वैराग्य चिन्तन
भनिन्छ, अनुरागप्रेमीहरूमा महादेव जतिको अनुरागी कोही छैनन् । जसले आफ्नी प्रियतमालाई नै आफूमा लीन गराए र अर्धनारीश्वर कहलिए । त्यस्तै सबै कुरा परित्याग गरेर वैराग्य धारण गरेर हिँड्नेहरूमा पनि महादेव जतिको वैरागी कतै पाउन सकिँदैन । त्यसैले रागी र वैरागी दुवैका आराध्य छन् महादेव । सांसारिकहरूले र सन्न्यासीहरूले समेत महादेवकै आराधना गर्ने गरेको पाइन्छ ।
संसारमा राग र वैरागको दुई पृथक धारा सृष्टिको प्रारम्भदेखि नै अनवरत चलिरहेको बुझ्न सकिन्छ । वैराग्य एक यस्तो चीज हो, जुन कल्पनात्मक उच्च उडाइको भावनात्मक हवाईजहाजबाट अत्यन्तै महिमामण्डित र गरिमामय मानिएको सांसारिक जीवनलाई समेत एक अत्यन्तै तुच्छ वस्तु ठानेर अनन्तको सुखात्मक महासगरमा स्वच्छन्द विचरण गर्ने सामर्थ्य राख्ने गर्दछ । वैराग्य नै एक त्यस्तो चीज हो, जसले सांसारिक आसक्तिमा मस्त रहेको व्यक्तिको जीवनमा क्षणभरमै आमूल परिवर्तन ल्याएर जीवनलाई अत्यन्तै सुखात्मक, सत्यात्मक र ज्ञानात्मक बन्नमा सहयोगीसिद्ध गराउँछ ।
रत्नाकर नामक एक डाँकुको जीवन पनि जसरी वाल्मीकि बन्नमा अग्रसर भयो । जसरी क्रूर रहेका सम्राट अशोक पनि वैराग्यद्वारा नै भिक्षुक बन्न पुगे र उनको क्रूरताको अन्त्य हुन गयो । सांसारिक भयले ग्रस्त रहेका राजा परीक्षित पनि विवेकको उदय भएपश्चात उत्पन्न भएको तीव्र वैराग्यले नै मुक्त भएको र मृत्युको भयानक ताडनाले पनि उनलाई सताउन नसकेको र जीवनको अन्तिम क्षणमा पनि निर्भिक र आनन्दित रहन सकेको कुरा श्रीमद्भागवदमा पनि आउँछ ।
‘विरागस्य भावं वैराग्यम्’ अर्थात विरागको भावना नै वैराग्य हो । संस्कृत भाषाको ‘राग’ भन्ने अर्थमा विशेष अर्थले ‘वि’ उपसर्ग लागेर तत्पश्चात ‘घञ्’ प्रत्यय लागेर विराग शब्दको व्युत्पत्ति हुन जान्छ । यस्तो विरागको भावना नै वैराग्य हो, जो देखिएका वा सुनिएका वा अनुभव गरिएका त्यस्ता कुराहरू जो मन तथा इन्द्रीयहरूद्वारा उपभोग गरिन्छ, त्यस्ता उपभोग्य कुनै पनि कुरामा कुनै पनि किसिमको आसक्ति वा चाख नहुने चित्तको वशीकार अवस्था अर्थात् चित्तको निरोध भएको त्यस्तो अवस्था जसमा विषयप्रति कुनै पनि किसिमको आसक्ति वा द्वेषको भावना नहुनु हो ।
जीवनमा ज्ञान प्राप्त गर्न वैराग्य नै प्रथम सर्त हो । कल्याण चाहने सबैलाई नै वैराग्य परम आवश्यक पर्छ । वैराग्यबेगर आध्यात्मिक ज्ञान त अझ सम्भव नै छैन । वैराग्यरहित ज्ञान केवल वाचिक र पुस्तकस्थ ज्ञानमात्रै हो । आध्यात्मिक ज्ञानले जीवनमा सुख, शान्ति र उन्नयनको प्राप्ति गराउने हुन्छ ।
हामी सबैले जीवनमा बेलाबेलामा वैराग्यको महसुस गर्ने गरेका हुन्छौं । यस्तो वैराग्य विशेष गरेर तीन खालको अवस्थामा हुने गर्छ । ती हुन्ः
‘पुराणान्ते श्मशानान्ते, मैथुनान्ते च या मतिः।
सा मतिःसर्वदा चेत् स्यात् को न मुच्येत बन्धनात्। ।’
आशय हो- पुराणकथा सुनेलगत्तै, श्मशानमा शवदाहलगत्तै र यौन क्रियालगत्तै मानिसमा जुन किसिमको विरक्तिको भावना आउँछ, त्यही भावना सधैं रहिरहने हो भने निर्वाण प्राप्त हुन्छ । तर, यी सबै वैराग्यका क्षणिक भावमात्रै हुन् । वैराग्यका यस्ताखाले अनुभूति तत्तत स्थानबाट निवृत्त हुनासाथ हराएर जाने हुन्छ ।
ग्रन्थान्तर, शास्त्रान्तर, सम्प्रदायान्तर आदिका भेदले वैराग्यका विविध स्वरूप पाइन्छ । यसरी वैराग्यलाई विविध प्रकारले व्याख्या गर्ने गरिएको पाइए पनि वैराग्यलाई बुझ्न सहज हुने हिसाबले वैराग्यका तीन प्रकारलाई यहाँ समेट्ने कोसिस गरिएको छ । ती हुन्ः
१) तीव्रतर वैराग्य : स्वर्गादि विविध लोकदेखि लिएर ब्रह्मासम्मको लोकको भोग गर्दा पनि दुःख नै छ भनेर त्यसप्रति कुनै पनि किसिमको भोग वा अभोगको इच्छा नहुनु नै तीव्रतर वैराग्य हो । यसलाई वीतराग पनि भन्न सकिन्छ ।
२) तीव्र वैराग्य : पृथ्वीका सबै भोग्य पदार्थको त्याग र अत्यागको अवस्था तर केही पारलौकिक भोगको इच्छा र अनिच्छा कायम रहेको अवस्थाको विवेकरुपी वैराग्य नै तीव्र वैराग्य हो ।
३) मन्द वैराग्य : प्रारब्धद्वारा जीवनमा दुःखसुखको भोग गर्दै त्यसबाट जो वैराग्य विवेक उत्पन्न हुन्छ, त्यो मन्द वैराग्य हो ।
समाजमा जति जति आध्यात्मिक चेतनाको कमी हुन जान्छ त्यति नै मात्रामा समाजले आफूलाई असुरक्षित ठान्ने गर्दछ र असुरक्षाको भयले गर्दा समाजले आफ्नो सुरक्षार्थ विविध शास्त्रको संग्रह गर्छ र आफूलाई सुरक्षित ठान्छ ।
जीवनमा ज्ञान प्राप्त गर्न वैराग्य नै प्रथम सर्त हो । कल्याण चाहने सबैलाई नै वैराग्यको परम आवश्यकता पर्दछ । वैराग्यबेगर आध्यात्मिक ज्ञान त अझ सम्भव नै छैन । वैराग्यरहित ज्ञान केवल वाचिक र पुस्तकस्थ ज्ञानमात्रै हो । आध्यात्मिक ज्ञानले जीवनमा सुख, शान्ति र उन्नयनको प्राप्ति गराउने हुन्छ । आजको विश्व समुदाय अशान्ति र मानसिक वेदनाले त्रस्त हुनुमा आध्यात्मिक ज्ञानमा पहुँच पुग्न नसक्नु नै हो अर्थात व्यक्तिगत स्वार्थ परम रूपले हावी हुँदा नै संसारमा अशान्तिले व्यापक रुप धारण गर्ने मौका पाएको हो ।
अध्यात्ममा जान नसक्दा आजको मान्छेले अनेक हतियारको संग्रहमा नै आफ्नो सारा पौरख खर्चेको छ । मान्छेमा यदि अध्यात्मको ज्ञान हुन्थ्यो भने विश्वमा शान्ति र अमनचयनको अवस्था स्वतः बन्ने थियो र मान्छेले आफ्नो अमूल्य समय शस्त्रको संग्रहमा व्यतित गर्नुपर्ने थिएन । समाजमा जति जति आध्यात्मिक चेतनाको कमी हुन जान्छ त्यति नै मात्रामा समाजले आफूलाई असुरक्षित ठान्ने गर्दछ र असुरक्षाको भयले गर्दा समाजले आफ्नो सुरक्षार्थ विविध शस्त्रको संग्रह गर्छ र आफूलाई सुरक्षित ठान्छ । किन्तु शस्त्रले मात्रै जीवनमा सुरक्षा र शान्तिको अनुभूति दिन नसक्ने कुरा अब सबैले भोगिसकेको कुरा हो । त्यसैले पनि जीवनमा वैराग्य आउनु आवश्यक छ र मान्छेमा वैराग्य हुनु स्वाभाविक पनि हो ।
वैराग्य एकदमै रहस्यको विषय हो भन्दा अत्युक्ति नहोला । चित्तको चञ्चल प्रवृत्तिलाई शान्त गराएर अत्यन्तै सहज रूपले सामान्य जीवन जिउनु पनि कठिन नै हुन्छ । यस्तो रहस्यले युक्त वैराग्यलाई धारण गर्नेले नै जीवनमा सुख शान्ति पाउने र ज्ञानको उदय पनि हुने हुन्छ । तर, भ्रम र विश्वास, यी दुई कुरा यस्ता हुन्, जसले मान्छेलाई सही निर्णयमा पुग्न सदैव बाधा गरिरहेको हुन्छ । कहिले भ्रम नै विश्वास बन्न पुग्छ भने कहिले विश्वास पनि भ्रम बन्न पुग्छ । उदासी र वैराग्यमा पनि त्यस्तैखाले अवस्था देखापर्ने गरेको पाइन्छ ।
समाजमा उदासी र वैरागी दुवैखाले व्यक्ति पाइन्छन् । परन्तु उदासीको अवस्थालाई नै वैराग्य मान्ने र वैराग्यलाई पनि उदासीको अवस्था ठान्नेहरू धेरै भेटिन्छन् । यथार्थमा हेर्ने हो भने उदासीले मनोरोगी बनाउँछ भने वैराग्यले जीवनमा तत्त्वबोधतर्फ अग्रसर गराउने हुन्छ । उदासीले केवल दुःखमात्रै दिन्छ भने वैराग्यले जीवनमा परमानन्दको अनुभूति दिने हुन्छ । संसारमा यस्तो खालको सुख रूपी वैराग्यको प्राप्ति मुख्य गरेर तीन प्रकारले हुनसक्ने देखिन्छ । ती हुन्ः
उदासीको अवस्थालाई नै वैराग्य मान्ने र वैराग्यलाई पनि उदासीको अवस्था ठान्नेहरू धेरै भेटिन्छन् । यथार्थमा हेर्ने हो भने उदासीले मनोरोगी बनाउँछ भने वैराग्यले जीवनमा तत्त्वबोधतर्फ अग्रसर गराउने हुन्छ । उदासीले केवल दुःखमात्रै दिन्छ भने वैराग्यले जीवनमा परमानन्दको अनुभूति दिने हुन्छ ।
१) भयबाट : सांसारिक भोग भोग्नाले जीवनमा दुःखको मात्रै प्राप्ति हुन्छ । दुःखबाट पुनः दुःखको नै प्राप्ति हुने हुन्छ । दुःखबाट सुखको कल्पना भनेको मरुभूमिमा जलासयको आशा गरे जस्तै हो । साथै सांसारिक भोग्य पदार्थको संग्रहमा पनि निकै दुःख छ । त्यस्तो दुःख गरेर प्राप्त भएको भोग्य पदार्थको भोगमा पनि दुःख त हुने नै भयो । यसरी सर्वत्र दुःख देखेर दुःखबाट प्राप्त हुने भयले गर्दा मनमा वैराग्य विवेकको उत्पत्ति हुन जान्छ ।
२) विचारबाट : इन्द्रीय तथा विषयको संयोगले गर्दा प्राप्त हुने सुख केवल क्षणिक हुने र त्यसले पनि अन्तमा दुःख नै दिने हुन्छ । सारा सांसारिक तथा असांसारिक भोग्य पदार्थहरू मन तथा इन्द्रीय र विषयको संयोगले गर्दा नै प्राप्त हुन्छ । सुख र दुःखमा समान रहेर सांसारिक तथा असांसारिक भोग्य पदार्थको त्याग गरेर स्थिर एवं शान्त रहने वैराग्य बुद्धि तत्तत् कुराको गम्भीर विचारबाट नै प्राप्त हुनसक्छ ।
३) साधनद्वारा : अन्धकारको समयमा एक दियोले जसरी अन्धकारमा मार्गदर्शन गराउने हुन्छ, यसबाट अन्धकार केवल अज्ञान हो र ज्ञान नै उज्यालो हो भन्ने विवेक उत्पत्ति हुन जान्छ । यसरी विवेकयुक्त वैराग्यको भावना साधनद्वारा नै प्राप्त हुन्छ । जस्तो रोगीहरू र मृतकहरूलाई देखेर गौतम बुद्धलाई वैराग्य भएको थियो । जस्तो आफ्ना बन्धुहरूको विनाश भएपछि राजा युधिष्ठिरलाई वैराग्य भएको थियो । सांसारिक जीवनमा धोका पाएपछि राजा भर्तृहरिलाई वैराग्य भएको थियो ।
भोगपछिको वैराग्य राजा भर्तृहरि र गौतम बुद्धलाई भएको थियो भने भोगअगावै शुकदेव, अष्टाबक्र, विवेकानन्द आदिलाई भएको थियो । वैराग्यपछिको भोग भने सच्चा वैरागीहरू कसैलाई पनि प्राप्त भएको देखिँदैन । त्यसैले भोगअघिको वैराग्य वा भोगपछिको वैराग्यले जीवनमा तात्विक फरक नपार्ने भएकाले र वैराग्यका लागि भोग नै प्रमुख साधन नभएकाले वैराग्यका लागि भोग अनिवार्य चाहिँ देखिँदैन । भोगपछिका वैरागी र भोगअघिकै वैरागी दुवैखाले व्यक्तित्वलाई संसारले देखेको छ ।
संसारले त्यस्ता धेरै व्यक्ति देखेको छ, जो सुरुमा भोगी भए र पछि महान वैरागी बनेर निस्किए । साथै त्यस्ता व्यक्तिलाई पनि देखेको छ, जो सुरुमा वैरागी भएर आध्यात्मिक क्षेत्रमा लागिरहेका बखतमा पनि मति बिग्रेर वा वैराग्य दृढ हुन नसकेर भोगमा आसक्त भएर निस्किए । राग-वैराग-राग र वैराग-राग-वैरागको अवस्थाबाट गुज्रेकाहरूका बारेमा संसार परिचित छ । यसैले गर्दा पनि हुनुपर्छ, अचेल सच्चा वैरागीहरू पाउन निकै मुस्किल हुँदै गएको छ ।
आसक्ति छाड्न सक्तैन मान्छे, किञ्चित चाहँदैन पनि । तर, वैराग्यको चाहना भने निकै गर्ने गर्छ । जहाँ जहाँ आसक्ति रहन्छ, त्यहाँ त्यहाँ मान्छेले सुख देख्छ । तर, वस्तुतः त्यहाँ कुनै पनि किसिमको सुख हुँदैन । आसक्ति नै दुःखको कारण हो भने आसक्तिको विफलतास्वरूप उत्पन्न हुने अनुभूति रूपी विवेक नै वैराग्य हो ।
पूर्वजन्मको प्रभाव भनौं वा अरू नै केही, कसैकसैमा बालापनदेखि नै वैराग्य रहेको पाइन्छ । परशुराम, शुकदेवदेखि शङ्कराचार्य, गोरखनाथ, नरहरिनाथसम्मका व्यक्तिहरू संसारले देखेको छ । तथापि सामान्यजनमा भने कसैले जीवन र जगतलाई हेरेर, कसैले पढेर, कसैले भोगेर वैराग्यको धारण गर्ने गरेको पाइन्छ । किन्तु अधिकतम मान्छेमा वैराग्यले स्थिर रूपमा प्रभाव जमाउन सकेको देखिँदैन ।
कामनाले आसक्तिको जन्म हुन्छ । आसक्ति पूरा हुन गएमा लोभ बढ्छ र लोभले पाप अर्थात दुःखको वृद्धि गराउँछ भने आसक्ति पूरा हुन नसक्दा क्रोध बढ्न जान्छ । क्रोधले बुद्धिको नाश गर्छ र बुद्धिको नाशले सर्वनाश हुन जान्छ । किन्तु वैराग्य नै त्यस्तो चिज हो, जसले केही नाश पनि गर्दैन र जीवनलाई पनि सुखी र सरल बनाउन मद्दत गर्ने हुन्छ । सारा बन्धनको मूल नै कामना हो । कामना/अकामनारहितको अवस्था नै वैराग्य हो ।
जहाँ जहाँ सुखको छायाँ देखिन्छ, त्यहाँ त्यहाँ दौडनु मानिसको स्वभाव नै हो । अँध्यारोमा रहेका बेला प्रकाशको अपेक्षा मान्छेको स्वाभाविक चाह हो । तर, मान्छेका इन्द्रीयहरू नै यस्ता छन् कि जो उज्यालो देख्नासाथ नै खुम्चन सुरु गर्छन् । आसक्ति छाड्न सक्तैन मान्छे, किञ्चित चाहँदैन पनि । तर, वैराग्यको चाहना भने निकै गर्ने गर्छ । जहाँ जहाँ आसक्ति रहन्छ, त्यहाँ त्यहाँ मान्छेले सुख देख्छ । तर, वस्तुतः त्यहाँ कुनै पनि किसिमको सुख हुँदैन । आसक्ति नै दुःखको कारण हो भने आसक्तिको विफलतास्वरूप उत्पन्न हुने अनुभूति रूपी विवेक नै वैराग्य हो । अनुभवको निखारले वैराग्य एक बलियो शस्त्र बन्न पुग्छ । जसले संसारको मोहको जालो तोड्न सक्ने सामर्थ्य राख्छ र मोह तथा शोकबाट निवृत्त भएर व्यक्तिले चरम सुखको अनुभूति गर्छ । वैराग्य नै संसारको सर्वाधिक शक्तिशाली हतियार हो भन्दा अत्युक्ति पनि नहोला । भनिएकै छ-
न रूपमस्येह तथोपलभ्यते नान्तो न चादिर्न च संप्रतिष्ठा ।
अश्वत्थमेनं सुविरूढमूलमसङ्गशस्त्रेण दृढेन छित्त्वा ।। (श्रीमद्भगवद्गीता १५/३)
भावार्थः रुपहीन, उपलब्ध पनि हुन नसक्ने, आदि र अन्त पनि नभएको र त्यसको बीचको अवस्था पनि उपलब्ध नभएको यस्तो दृढ जरा भएको पीपल रूपी संसार वृक्षलाई वैराग्य रूपी दृढ शस्त्रले नै काट्न सकिन्छ ।
संसार भयले आक्रान्त छ । युवावस्थालाई वृद्धताको भय छ । जीवनलाई मृत्युको भय छ । मानीलाई अपमानको भय छ । धनीलाई गरिबीको भय छ । सत्तामा हुनेलाई सत्ताच्युत हुने भय छ । संसारमा सबैतिर भयले नै आफ्नो व्यापक प्रभाव छाडेको पाइन्छ । सबै किसिमको भयबाट छुटकारा पाउन वैराग्य नै एक मुख्य शस्त्र हो । तर, वैराग्य कुनै पुस्तक पढेर, आलेख पढेर आउने चीज भने पक्कै होइन । वैराग्य त हृदयको केन्द्रबाट आउने चिज हो । विवेकको उच्च अवस्था नै वैराग्य हो । सारा शास्त्र र प्रकृतिले पनि वैराग्यको महत्त्व दर्शाइरहेको हुन्छ । तर, हामी त्यस्तो वैराग्यलाई सहज रूपले प्राप्त गर्न सकिरहेका छैनौं । वैराग्य धारण गरेर निष्काम कर्म गर्न सक्नुमा नै सच्चा वैराग्य छ ।
वैराग्यको उपलब्धि कसरी हुन सक्छ वा जीवनमा स्थिर खालको वैराग्य कसरी ल्याउन सकिन्छ र जीवनमा कसरी सुखी बन्न सकिन्छ भन्ने नै मुख्य कुरा हो । यस विषयमा श्रीमद्भगवद्गीतामा उल्लेख गरिएको पाइन्छ ।
अभ्यासेन तु कौन्तेय वैराग्येण छ गृह्यते । (गीता ६/३५)
अर्थात, हे अर्जुन ! अभ्यासले नै वैराग्यलाई ग्रहण गर्न सकिन्छ ।
जीवनमा वैराग्यका ससाना क्षणहरूलाई संग्रह गरेर त्यसलाई अभ्यासद्वारा नै स्थिर भाव दिन सकिन्छ ।
त्यस्तै ‘ध्यानयोगपरो नित्यं वैराग्यं समुपाश्रितास्’ (गीता १८/५२)
अर्थात, ध्यान र योगमा तत्पर व्यक्तिहरू सधैं वैराग्यको आश्रय लिने गर्छन् ।
संसार भयले आक्रान्त छ । युवावस्थालाई वृद्धताको भय छ । जीवनलाई मृत्युको भय छ । मानीलाई अपमानको भय छ । धनीलाई गरिबीको भय छ । सत्तामा हुनेलाई सत्ताच्युत हुने भय छ । संसारमा सबैतिर भयले नै आफ्नो व्यापक प्रभाव छाडेको पाइन्छ ।
ध्यान तथा योग गर्नाले जीवनमा मानसिक र शारीरिक उन्नयन हुनुका साथै यसले आध्यात्मिक जीवनमा पनि उन्नति गराउने हुन्छ भने त्यसको प्रमुख आधार पनि वैराग्य नै हो । यसर्थ सुखी जीवनमा वैराग्यको आवश्यकता रहेको बुझ्न सकिन्छ । उदासपन र वैराग्यपनको फरक बुझेर आफूलाई उदासी नबनाएर वैरागी बनाउन सक्दा जीवन सुखी रहन्छ । वैराग्यबाट नै मान्छे सुख र दुःख, लाभ र हानी, जय र पराजयमा पनि एकीभावले रहनसक्छ । यसपछि नै जीवनमा फलाशारहित कर्मको सुरुवात हुन सम्भव हुन्छ ।
यति हुँदाहुँदै पनि वैराग्यमा कहिलेकाहीं अहङ्कारको अवस्था सृजना हुने गर्छ । संसारको सबैभन्दा घातक अहङ्कार नै वैराग्यको अहंकार हो । म त वैरागी हुँ । मैले यति कुरा छाडें । मैले यति कुरा त्याग गरें । मैले यस्ता वासनाहरू त्याग गरेको छु । यस्ता कुराहरू नै वैराग्यका अहङ्कार हुन् । वैराग्यले अन्य सबै कुरा तोड्न सकिन्छ । परन्तु वैराग्यको अहङ्कारलाई वैराग्यले तोड्न सक्दैन । अति सूक्ष्म हुने भएकाले वैराग्यको अहङ्कारलाई तोड्न कठिन हुन्छ । वैराग्यको अहङ्कारलाई ध्वस्त नगरेसम्म तत्त्वबोध हुन सम्भव छैन । वैराग्यको अहङ्कारलाई परम ज्ञान वा शरणागतिले भने अवश्यै तोड्न सकिन्छ । वैराग्यको अहङ्कार ध्वस्त भएपश्चात संसारको भवसागरबाट सहजै उन्मुक्त रहने हुन्छ ।
जीवनमा परम सुखको एक नाम हो- वैराग्य । संसारमा सुखदायक कुनै चिज छ भने त्यो वैराग्य नै हो । तर, जबसम्म जीवनमा केही गरूँला र भरूँला भन्ने आसक्ति रहन्छ र केही बिग्रेला कि वा केही भत्किएला कि भन्ने भयको अवस्था कायम रहन्छ तबसम्म जीवनमा वैराग्यको उत्पत्ति हुन असम्भव छ । संसार अनित्य छ भनेर नबुझ्ने संसारमा सायद कोही नहोला ! तर, यो अवस्था बुझ्दाबुझ्दै पनि संसारलाई नित्य ठानेर केही गरूँला र भरूँलाको जिन्दगीमा एकोहोरो लागिरहनेहरूको कमी संसारमा छैन । क्षणिक वैराग्य त सबैलाई आउने गरेकै हुन्छ । परन्तु, हृदयको केन्द्रबाट वा भनौं विवेकको उदयद्वारा वैराग्यको उत्पत्ति हुनु र उक्त वैराग्य सुदृढ रहनु नै सच्चा वैराग्य हो भन्न सकिन्छ ।
हरेक वासनापछि मान्छेमा वैराग्यको उत्पत्ति हुन्छ । किन्तु त्यो संग्रहित भएर नरहने भएकाले मान्छेमा पुनः आसक्ति तथा वासनाले आफ्नो प्रभाव देखाउन सुरु गर्छ । मान्छेले ती वैराग्यका क्षणहरूलाई संग्रह गरेर राख्नसक्ने हो भने जीवनमा न दुःख रहन्छ न त रहन्छ कुनै बन्धन । वैराग्यको संग्रहित अवस्था नै बुद्धत्व हो । वैराग्यले नै ज्ञानको मुहानको सृजना गर्दछ र त्यही ज्ञानले नै जीवनका सबैखाले आदिदैविक, आदिभौतिक तथा आध्यात्मिक दुःखहरूबाट छुटकारा दिने हुन्छ । यथा समयमा वैराग्यको उदय हुनु मान्छेमा शोभनीय हुन्छ भने वैराग्यवान व्यक्ति नै संसारको सबैभन्दा उत्कृष्ट र सुखी व्यक्ति हो ।
तर, जब राज्यसत्ता अपात्रहरू वा जनताले नपत्याएकाहरूको हातमा पुग्छ तब त्यो देशका अधिकतम युवाहरूमा वैराग्यको भावना जागृत हुन पुग्छ । यस्तोखाले वैराग्यबाट बच्न र जीवनको ऊर्जाशील क्षणको उपयोग गर्न हुनेखानेहरू समृद्ध देशतर्फ पलायन हुन्छन् भने मध्यम वर्गहरू विकासशील देशतिर पुग्छन् । त्यस्तै गरी निम्न वर्गका मान्छेहरू भाग्यको आश्रयमा पिल्सिएरै जीवन बिताउन बाध्य हुने हुन्छन् । उमेर, देश र शास्त्रअनुकूलको वैराग्यको भावना व्यक्तिमा जागृत हुन सकेमा समग्ररूपेण सबैको भलो हुने र सबै सुखी हुने थिए ।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःख भाग्भवेत् ।।
ॐ शान्तिः शान्तिः शान्तिः !!