घुससहित रंगेहात पक्राउ- ५० वटा मुद्दाको फैसला हुँदा २२ वटा घटनामा आरोपीलाई ‘क्लिन चिट’ – Nepal Press

घुससहित रंगेहात पक्राउ- ५० वटा मुद्दाको फैसला हुँदा २२ वटा घटनामा आरोपीलाई ‘क्लिन चिट’

काठमाडौं। विशेष अदालतले पछिल्लो एक वर्षमा घुस रिसवतसँग सम्बन्धित ५० वटा मुद्दाको फैसला गरेकामा करिब आधामा आरोपीले पूर्ण सफाइ ‘क्लिन चिट’ पाएका छन् ।

विशेष अदालतले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को फैसला तथ्यांकअनुसार ५० मध्ये २२ वटा मुद्दामा दोषी ठहर, ६ वटा मुद्दामा आंशिक ठहर र २२ वटा मुद्दामा सफाइ दिइएको छ।

यस्तै गैह्र कानुनी सम्पत्ति आर्जन सम्बन्धी १९ वटा मुद्दाको फैसला भएकामा ६ वटामा ठहर, २ वटामा आंशिक ठहर र ११ वटामा आरोपीले सफाइ पाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबैभन्दा बढी सफल भएको नक्कली प्रमाण पत्रमा देखिएको छ।

यससँग सम्बन्धित ४० वटा मुद्दाको फैसला भएकामा विशेष अदालतले ३७ वटामा कसुर ठहर गरेको छ भने एउटामा आंशिक ठहर भएको छ। दुईवटा मुद्दामा मात्र आरोपीले सफाइ पाएका छन्।

यस्तै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा १३ वटा मुद्दाको फैसला भएकामा कुनैमा पनि पूर्ण ठहर भएन। १२ वटामा आंशिक ठहर र एउटामा प्रतिवादीले सफाइ पाएको विशेष अदालतले जनाएको छ।

निर्णयगत अनियमिततामा पछिल्लो १२ महिनामा एक सय ४८ वटा मुद्दाको फैसला भएको थियो जसमध्ये ४७ वटामा पूर्ण ठहर, ५४ वटामा आंशिक ठहर र ४७ वटामा प्रतिवादीले सफाइ पाएको देखिएको छ।

विशेष अदालतका अनुसार गैह्र कानूनी सम्पत्ति आर्जनमा २८, घुस रिसवतमा ६७, निर्णयगत अनियमिततामा २ सय ३०, नक्कली प्रमाणपत्रमा ८ र सम्पत्ति शुद्धीकरणमा २६ वटा मुद्दाको फैसला हुन बाँकी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर