पपुलिजमको आडमा फासिजमको प्रयोग ? – Nepal Press

पपुलिजमको आडमा फासिजमको प्रयोग ?

जब अन्तर्राष्ट्रिय सम्बन्धको कुरा आउँछ, इन्तु परन्तु नभनी राष्ट्रिय स्वार्थ नै प्राथमिकतामा पर्छ, पर्नुपर्छ । साथसाथै महत्वपूर्ण अर्को पक्ष भनेको राष्ट्रिय स्वार्थका निम्ति प्रयोग गरिने कूटनीतिक पहल र सैन्य शक्तिको प्रयोग हो । इटालियन कूटनीतिज्ञ निकोलो मेकियाभेलीले आफ्नो किताब ‘द प्रिन्स’मा भनेका छन्- ‘शासकको प्रमुख कर्तव्य भनेको राज्यको हित हो । त्यसका लागि शासकले जुनसुकै कदम पनि चाल्न सक्छन् । शासकलाई नियम कानून नलाग्ने भएकाले ऊ अरु नागरिकभन्दा माथि हुन्छ । शासकले मूल्य मान्यताहरुको ख्याल गर्नुपर्दैन ।’

मेकियाभेली त्यतिखेरको बलिया राज्यहरू फ्रान्स र स्पेनबाट कमजोर परिरहेको तत्कालीन इटालीलाई जोगाउन चाहन्थे । त्यसका लागि उनले शक्तिशाली प्रिन्सको परिकल्पना गरेर ‘द प्रिन्स’ नामक पुस्तक लेखेका थिए ।

शासकहरू आफूलाई बलियो बनाउन प्रायःजसो मेकियाभेलीकै उदाहरण दिने गर्छन् । अझ केहीले त राष्ट्रियता र उग्र राष्ट्रवादका नाममा आफूलाई कानूनभन्दा माथि रहनुपर्ने तर्कसम्म गरेको पाइन्छ । मेकियाभेलीले तत्कालीन समयमा इटालीलाई जोगाउन ल्याएको सिद्धान्त पछि गएर लोकतन्त्रको हत्या र व्यक्ति कानूनभन्दा माथि रही शासन गर्नेसम्मको सत्तालिप्सामा प्रयोग गरेको पाइयो । मेकियाभेलीको प्रिन्सको अवधारणालाई इटालियन तानाशाह बेनिटो मुसोलिनी र जर्मन तानाशाह एडल्फ हिटलरले फासीवादमा परिवर्तन गरेका थिए ।

फासीवाद के हो ? सामान्य भाषामा भन्नुपर्दा फासीवाद भनेको उग्र राष्ट्रवाद हो । फासीवाद एक किसिमको राजनीतिक आन्दोलन हो, जसको आधार चाहिँ उग्र राष्ट्रवाद र (वा) सैन्यवादले तयार गर्छ । फासीजमले जनतालाई भन्दा राष्ट्र र एकल शक्तिशाली नेतृत्वलाई बढी जोड दिन्छ । फासिजम लोकतन्त्रमा आधारित समाजवाद या उदारवादभन्दा धेरै फरक छ । किनकि फासीवादको शासकीय स्वरुपअन्तर्गत व्यक्तिगत अधिकार, प्रतिस्पर्धात्मक चुनाव, राजनीतिक असहमतिलगायतका लोकतान्त्रिक विषयहरूका लागि कुनै स्थान हुँदैन ।

कुनै पनि देश या सरकार रातारात फासिजममा रूपान्तरण हुने होइन । जर्मनीका हिटलर र इटालीका मुसोलिनीलाई उदाहरण लिने हो भने फासीजमसम्मको यात्रा विस्तारै र लोकतान्त्रिक प्रक्रियाबाटै भएको थियो । सुरुमा लोकतान्त्रिक प्रक्रियाबाटै यी दुवै देशका फासिस्ट पार्टीहरू सत्तामा आएका थिए । सत्तामा आएपछि भने ती पार्टीहरूले शक्तिलाई केन्द्रीकृतमात्र गरेनन् लोकतान्त्रिक संस्थाहरूलाई पनि ध्वस्त पार्ने काम गरे र आफ्नो नेताको लागि तानाशाही हुने शक्ति आर्जन गरे । आखिर फासिस्टहरू शक्ति आर्जन कसरी गर्छन् त ?

फासिजम लोकतन्त्रमा आधारित समाजवाद या उदारवादभन्दा धेरै फरक छ । किनकि फासीवादको शासकीय स्वरुपअन्तर्गत व्यक्तिगत अधिकार, प्रतिस्पर्धात्मक चुनाव, राजनीतिक असहमतिलगायतका लोकतान्त्रिक विषयहरूका लागि कुनै स्थान हुँदैन ।

रोबर्ट पाक्सटनले आफ्नो लोकप्रिय किताब ‘द एनाटोमी अफ फासिजम’मा फासिजमको विकासलाई ५ तहमा वर्गीकरण गरेका छन्-

१) फासिस्ट आन्दोलनको निर्माण : यो त्यो चरण हो, जब विभिन्न सन्धि, सम्झौता र नेतृत्वहरूको अकर्मण्यतालाई दर्शाएर लोकतन्त्रप्रतिको आस्थालाई भत्काउने प्रयास गरिन्छ । राष्ट्रियता र संस्कृतिमाथि खतरा रहेको दिशामा राय निर्माण गर्न विभिन्न बुद्धिजीवीहरूको परिचालन हुने गर्छ । यस चरणमा विचार निर्माताहरूले विद्यमान राजनीतिक व्यवस्थालाई चुनौती दिन समाजका लागि वैकल्पिक र लोकप्रिय दृष्टिकोणहरू प्रस्तुत गर्न थाल्छन् । हिटलरले जर्मनीमा भर्सिलिजको सन्धिको खारेजीको मुद्दा उठाएर आफ्ना समर्थकहरू निर्माण गरेका थिए ।

२) राजनीतिक प्रणालीमा स्थापित हुने : यो चरणमा फासिस्ट पार्टी या नेतृत्व स्थापित राजनीतिक प्रणालीभित्रै रहेर वैधानिकता प्राप्त गर्न खोज्छन् । स्थापित प्रणालीभित्रै रहेर रणनीतिक चाल चल्ने भएकाले कसैले शंका गर्ने सम्भावना नै हुँदैन । यस चरणमा फासिस्ट नेतृत्वले प्रायः आर्थिक संकट, राष्ट्रवादी भावना र सांस्कृतिक परिवर्तनको डरको शोषण गर्दै लोकप्रिय गुनासाहरूलाई अपिल गर्ने प्रयास गर्छन् । राजनीतिक गतिरोध र ध्रुवीकरणको जगमा फासिस्ट पार्टी प्रमुख राजनीतिक खेलाडीको रुपमा देखापर्छन् ।

३) दक्षिणपन्थी साझेदारीमा शक्ति आर्जन : यो तेस्रो चरण भनेको चाहिँ फासिस्ट आन्दोलनको शक्तिमा आगमन हो । केही अवस्थामा चुनावकै माध्यमबाट फासिस्ट पार्टीहरू शक्तिमा आउने गरेका छन् । तर, धेरैजस्तो समयमा समाजवादी या कम्युनिष्ट आन्दोलनसँग भयभीत भएका दक्षिणपन्थी शक्तिहरूले उनीहरूलाई सत्ता साझेदारीमा आह्वान गरेको पाइन्छ । राजनीतिक तवरले परम्परावादी वर्गलाई के लाग्छ भने फासिस्ट पार्टीहरू स्थापित राजनीतिक प्रणाली भत्काउन आएका हुन् ।

तसर्थ प्रगतिशील समाजवादी शक्तिहरूसँगको राजनीतिक र वैचारिक लडाइँमा लोकप्रिय फासिस्ट लिडरलाई प्रयोग गर्न सके आफ्नो राजनीतिक जीत हुने विश्वास दक्षिणपन्थी शक्तिले लिएको हुनसक्छ । सन् १९२१ म इटालीको परम्परावादी शक्तिहरूले फासिस्ट पार्टीसँग मिलेर बहुमतको सरकार बनाए । जर्मनीमा प्रगतिशील समाजवादी सरकार बन्न नदिन परम्परावादी लिडरहरूले नाजी पार्टीसँग अस्थायी सम्झौताका रुपमा गठबन्धन बनाएर अघि बढ्न चाहे ।

४) शक्तिको प्रयोग : राज्य सत्तामा पुगिसकेपछि भने शक्ति केन्द्रीकृत गर्नतिर फासिस्ट लिडरहरू लाग्ने गरेको पाइन्छ । यो त्यो चरण हो, जहाँ लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पारेर राजनीतिक स्टन्टबाजी र डरधम्कीका माध्यमबाट राजनीतिक प्रभाव स्थापित गर्न खोजिन्छ । सन् १९२१ मा गठबन्धनको माध्यमबाट मुसोलिनीको पार्टीले चुनावमा जीत हासिल गर्‍यो । अर्को वर्ष नै रोमको मार्च भनेर चिनिने फासिस्ट प्रदर्शनको व्यापक दबाबमा इटालीका राजाले मुसोलिनीलाई प्रधानमन्त्री घोषणा गरे ।

निश्चित राजनीतिक सिद्धान्त र विचारविना स्थापित व्यवस्थाबाट परिवर्तन खोज्न नभएर छिटो सत्ता प्राप्ति या निश्चित व्यवस्थाको स्थापनाका लागि पपुलिजमको प्रयोग भएको पाइन्छ । यसको तरिका फासिजमसँग मिल्दोजुल्दो देखिए पनि यो कति हदसम्मको अतिवादसम्म जानसक्छ, त्यो हेर्न बाँकी नै छ ।

मुसोलिनीलाई प्रधानमन्त्री घोषणा नगरे गृहयुद्ध हुन्छ कि भन्ने डर तत्कालीन इटालीका राजालाई थियो । शक्ति प्राप्तपश्चात् फासिस्ट लिडरहरूमा देखिने एउटा प्रारुप के हो भने उनीहरू एकल पार्टी प्रणालीमा जान खोज्छन् र एक व्यक्तिलाई सर्वशक्तिमान नेताको रुपमा स्थापित गर्छन् । यो सबै गर्न उनीहरू जनताकै समर्थन जुटाउन आफू समर्थक राय निर्माताहरूको व्यापक प्रयोग गर्छन्, विरोधी रायहरूमा सेन्सर लगाइन्छ र परिआएको खण्डमा हिंसाको पनि प्रयोग गर्छन् ।

५) कट्टरपन्थीकरण या एन्ट्रोपी : यो फसिजमको अन्तिम चरण हो । यहाँबाट फासिस्ट शक्तिहरू कि धेरैभन्दा धेरै कट्टरपन्थीकरण हुँदै जान्छन् कि त पतन हुँदै क्षयीकरणको दिशातिर जान्छन् । फासिस्ट शासकहरूले आफ्नो आक्रामकता बढाउन सक्छ, विस्तारवादमा संलग्न हुनसक्छ वा बढ्दो दमनकारी नीतिहरूमा लाग्नसक्छ । वैकल्पिक रूपमा उनीहरूले आन्तरिक द्वन्द्व, गुटबन्दी वा लोकप्रिय समर्थन गुमाउने अनुभव गर्न सक्छन् । जसले तिनीहरूको पतन र अन्ततः क्षयीकरण हुनसक्छ । यस चरणको परिणाम ऐतिहासिक परिस्थितिहरूमा निर्भर गर्दछ ।

प्रत्येक फासिस्ट आन्दोलनले रोबर्ट पाक्सटनका सबै पाँच चरण पार गर्छन् भन्ने होइन । तर, यसले फासिस्ट आन्दोलनको उदयको प्रक्रिया भने अवश्य व्याख्या गर्छ । आफ्नो देश या क्षेत्रको वातावरणअनुसार फासिस्ट शक्तिको उदय र पतनको प्रक्रियामा भिन्नता हुनसक्छ । धेरैजसो विद्वानहरूले फासिजम प्रथम र दोस्रो विश्वयुद्धका बीच अस्तित्वमा रहेको मत राख्ने गर्छन् । आजको विश्वमा हिटलर र मुसोलिनीले स्थापित गरेको स्तरको फासिजमको अस्तित्व नरहनसक्छ । तर, यसका अवशेषहरुको अस्तित्व छैन भन्नु भनेको चाहिँ सतही विश्लेषणमात्र हुन आउँछ ।

केही समय अघिदेखि विश्व राजनीतिमा पपुलिजम अर्थात् लोकप्रियतावाद हावी भइरहेको पाइन्छ । निश्चित राजनीतिक सिद्धान्त र विचारविना स्थापित व्यवस्थाबाट परिवर्तन खोज्न नभएर छिटो सत्ता प्राप्ति या निश्चित व्यवस्थाको स्थापनाका लागि पपुलिजमको प्रयोग भएको पाइन्छ । यसको तरिका फासिजमसँग मिल्दोजुल्दो देखिए पनि यो कति हदसम्मको अतिवादसम्म जानसक्छ, त्यो हेर्न बाँकी नै छ । तसर्थ पपुलिजम र फासीवादका प्रक्रिया मिल्दोजुल्दो भए पनि पपुलिजम अभ्यास गर्ने लिडरहरूले यसलाई बठ्याइँपूर्वक फासिजमबाट अलग भएको पुष्टि गर्न सफल भएका छन् ।

स्थापित व्यवस्थाबाट व्यापक परिवर्तन सम्भव नदेखेका वा वाक्कदिक्क भएका नागरिकहरू फासिजमसम्म नजाने हो भने त ठीकै छ नि भन्ने मनोभावनामा रहेकाले लोकप्रियतावादलाई गहन ढंगले हेरेको पाइँदैन । तर, पपुलिस्ट शक्तिहरूले पूर्ण रुपले राज्यसत्तामा पहुँच नपाइसकेकाले अहिले नै पपुलिजम फासीवादको आधुनिक हो कि होइन यसै भन्न सकिने अवस्था भने छैन । तर, सत्य के चाहिँ हो भने नेपालमा पपुलिजम भित्रिसकेको छ । यसलाई अतिवाद वा फासीवादतिर जान नदिनु हामी सबैको कर्तव्य हुन आउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *