प्रभावकारी बन्दै भर्चुअल बहस, उच्च अदालत दिपायलमा ४९२ मुद्दामा बहस पैरवी
डोटी । उच्च अदालत दिपायलमा श्रव्यदृष्य सम्वाद (भर्चुअल) विधिबाट ४९२ मुद्दामा बहस भएको छ । २०७८ चैत ५ गतेबाट भर्चुअल विधिबाट बहस थालिएको मुख्य न्यायाधीश नृपध्वज निरौलाले जानकारी दिए । यो विधि प्रभावकारी देखिएको उनले बताए ।
भर्चुअल विधिबाट विभिन्न जिल्लाका ४९ जना कानून व्यवसायीहरूले बहस पैरवी गरेका छन् । ४२ विशेषज्ञलगायतको बकपत्रसमेत यही विधिबाट भेटिएको छ ।
अदालतको वार्षिक समीक्षा कार्यक्रममा मुख्य न्यायाधीश निरौलाले भर्चुअल बहसका कारण अदालतको वार्षिक लक्ष्य प्राप्तीमा सहज भएको बताए । भर्चुअल विधिबाट बहस सुरू भएदेखि हालसम्म सो एक हजार ७० थान मुद्दामा निवेदन परेको छ ।
भर्चुअल हेयरिङ्ग उपकरण उच्च अदालत दिपायलका मातहतका सबै अदालतहरूमा जडान गरिएको छ । यो प्रविधिबाट लामो दूरी यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने मुद्दाका पक्षहरूको समेत समय र स्रोतको बचत भएको निरौला बताउँछन् ।
उच्च अदालत दिपायलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको विवरण पनि सार्वजनिक गरेको छ। अदालतले एक हजार ३ सय २४ मुद्दा दर्ता हुने अनुमान गरी त्यसमध्येका ९०३ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा एक हजार २५६ मुद्दा दर्ता हुँदा ९२० मुद्दा फर्छ्यौट गरेको छ । अनुमान गरिएको मुद्दाको ६८ प्रतिशत फर्छ्यौट गर्ने लक्ष्य राखिएकोमा दर्ता भएकाको ७३.२४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।
गत आर्थिक वर्षसम्म दर्ता भएका जम्मा मुद्दामा फर्छ्यौट हुन बाँकी तीन सय २६ मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका छन् । गत आर्थिक वर्ष यो संख्या ४८१ थियो ।
डोटी अदालत सुदूरपश्चिम प्रदेशमै पहिलो
सुदूरपश्चिम प्रदेशभरका ९ अदालतमध्ये मुद्दा फर्छ्यौट गर्नेमा डोटी जिल्ला अदालत अगाडि देखिएको छ । डोटी जिल्ला अदालतले आर्थिक वर्ष २०७९/८० मा ९०.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जानकारी दिएको छ ।
न्यायाधीश शिवलाल पाण्डेयले वार्षिक अनुमानभन्दा बढी मुद्दा फर्छ्यौट गरेको बताए । गत आर्थिक वर्षमा १७० मुद्दा दर्ता भएकोमा १५४ वटा फर्छ्यौट भएका छन् भने १६ वटा चालू आर्थिक वर्षको लागि जिम्मेवारी सरेर आएका छन् । जिल्ला अदालत डोटीमा १८ महिना र २ वर्ष पुराना मुद्दाको संख्या शून्य रहेको छ ।
डोटीपछि बैतडीमा ८१.२२ प्रतिशत, डडेल्धुरामा ७७.४१ प्रतिशत, दार्चुलामा ७६.१५ प्रतिशत र ७३.२४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । यस्तै, अछाम जिल्ला अदालतले ७१.६७ प्रतिशत, बझाङले ७०.२५ प्रतिशत, बाजुराले ६६.६६ प्रतिशत, कैलालीले ५५.१५ प्रतिशत र कञ्चनपुर जिल्ला अदालतले ५२ प्रतिशत मुद्दा फछ्र्यौछ गरेको बार्षिक समीक्षा गोष्ठीमा जानकारी गराइयो ।