लाहुरे हुने सपनालाई ३५ लाखमा सौदाबाजी गर्दा २ पूर्वब्रिटिस लाहुरे जेल चलान
कीर्ते नागरिकता बनाउने तीन युवा फरार
विराटनगर । नक्कली बाबु बनेर ३ जनालाई नागरिकता बनाइदिने २ पूर्वब्रिटिस लाहुरे जेल चलान भएका छन् ।
ताप्लेजुङ मौवा खोला ४ घर भई मोरङको लेटाङ बस्दै आएका ६१ वर्षीय सूर्यहाङ्ग लिम्बु र सुनसरीको धरान नगरपालिका ११ घर भएका सूर्यबहादुर फ्याङ्ग लिम्बू जेल चलान भएका हुन् ।
उनीहरूले ५ हजारका दरले रकम लिई झुटो विवरण पेस गरेर पोखराका ३ जना युवालाई नागरिकता बनाइदिएको अनुसन्धानका क्रममा खुलेको छ । पल्टनमै चिन जान भएका सूर्य हाङ्ग र सूर्यबहादुरले मोरङ बेलबारीबाट छोरा बनाएर बाट नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका थिए ।
तीनैजनाले जिल्ला प्रशासन कार्यालय मोरङबाट २०७८ माघ २४ गते नागरिकता लिएका हुन् । तीनै जनाको मोरङको बेलबारी नगरपालिका–११ ठेगाना राखेर नयाँ नागरिकता बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जन दाहालले बताए ।
दुई पूर्वब्रिटिस लाहुरेले नक्कली बाबु बनेर नागरिकता दिलाएका थिए । यसरी नागरिकता बनाइदिएबापत जनही ५ लाख रुपैयाँ लिएको बयानका क्रममा स्वीकारेको दाहालले बताए । नक्कली बाबु बनाएर नागरिकता लिने भने ३ जना नै फरार रहेका छन् ।
सूर्यबहादुर र सूर्यहाङ्गले पोखरा उपमहानगरपालिका-१० का २१ वर्षीय रविन गुरुङ, पोखरा-१२ का १९ वर्षीय प्रशान्त मगर र पोखरा-१६ का २९ वर्षीय गणेश गुरुङलाई बाबु बनेर नागरिकता बनाइदिएको खुलेको मोरङ प्रहरीले जनाएको छ ।
सूचनाको आधारमा प्रहरीले असार ५ गते ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ स्थायी ठेगाना भई मोरङको लेटाङ नगरपालिका-७ मा बस्दै आएका ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको थियो ।
त्यसपछि असार ६ गते धरान का ६० वर्षीय सूर्यबहादुर फ्याङ् लिम्बूलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा दुवै मिलेर रविनलाई सुरज लिम्बू, प्रशान्तलाई साजन लिम्बू र गणेशलाई सविन लिम्बूको नामबाट नागरिकता बनाइदिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
लाहुरे हुने सपनाले कीर्ते नागरिकता
झूटो विवरण पेस गरेर नागरिकता बनाउनेहरू बेलायती सेनामा भर्ना हुन प्रयासरत थिए । पटक पटक प्रयास गर्दा पनि फेल भएपछि उनीहरूको बेलायती सेनामा भर्ना हुने उमेर सकिएको थियो ।
वास्तविक नागरिकतामा उल्लेख भएको जन्म मितिले उमेर हदका कारण लाहुरे हुने सपना पुरा नभएपछि उनीहरूले उमेर घटाउने योजना बनाए ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार उमेर घटाउनका लागि कास्कीका ती युवाहरूलाई अर्को नागरिकता आवश्यकता थियो । यही आवश्यकता पुरा गर्न लेटाङका सूर्यहाङ्ग तयार भए । सूर्यहाङ्गसम्म ती युवाहरुलाई धरानका सूर्यबहादुरले ल्याएका हुन् । सूर्यबहादुरलाई भने पोखराका टेकबहादुर गुरुङ्गले ती युवाहरुसँग चिनजान गराएका थिए ।
जेल चलान भएका दुवै जना भूतपूर्व बेलायती सैनिक हुन् । उनीहरूको चिनजान पल्टनमै भएको थियो ।
बेलायतका अवकाश प्राप्त सैनिकले ३ जना युवाहरूलाई बेलायती सैनिकमा भर्ना गरिदिने आश्वासन समेत दिएका थिए । सुरुमा जनही ५ लाख लिएको देखिन्छ । सेनामा भर्ना भए थप ३५ लाख दिने शर्त समेत भएको थियो । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने, पैसाका लागि नागरिकता बनाइदिएको खुलेको छ ।
प्रहरीका अनुसार सूर्यबहादुरले पोखराका युवालाई सूर्यहाङको सम्पर्कमा पुर्याउने भूमिकामा देखिएका छन् । सूर्यबहादुरसँग ती युवाको पोखरा नै घर भएका टेकबहादुर गुरुङले सुरुमा चिनजान गराएको खुलेको छ ।
प्रहरीले सूर्यहाङ र सूर्यबहादुर विरुद्ध झुटो नागरिकता बनाएको कसुरमा अनुसन्धान गरेको थियो ।
अनुसन्धान सकिएपछि पक्राउ परेका सूर्यहाङ र सूर्यबहादुरसहित नागरिकता लिने ३ युवा तथा टेकबहादुरलाई फरार प्रतिवादी बनाएर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मोरङमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
सरकारी वकिल कार्यालयले मिसिलका आधारमा अभियोग पत्र तयार पार्दै यस प्रकरणमा संलग्नलाई प्रतिवादी बनाएर झुटो नागरिकता बनाएको कसुरमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।
न्यायाधीश प्रकाश कोइरालाको इजलासले सूर्यहाङ र सूर्यबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आदेशपछि दुवै जनालाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।