नेकपा एसको सचिवालय बैठकले महाधिवेशनको मिति तोक्ने तयारी
काठमाडौं । शुक्रवारदेखि जारी नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज सकिँदै छ।
कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा आज अध्यक्ष माधव नेपालले नेताहरूले उठाएका प्रश्नमा जवाफ दिइरहेका छन्।
अध्यक्षले जवाफ दिइसकेपछि कार्यसूचीमा छलफल गरेर बैठकलाई आजै टुङ्ग्याउने तयारी रहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
बैठकमा निर्वाचन समीक्षा, गठबन्धन, समाजवादी मोर्चा, सरकारको कामको समीक्षालगायत समसामयिक विषयमा नेताहरूले आआफ्नो धारणा राखेका छन्। आज सबै विषयलाई समेटेर अध्यक्ष नेपालले जवाफ दिँदैछन्।
बैठकमा फागुनभित्रमा महाधिवेशन गर्न नेताहरूले सुझाव दिएका छन्।
यस्तै, बैठकले नेताहरूको कार्य विभाजन, कमिटी समायोजन तथा थपघट, विभागका कामको व्यवस्थापन, सरकार र संसद्लाई प्रभावकारिता बनाउने विषय, कमिटीको वरियता, महाधिवेशन र पार्टी कमिटीका बैठकहरूको विषयमा पनि आवश्यक निर्णय गर्नेछ।