाट ३ करोड रुपैयाँ ऋण लिए । त्योमध्येको अधिकांश रकम जग्गामै लगाए । यत्तिकैमा कोभिडको महामारी फैलियो । न होटल राम्रोसँग चले न त जग्गाको कारोबार नै भयो ।
ससाना घडेरीका टुक्रा बेचेर केही समय बैंकमा ब्याज र किस्ता तिरिरहे । कोभिडले होटल र घरजग्गाको कारोबार डामाडोल भएपछि ब्याज तिर्ने पैसा पनि उठाउन मुस्किल भयो । १० कट्ठा जग्गा भएको पार्टी प्यालेस बिक्री गर्ने कुरा भयो र मूल्य तोकियो २१ करोड । तर, उनले मानेनन् २३ करोड चाहिन्छ भने । घर पनि बिक्री गर्ने कुरा भयो १५ करोडमा । त्यो मूल्य पनि उनले मानेनन् ।
दुवै ठाउँको जग्गामा केही रकममा कुरा नमिल्दा पछि सिन्कीसरीमा बेच्नुपर्ने भयो । २१ करोड भनेको जग्गासहितको पार्टी प्यालेस ६ करोडमा र १५ करोड भनिएको होटलसहितको पाँच तले घर ४ करोडमा बिक्री भयो । यति रकमले उनलाई ऋण त के ब्याज पनि तिर्न पुगेन । कतिपयलाई दिएको चेक बाउन्स भयो र मुद्दामामिलामा पुग्यो । मेसो नमिलेपछि र वित्तीय साक्षरता नभएपछि बिग्रिएको कारोबारले उनलाई हिरासतमा पुर्यायो ।
वित्तीय साक्षरताको खाँचो
यी दुई प्रतिनिधि घटना हुन् । दुवै घटनाका दुवै पक्षका नाम टुंगो नलाग्दासम्म गोप्य राखिएको छ । यस्ता तमाम घटना समुदायमा जेलिएर रहेका छन् । आफ्नै मान्छेले, आफन्तले, आफ्नै मिल्ने साथीले अनेक बहाना गरेर सरसापटी लिएर नतिरेका, जग्गा पास गरिदिएपछि दिम्ला भन्दै नदिएका, सापटी लिएपछि सम्पर्क नै नरहेका, थातथलो नै छाडेर भागेका कैयौं घटनाले समाजमा धेरैलाई सताएको छ ।
रुपन्देहीमा ५३६ उजुरी: १८३ छलफलमा, ९३ फर्छ्याेट
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यससम्बन्धी परेका ५३६ उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराइरहेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालयका प्रवक्ता रामचन्द्र अर्यालको नेतृत्वमा प्रशासन कार्यालयमा दिनहुँजसो दुवै पक्षका बीचमा छलफल भइरहेको छ ।
निवेदन दिएका र निवेदनमा उल्लेख गरिएका दुवै पक्षका बीचमा छलफलमा सहभागी हुँदै आएका प्रशासन कार्यालयका नासु बालकृष्ण आचार्यले हालसम्म १८३ वटा उजुरीउपर छलफल भएको जानकारी दिए । छलफल गराइएकामध्ये ९३ वटा उजुरी फर्छ्योट भएका छन् ।
दुवै पक्षले रोहवरमा मेलमिलाप गर्ने गरेको उनले बताए । जिल्ला प्रशासनमा दर्ता भएका उजुरीहरुमा दुई लाखदेखि करोडौं रकमसम्मका लेनदेन र कारोबारका विषयहरु रहेको बताइएको छ । ती सबै उजुरीमा दुवै पक्ष र जिल्लास्तरीय कार्यदलका बीच छलफल हुँदै आएको छ ।
यस्ता छन् ऋण लिएका शीर्षक
वैदेशिक रोजगारीमा जान लाग्ने खर्च व्यवस्थापन गर्न, बिरामी हुँदा उपचार गर्न, छोराछोरीको विवाह, व्रतबन्ध, किरिया खर्च, चाडवाड खर्चलगायत सामाजिक संस्कारको कार्य गर्न, छोराछोरीको पढाइको खर्च तिर्न, दैनिक घर खर्च चलाउन, जग्गा जमिन किन्न, व्यापार व्यवसाय गर्न, खेतीको लागि आवश्यक मलबीउ किन्न, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न, व्यवसाय गर्न, घर बनाउन तथा प्रशासनिक खर्च (मुद्दा, उजुरी) आदि कार्यका लागि भन्दै ऋण लिएको र त्यसको ब्याज अचाक्ली भई पीडित बनेको भन्दै उजुरी दर्ता हुने गरेका छन् ।
कानुनी रित पूरा गरी राजीनामा पाँच वर्षअघि नै पास गरिदिएको जग्गालाई समेत फिर्ता गराई पाऊँ भनी गर्नै नमिल्ने विषयमा पनि निवेदन आएको प्रजिअ पाण्डेले बताए ।
कार्यादेश र कानूनअनुसार काम गर्छौंः प्रजिअ पाण्डे
पछिल्लो मिटर ब्याजसम्बन्धी आन्दोलनलाई सम्बोधन गर्दै सरकारले सबै जिल्लामा पीडितले उजुरी दिन पाउने व्यवस्था गरेको थियो । सोही आधारमा रुपन्देहीमा पनि ५३६ वटा अनुचित लेनेदनसम्बन्धी उजुरी परेका छन् र तिनै उजुरीउपर दिनहुँजसो छलफल जारी छ ।
बिदाको दिनमा समेत कर्मचारीहरुले दुवै पक्षलाई खबर गर्ने, सूचना गर्नेलगायतका काममा खटिने गरेका छन् । जिल्ला प्रशासन कर्यालय, अदालत र प्रहरीसमेतको विशेष टास्क फोर्स गठन गरी उजुरीहरुउपर अध्ययन गरिएको छ र त्यसैका आधारमा पालैपालो छलफलमा बोलाइएको छ । हामीले कानून र पछिल्लो कार्यादेशले दिएको अधिकारबमोजिम काम गरिरहेका छौं । जिल्लामा हुने सर्वपक्षीय छलफलबाट प्राप्त निष्कर्षसहितको प्रतिवेदन केन्द्रमा बुझाउने गरी काम गरिरहेका छौं ।
सहायक प्रमुख जिल्ला अधिकारीलाई यस विषयमा विशेष फोकल पर्सन नै तोकेर काम गर्न जिम्मेवारी दिइएको छ । आवश्यक परेका खण्डमा अरु पनि छलफलमा बस्नेगरी प्रबन्ध गरेका छौं । दैनिक पाँच-सात वटासम्म उजुरीहरुउपर छलफल गराएका छौं ।