रुसी फौजमा जोडिएका नेपाली युवा भन्छन्- यहाँ भारतीय र पाकिस्तानी पनि छन्
काठमाडौं । रुसी रास्ट्रपति भ्लादिमिर पुटिनले सन २०२३ मे १६ (२०८० जेठ २) मा एक कानून प्रमाणीकरण गरे । उक्त कानुनमा विदेशी नागरिकहरूलाई एक वर्ष रुसी फौजमा काम गरेपछि नागरिकता दिनेलगायतका प्रावधान छन् । यही कानूनमा टेकेर धेरै नेपाली युवा अहिले रुसी फौजमा जोडिएका छन् ।
गत जेठ २८ गते नेपाल प्रेसले रुसी फौजमा नेपाली जोडिएको तथ्य आम सञ्चारमाध्यमबाट पहिलोपटक सार्वजनिक गरेको थियो । रुसी फौजमा जोडिएका दुई युवासँग कुराकानीको आधारमा त्यो तथ्य बाहिर निकालिएको थियो । मस्कोस्थित नेपाली दूतावासदेखि काठमाडौंस्थित रुसी दूतावासका अधिकारीहरूसँग कुरा गरेर तयार गरिएको उक्त सामग्रीमा अप्रत्यक्ष रुपमा नेपाली युवा रुसी फौजमा भएको स्वीकार गरेका थिए ।
अहिले यो मुद्दाले नेपाली सदनदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत ठाउँ पाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पररास्ट्र सल्लाहकार अरुण सुवेदीले रुसी फौजमा गएकाहरूको नागरिकता खोस्नुपर्छ भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि यस अगाडि नेपाल प्रेससँग कुरा गरेका युवाहरूले आफ्नो सम्पर्क नम्बर बन्द गरेर कुराकानी गर्न अस्वीकार गरेका छन् ।
तर, कोशी प्रदेशकै एक नवप्रवेशी युवा नेपाल प्रेससँग कुरा गर्न तयार भए । हाल स्वाथ्य जाँच गरेर पहिलो चरणको फायरिङको तालिम गर्न क्याम्पमा रहेका युवासँग नेपाल प्रेसले रुसी फौजमा नेपाली भर्तीको कथा, वाग्नर समूहको हल्ला र यथार्थदेखि रुसी फौजमा लान चलेको नेपाली दलाली बजारलगायतका विषयमा गरिएको कुराकानी नेपाल टकमा :
– तपाईँ रुसी फौजमा कसरी जोडिनु भयो ?
म यहाँ पढ्नलाई केही वर्षअगाडि आएको हो । व्याचलर्स गर्दागर्दै केही समयअगाडि भिसाको म्याद सकियो । त्यसै क्रममा म रुसी फौजमा जोडिएँ । मेडिकल पास भएँ । पास भएपछि अहिले तालिम लिन क्याम्पमा छु ।
– मेडिकल पास भएपछि भन्नुभयो । कस्तो कुरा हुँदा मेडिकल फेल हुन्छ ? नेपालीहरू मेडिकल फेल भएर अस्वीकार गरिएका उदाहरण छन् ?
गम्भीर खालको रोग हुनु भएन । यौन रोगहरू हुनु भएन । दुर्व्यसनी प्रयोगकर्ता हुनु भएन । एकजना नेपाली साथी पहिले दुर्व्यसनी प्रयोग गर्ने गरेको देखियो । ऊ प्रवेश हुन पाएन । म चाहीँ मेडिकल पास भएर यहाँ आएको हो ।
– मेडिकल गर्दा र अरु प्रोसेस गर्दा पैसा लाग्छ कि लाग्दैन ?
लाग्दैन । मेडिकल पास भए हुन्छ । केही लाग्दैन । तालिम एकदेखि तीन महिनाको हुन्छ । कतिले त एक महिनामा पनि लान्छ भन्छन् । भर्ना भएको छ महिनामा पन्ध्र दिनको बिदा दिन्छ भन्छ ।
– तपाईँ त रुसमै पढ्दै हुनुहुन्थ्यो । सजिलो भयो । अरु नेपालीहरू भिजिट भिसामा पनि गइरहेका छन् । नेपालीहरू कुन-कुन रुटबाट रुस पगिरहेका छन् ?
विद्यार्थीहरू त यतैबाट जाने हो । नेपालीहरू नेपालबाट पनि आइरहेका छन् । उनीहरू भिजिट भिसामा आइरहेका छन् । मलेसिया, कुवेत, कतार देखी युएइमा भएका नेपालीहरू पनि आइरहेका छन् । उनीहरूले अरबकै बाटो प्रयोग गरेर आउने गरेका छन् । भिजिट भिसामा आइरहेका छन् । सबै विद्यार्थीहरू रुसी सेनामा भर्ना चैँ हुँदैनन् । पढ्नेहरू छन् ।
– रुसी फौजमा भर्ती हुन अहिले रुसका धेरै अपार्टमेन्टहरूमा विज्ञापन गरिएका देखिन्छन् । नेपालीहरू रुसी फौजमा पुग्न पैसा के कत्ति तिरिरहेका छन् ?
रुसमै हुने भर्ती गर्ने एजेन्सीबाट जानेहरूलाई पैसा लाग्दैन । सबै उनीहरूले व्यवस्था गर्छन् । नेपालबाट जाँदाको सबै टिकट, भिसा, इमिग्रेसनदेखि सबै खर्च उनीहरूले नै दिन्छन् । त्यस्ता एजेन्सीबाट आउँदा मस्को एयरपोर्टबाट सीधै मेडिकल जाँचमा गाडीले लान्छ । पास हुँदा तालिममा जाने हो । फेल हुँदा फर्किने हो । नेपालबाट दलालको माध्यमबाट आउनेहरूले भने छ लाखसम्म तिरेर आएका भेटेको छु । दलालबाट आउँदा गाह्रो छ । पैसा धेरै खर्च हुन्छ ।
– तपाईँहरूको तालिम कहाँ भइरहेको छ ?
अहिले म भएको क्षेत्र चैँ मस्कोनजिकै हो । सायद मस्कोबाट २०० किलोमिटर आसपास हुनुपर्छ । हामी क्लोज क्याम्पमा छौं ।
– तपाईँ रुसमै पढेकोले केही रुसी भाषा पनि पक्कै आउँछ । तपाईँको बुझाइमा अहिले नेपालीहरू कुन कुन क्षेत्रमा छन् ?
नेपालीहरू कोही मजस्तै तालिममा छन् । यो पहिलो चरण हो । यहाँ हाम्रो समूह हुन्छ । यहाँ तालिम हुँदा कल आउँछ । दिनको दुई-तीनजना अर्को चरणमा जान्छन् । दुइ-तीनजना यहाँ आउँछन् । नेपालीहरू कोही मजस्तै पहिलो तालिममा छन् । यहाँ फायरिङ गर्नदेखि ड्रोन चलाउन सिकाउँछ । यहाँ हतियारहरू राम्रो छन् । मिडियामा आएको जस्तो रुसका हतियार सकिए भन्ने कुरा हल्ला मात्रै हो । राम्राराम्रा हतियारहरू छन् । तालिम दिँदा रुसीमा दिन्छन् । अंग्रेजी अनुवाद गर्ने हुन्छन् । नेपालीहरू कोही मेडिकल दिँदैछन् । कोही मजस्तै पहिलो तालिममा । कोही युद्धमा गएर आएका छन् । अस्ति एकजना साथी चैँ युक्रेनको युद्धमै गएर आएको सुने । केही बेलारुस नजिकै पनि गएका छन् ।
रुसले दिने सेवा सुविधा चैँ कस्तो हुन्छ ?
मेरो महिनाको ९० हजार रुबल हो । पछि भत्ता पनि हुन्छ । रेड जोन भन्ने युद्ध क्षेत्रमा खटिँदा एक दिनको नेपाली १७/१८ हजार रूपैयाँसम्म भत्ता हुन्छ ।
– रुसमा नेपालीहरू वाग्नरमा गएको समाचार नेपाल, भारत र केही विदेशी मिडियाहरूले प्रकाशन गरेका छन् । त्यो सत्य हो ?
होइन । वाग्नर त अहिले डिस्पोज भइसकेको छ । वाग्नर भनेको सबै कैदिबन्दीहरूको सेना हो । वाग्नरको प्रमुख आफैँ जेलमा बसेर आएको हो । एकजना नेपाली पनि वाग्नरमा छैन । वाग्नरमा नेपालीहरू पुगेको कुरा सबै हल्ला हो । वाग्नर त सिरियामा पनि लडेको रैछ ।
– अहिलेसम्म कोही नेपालीको युद्धमा हताहती भएका छन् कि छैनन् ?
मैले थाहा पाएसम्म त्यस्तो अहिलेसम्म भएको छैन । नेपालीहरूलाई युद्ध मैदानमा भन्दा धेरै चैँ क्याम्प सुरक्षामा खटाएको छ । युद्धमा त्यस्तो पठाएको छैन । नेपालीहरूको युद्धकला बारेमा चैँ रुसीहरूले भिडिओहरू हेरेर जानकारी पाएका रैछन् । राम्रो गर्छन् । मान्छन् ।
– तपाइँहरू रुसी फौजमा गएको जानकारी मस्कोको नेपाली दूतावासलाई छ ?
सायद छैन ।
– नेपालीहरूलाई मात्रै भेला गरेर तालिम दिन्छ कि अरु देशकाहरू पनि हुन्छन् ?
अरु देशका पनि हुन्छन् । रुस वरिपरिको देशहरूका छन् । अफ्रिकाका छन् । सुडानका छन् । कंगोका छन् । एसियाका छन् । धेरै देशका छन् । नेपालीहरूको छुट्टै भन्ने छैन । पहिले पहिले धेरै नेपालीहरू आउँथे । कहिले कम छन् । दिनको दुई/चारजनानको दरले आइरहेका हुन्छन् ।
– नेपालबाहेक दक्षिण एसियाली क्षेत्र सार्कका कुन-कुन देशका मान्छेहरू रुसी फौजमा छन् अहिले ?
नेपालका सबैभन्दा धेरै छौं । अफगानिस्तानका छन् । यहाँ भारतीय र पाकिस्तानीहरू पनि छन् । नेपाली, भारतीय र पाकिस्तानी हुँदा आफ्नो भाषा बोल्दा अर्कोले बुझ्ने हुन्छ । भारतीय केही दिनअगाडि मात्रै अर्को तालिममा गए ।
– नेपालीहरूले रुसी फौजमा गएको कुरा भिडिओहरू टिकटकमा राखिरहेका छन् । भारतीय र पाकिस्तानीहरूले राखेका छैनन् । यसो गर्न मिल्छ ?
सुरू-सुरूमा त खुकुलो थियो । अहिले कडाइ गरेको छ । केही समयअगाडि टिकटक चलाएको आधारमै ट्रयाक गरेर युक्रेनले ड्रोन हान्दा ४० जना मरेका थिए । नेपालीहरू त परेनन् । अहिले जंगल युद्धकला पुग्दा त मोबाइल बन्द नै हुन्छ । क्लोज क्याम्पमा पनि भिडिओ खिच्न दिँदैन । नेपालीहरू जस्तो भारतीय र पाकिस्तानीहरू सामाजिक सञ्जालमा आउँदैनन् ।
– अहिले नेपालीहरू रुसी फौजमा गएको चर्चा नेपालमा धेरै छ । नेपालीहरू त रुसी फौजबाहेक फ्रान्स र अमेरिकी आर्मिमा पनि गएका छन् । यो चर्चामा के भन्नुहुन्छ ?
मैले त नेपालीहरू रोमानियाको फौजमा पनि गएको सुनेको छु । नेपाल सरकारले राम्रो रोजगार दिन नसकेरै यस्तो भएको हो । देशमा हुँदा एक खालको फ्रस्टेसन भएर पनि यस्तो भएको छ । यसलाई खराब रूपमा लिनु हुन्न ।
– तपाईँले चैँ यस अगाडि कुनै सैन्य प्रवेशमा प्रयास गर्नुभएको थियो कि थिएन ?
मैले सिंगापुर प्रहरीमा प्रयास गरेको थिए । भएन र छोडेँ ।
– युद्ध भएको देशमा फौजी भएर बस्नुभएको छ ? यो जोखिम होइन ?
युद्ध भएको छ । थाहा छ । आइसकेपछि अब सानो मन बनाएर हुँदैन ।