क्यान्सर अस्पतालमा ‘राजनीतिक संक्रमण’- कार्यकारी निर्देशक नियुक्तिको बैठकमा स्वास्थ्यका प्रतिनिधि गएनन् – Nepal Press

क्यान्सर अस्पतालमा ‘राजनीतिक संक्रमण’- कार्यकारी निर्देशक नियुक्तिको बैठकमा स्वास्थ्यका प्रतिनिधि गएनन्

काठमाडौं । तीन महिनादेखि कर्मचारीलाई तलबसमेत दिन नसक्नेगरी खाली भएको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको नियुक्ति थप अन्योल बनेको छ ।

कार्यकारी निर्देशकको नियुक्तिमा आर्थिक चलखेलको विषय सार्वजनिक भएपछि नियुक्तिको विवाद बोर्डमै देखिएको छ । जसका कारण कार्यकारी निर्देशकको नियुक्तिको प्रक्रिया सुरु गर्न आइतबार काठमाडौंमा बसेको बैठक एजेण्डामै प्रवेश गर्न नसकेपछि बोर्डका अध्यक्षसहितको टोली राति नै चितवन आइपुगेको छ ।

भरतपुर क्यान्सर अस्पतालमा राष्ट्रियसभाका सदस्यसमेत रहेका प्रचण्डका भाइ नारायण दाहाल र प्रचण्डपुत्री भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अस्वाभाविक चलखेल गरेको जानकारी पाएपछि स्वास्थ्य मन्त्रालयका प्रतिनिधि उपस्थित नभएको मन्त्रालय स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ ।

क्यान्सर अस्पतालमा कार्यकारी निर्देशकको नियुक्तिको सिफारिस गर्न स्वास्थ्य मन्त्रालयका सहसचिव पदेन सदस्य रहने व्यवस्था छ । मन्त्रालयले सहसचिव मदनकुमार उपाध्यायलाई तोकेको छ । तर, नियुक्तिमा चलखेल भएको, स्वास्थ्यमन्त्रीसमेत नेपाल बाहिर रहेको अवस्थामा विवादका बीचबाट कार्यकारी नियुक्ति गर्न उपस्थित हुन नसकेको स्रोतले जनाएको छ ।

अहिले भरतपुर क्यान्सर अस्पतालमा कार्यकारी निर्देशकको दौडमा नेपाली कांग्रेसका तर्फबाट डा. शिवजी पौडेल, माओवादी केन्द्रबाट डा. कृष्णसागर शर्मा दौडमा छन् । तर, दुबै पार्टीलाई मिलाउन सक्ने भन्दै अर्को दौडमा पूर्वकार्यकारी निर्देशक डा. विजय आचार्य लागिपरेका छन् । डा. आचार्य उनै नारायण दाहालको जोडबलमा कस्सिएर लागेका छन् ।

जसरी पनि डा. आचार्यलाई नियुक्ति गर्न जोडबलमा लागेका दाहाल आफू अनुकूलको सञ्चालक समिति नबनेपछि समस्यामा परेको बुझिएको छ । तर, पनि शुक्रबार स्वास्थ्यमन्त्री मोहन बस्नेत नेपाल फर्किने बेलासम्म बोर्ड सदस्यहरुलाई प्रभावमा पार्न दाहालको दौडधुप सुरु भएको छ ।

दाहालको अस्वाभाविक चलखेल र पार्टी निकट चिकित्सकलाई बाइपास गर्ने प्रयासले गर्दा माओवादीभित्रै विवाद बढेको छ । आर्थिक चलखेलमा पार्टीका व्यक्तिभन्दा बाहिरकालाई कार्यकारी निर्देशक ल्याउन खोजेको आरोप दाहालमाथि छ ।

मंगलबार साँझ काठमाडौंमा बसेको बोर्ड बैठकमा छनोट समिति बनाउन नसकेपछि अरु सदस्य प्रभावमा पार्न दाहाल कस्सिएर लागेका छन् । यता चितवनका माओवादी केन्द्रका नेताहरुसहित काठमाडौं गएका डा. कृष्णसागर शर्मा बालुवाटारलाई मनाउन लागिपरेका छन् ।

चितवनका कांग्रेस नेताहरुसहित पुगेका डा. शिवजी पौडेलले दाहाल परिवारमा अर्को समस्या थपेका छन् । डा. पौडेललाई कार्यकारी निर्देशक नियुक्त नगरे सत्ता समीकरण धमिलिन सक्ने भन्दै धम्की दिएपछि दाहाल परिवार अप्ठेरोमा परेको छ ।

यस्तै सत्ता गठबन्धनले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिलाई नजरअन्दाज गरेको भन्दै अर्को विरोध छ । क्यान्सर अस्पताल माओवादीको राजनीतिक मैदान बनेको भन्दै रास्वपा चितवनले केन्द्रसँगको योजनामा छलफल चलाइरहेको छ ।

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको चलखेल अधिक भएको मंगलबार काठमाडौंमा बसेको बैठकबाट समेत पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयमै बसेको बैठकमा मन्त्रालयकै प्रतिनिधि अनुपस्थित हुनु, सिफारिस कमिटी बन्न नसक्नु जस्ता घटनाले यसलाई पुष्टि गरेको छ ।

भरतपुर क्यान्सर अस्पतालका एक पूर्वकार्यकारी निर्देशकका अनुसार डा. आचार्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने जिम्मा पाएका दाहाललाई सघाउने जिम्मा ठूला सर्जिकल व्यापारीले लिएका छन् । भरतपुर क्यान्सर अस्पतालमा महँगा मेसिनको आवश्यकता र खरिद प्रक्रियासँगै कार्यकारी निर्देशकको नियुक्ति जोडिने गर्दछ ।

अहिले भरतपुर क्यान्सर अस्पतालमा करिब १ अर्बको पेटसीटी स्क्यान मेसिन खरिदको चलखेलमा सबै लागिपरेको ती पूर्वकार्यकारी निर्देशकले बताए ।

मंगलबार बसेको बैठक अनिर्णितमात्रै भएको छैन, अनिश्चित पनि भएको छ । अब बस्ने बोर्ड बैठकमा एक स्वर बनाउन सकेमात्रै सफल हुने अवस्था छ । यसका लागि त्यति सहज नभएकाले दाहाल समूहले नयाँ रणनीति बनाउन थालेको छ ।

कार्यकारी निर्देशकका कारण तीन महिनादेखि कर्मचारीको तलबसमेत निश्चित नभएको अवस्थामा बैठक नै अनिश्चित भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर