महिला फुटबल टोलीलाई युनिलिभरको २५ लाखको प्रायोजन (भिडिओ) – Nepal Press

महिला फुटबल टोलीलाई युनिलिभरको २५ लाखको प्रायोजन (भिडिओ)

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभरले २५ लाख रुपैयाँको प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभरबीच मंगलबार उक्त प्रायोजन सम्झौता भएको हो ।

सम्झौतामा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर अमलान मुखर्जीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार युनिलिभरले वार्षिक २५ लाख रुपैयाँ महिला फुटबल टोलीलाई प्रदान गर्नेछ ।

उक्त अवसरमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सीमित स्रोत र साधनका बीच पनि नेपाली खेलाडीले देशका लागि धेरै सफलता दिलाएको उल्लेख गरे ।

उनले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि सरकार लागिपरेको बताए ।

एन्फाका अध्यक्ष नेम्वाङले महिला फुटबल विकासमा सहयोग पुर्‍याउने उद्देश्यअनुरूप युनिलिभरको सहयोग रहेको बताए ।

नेपाली महिला फुटबल टोलीकी गोलकिपर तथा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले यस किसिमको प्रायोजनले नेपाली महिला फुटबललाई हौसला बढाउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा युनिलिभर नेपाल लिमिटेडका डाइरेक्टर मुखर्जीले सन् २०२७ को महिला विश्वकप खेल्ने नेपालको लक्ष्यमा यो प्रायोजनले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली महिला फुटबल टोलीले हालसालै बंगलादेशसँग दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय श्रृंखला जितेको थियो । नेपाली महिला फुटबल टोली आगामी सेप्टेम्बर २३ देखि चीनमा सुरु हुने १९औं एसियाडको तयारी गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *