केरुङ जाने चालकले पाएनन् प्रवेश पास, पास नदिए काम नगर्ने चेतावनी – Nepal Press

केरुङ जाने चालकले पाएनन् प्रवेश पास, पास नदिए काम नगर्ने चेतावनी

टिमुरे-केरुङ २४ किलोमिटर बाटोमा १५ हजार बुझाउनु पर्ने

काठमाडाैं । रसुवागढी नाका हुँदै चीनको केरुङबाट नेपालमा सामान ढुवानी गर्ने ट्रक कन्टेनरका चालक तथा सहचालकहरूलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

लकडाउनका कारण बन्द रहेको रसुवा नाका गत पुसदेखि सुचारु भएको थियो । तरपनि चालक तथा सहचालकहरूलाई चीन प्रवेश अनुमति पत्र अहिलेसम्म दिइएको छैन ।

रसुवागढी नाकाबाट रसुवावासी प्रवेश अनुमति भएका व्यक्तिलाई कन्टेनर सुम्पिएर केरुङ पठाउनु पर्दा समस्या उत्पन्न भएको भन्दै मजदुर तथा व्यवसायीहरूले मजदुरहरूलाई प्रवेश अनुमति पत्र उपलब्ध गराउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो ।

गृह मन्त्रालय अध्यागमन महाशाखाले रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र सम्बन्धी कार्यविधि २०७६ जारी गर्दै चार प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरेकाले सोही कार्यविधि अनुरूप मजदुरहरूलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न आग्रह गरेको छ ।

उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमति पत्र, कामदार प्रवेश अनुमति पत्र, व्यवसायी प्रवेश अनुमति पत्र, एक दिने प्रवेश अनुमति पत्रको व्यवस्था गरेको छ । जसअनुरूप चालक, सहचालक तथा व्यवसायीहरूलाई प्रवेश अनुमति पत्र उपलब्ध गराउन आग्रह गरिएको मजदुर व्यवसायीको प्रतिनिधि मण्डलका प्रमुख नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले बताए ।

राईका अनुसार यसअघि रसुवा स्थित अध्यागमन प्रमुख, भन्सार प्रमुख, प्रमुख जिल्ला अधिकारी, गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष रसुवाका सुरक्षा प्रमुखलाई भेटेर ध्यानाकर्षण गराइएको थियो ।

अध्यागमन विभागले रसुवावासीलाई दिइने पास मात्रै उपलब्ध गराइरहेकाले काठमाडाैंबाट १५५ किलोमिटर जीर्ण र जोखिमपूर्ण सडक पार गरेर टिमुरे पुगेका कन्टेनरका चालक तथा व्यवसायीहरूले रसुवा जिल्लावासी प्रवेश पत्र भएका चालकलाई महँगो पैसा दिएर केरुङ पठाउनु परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए ।

सापकोटाले भने ‘रसुवागढीबाट २४ किलोमिटर दुरीमा रहेको केरुङसम्म जान आउन रसुवावासी प्रवेश पत्रधारीलाई १५ हजार प्रति ट्रिप बुझाउनु पर्ने अवस्था छ यस्तो बेथिति र सिण्डिकेट अन्त्य गर्दै चालकहरूलाई चीनको केरुङसम्म जाने प्रवेश अनुमति पत्रको व्यवस्था गर्न आग्रह गरेका हौँ ।’

९६५ ट्रक कन्टेनरका मजदुर तथा व्यवसायीहरू यो समस्याबाट पीडित छौँ समस्याको समाधान नभए सम्पूर्ण मजदुर व्यवसायीहरू आफ्नो काम रोक्न बाध्य हुनुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको ट्रक इकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताए ।

उनले भने ‘गैर मजदुरलाई लाखौँको ट्रक जिम्मा लगाएर चीन पठाउँदा चीनमै कन्टेनर अलपत्र छाडिदिने, दुर्घटना गराइदिने, सामानहरू हराइदिने तथा अवैध सामानहरू ओसारपसार गर्ने गरेकाले समस्या उत्पन्न भएको छ यस्ता गलत कार्य तत्काल रोक्न अपिल गर्दछौँ ।’

नाकामा देखिएको समस्याहरू श्रमिक तथा व्यवसायीहरूको मात्रै समस्या होइन । देशकै समस्या हो । यो समस्याहरू तत्काल समाधान नभए चरणबद्ध सडक आन्दोलनमा उत्रन बाध्य हुने अध्यक्ष श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर