म्यानमारमा अनलाइन स्क्यामको काममा पुगेका ६ जना चरम यातना भोग्दै सात महिनामा फर्किए नेपाल – Nepal Press

म्यानमारमा अनलाइन स्क्यामको काममा पुगेका ६ जना चरम यातना भोग्दै सात महिनामा फर्किए नेपाल

एक वर्षमा विभिन्न मुलुकबाट २५० जनाको उद्धार

काठमाडौं । मेलम्चीका ३० वर्षीय अनिल नेपाल (नाम परिवर्तन)को निजी क्षेत्रको राम्रै संस्थामा जागिर थियो । पद पनि ठूलै थियो । तर, नेपालमा काम गरेर आउने आम्दानीमा आत्मसन्तुष्टि नभएपछि उनले सात महिनाअघि वैदेशिक रोजगारीका लागि म्यानमार जाने निधो गरे ।

नेपालबाट म्यानमार आउने जाने गरेकी एक जना युवतीसँग उनको सामान्य चिनजान थियो । ती युवतीले नेपालबाट म्यानमारको राम्रो कम्पनीमा कामदार पठाउने गरेको बताउँथिन् । उक्त युवतीसँग कुराकानी बढ्दै गयो । कुराकानीकै क्रममा युवतीले नेपाललाई वैदेशिक रोजगारीका लागि म्यानमारको राम्रो कम्पनीमा काम लगाइदिने प्रस्ताव राखिन् ।

‘कम्प्युटर, अंग्रेजी भाषा र आईटीसम्बन्धी मलार्ई राम्रो ज्ञान थियो । दक्षता र योग्यताअनुसार मासिक एक हजार डलर तलब, दैनिक चार छाक खाना, लत्ताकपडा र बस्ने व्यवस्था कम्पनीकै जिम्मा भनेपछि म यहाँको जागिर छोडेर विदेश जान तयार भएँ’, नेपालले भने ।

त्यसपछि उनले विदेश जाने प्रक्रिया अघि बढाए । सन् २०२२ सेप्टेम्बरमा उनको भिसा लाग्यो । सुरुमा उनलाई विजनेस भिसामा पठाउने भनिएको थियो । तर, उनको भिसा भने ७२ दिनको भिजिटमा आयो ।

भिसा आइसकेपछि नेपाललाई भारतको बाटो हुँदै म्यानमार पुर्‍याइने भनियो । सोहीअनुसार उनी सन् २०२२ सेप्टेम्बर १५ मा नेपालबाट कोलकाता उडे । सुरुमा उनको नेपालबाट कोलकाताको फ्लाइट थियो । कोलकाताबाट फेरि थाइल्याण्डको लागि टिकट थियो । एजेन्टले कोलकातामा थाइल्याण्ड उड्ने टिकटबाहेक अरु डकुमेन्ट नदेखाउनु भनेका थिए । सोहीअनुसार उनी थाइल्याण्ड पुगे र त्यहाँबाट पनि म्यानमार उडे ।

नेपालबाट उनलाई जे कामका लागि भनेर पठाइएको थियो, त्यो काम आफूलाई नगराइएको उनले बताए । ‘यहाँबाट कम्प्युटरमा टाइपिङ गर्ने काम भनेर पठाइएको थियो । तर, त्यहाँ अनलाइन स्क्याम गरी ठगीका काम गर्न लगाइयो । उक्त काम गर्न नमान्दा चिनियाँहरुले शारीरिक यातना दिए’, उनले भने, ‘त्यसपछि त्यहाँको अवस्थाबारे परिवारलाई बताएँ र नेपाल झिकाउन आग्रह गरें । ठूलो संघर्षपछि नेपाल आएर बाँचियो ।’

म्यानमार पुगेपछि के भएको थियो ? उनकै शब्दमा:

‘म म्यानमार पुगेपछि मलाई रिसिभ गर्न एउटा गाडी लिएर चिनियाँहरु एयरपोर्ट पुगे । त्यहाँबाट आर्मीको ब्यारेकमा लगियो । जहाँ चिनियाँहरुको एउटा समूह थियो । त्यो नै मैले काम गर्ने ठाउँ रहेछ । म त्यो ठाउँ पुग्दा ४०-५० जना अरु नेपाली पनि थिए । एक हप्ता मलाई त्यहाँ काम सिकाइयो । त्यसपछि एक थान आइफोन, एक थान ल्यापटप र केही थान अमेरिकी सिम दिएको थियो । जसबाट म्यान्मारबाहेकका देश अमेरिका, युरोपलगायत आसपासका देशका धनाढ्य व्यक्तिहरुसँग फेक प्रोफाइल बनाउँदै उनीहरुसँग पैसा लिनुपर्थ्यो । काम सुरु गरेको दुई महिनासम्म समयमै पैसा र सुविधा पनि पाएका थियौं । दुई महिनासम्म घरमा पैसा पनि पठाएँ । म जस्तै अन्य नेपाली कामदारलाई पनि सुरुमा राम्रै गरेको थियो ।

कम्पनीमा कोटा पुर्‍याउने भन्दै नेपालबाट अरु कामदार मगायो । ७२ दिनको भिसाको म्याद सकिएपछि हामीलाई बन्धक बनाएर राखियो । फोन चलाउनसमेत बन्देज थियो । दिनमा दुई घण्टामात्रै फोन चलाउन पाइन्थ्यो । त्यति समयमा कहाँ कोसँग कुरा गर्नु ? कोटा पुगेपछि तलब नदिने तथा विभिन्न किसिमका यातना दिन थाल्यो । कुटपिट गर्ने, हातखुट्टा बाँधेर राख्ने, तातो घाममा राखिदिने, तातो ढुङ्गामा हिँड्न लगाउने, शरीरका विभिन्न भागमा करेन्ट लगाउने जस्ता असह्य यातना दिने गर्थ्यो । बर्दिबासका एक जना भाइलाई करेन्ट लगाउँदा उसको ढाडमा गहिरो समस्या पुगेको छ । पूर्ण अशक्त भएका छन् । धेरै साथीहरुको अवस्था दर्दनाक छ । मसँग हाम्रै परिवारभित्रका ६ जना म्यानमारमा थियौं ।

यातना सहन नसकेपछि उद्धारको व्यवस्था गर्न मैले भाइलाई आग्रह गरें । जुलाई १३ मा हामी म्यानमारको एयरपोर्ट पुगौं । जुलाई १३ मा हाम्रो फ्लाइट थियो । तर, ‘ओभर स्टे चार्ज’ तिर्न नसकेपछि दुई जना त्यही रोकिनुपर्‍यो । ४ जना १३ जुलाईमा नेपाल उत्रियौं । बाँकी दुई जनाको दुई दिनपछि चार्ज तिरेर १६ जुलाईमा नेपाल आउन सफल भइयो ।

म्यानमार जान नेपालले एक लाख २५ हजार रुपैयाँ खर्च गरेका थिए । तर, उनलाई उद्धार गर्दा म्यानमारलाई ६ हजार डलर (नेपाली आठ लाख) तिरेको उनका भाइ पुष्कर नेपाल (नाम परिवर्तन)ले बताए । त्यस्तै टिकट र अन्य खर्च गरी ६ जनाको उद्धार गर्दा प्रतिव्यक्ति १४ लाख रुपैयाँ खर्च भएको उनी बताउँछन् ।

उनीहरुको उद्धारका लागि पुष्करले मानव बेचबिखन अनुसन्धान व्युरोको सहयोग लिएका थिए । व्युरोले उक्त घटनामा एक जना चिनियाँ र एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । व्युरोका प्रवक्ता तथा एसपी कृष्ण पंगेनीका अनुसार नेपालबाट चिनियाँ र नेपाली नागरिकको मिलेमतोमा म्यानमारमा राम्रो कमाइ हुने गरी काम लगाइदिने भन्दै अनलाइन स्क्यामको काममा पठाउने गरेका छन् ।

‘म्यानमारमा नेपाली कामदार लगिसकेपछि अमेरिकीलाई टार्गेट गरी नेपालीहरुलाई च्याट गर्न लगाउने र उताबाट आएको रकम क्रिप्टोमा लगाउने गरेको पाइएको छ’, प्रवक्ता पंगेनीले भने ।

उनका अनुसार म्यानमार, थाइल्याण्ड, लाओस, भियतनामलगायतका देशमा स्क्यामिङ गर्ने काममा भारतीय, चिनियाँ, नेपालीलगायतका कामदारलाई लगाउने गरेको पाइएको छ । उक्त काम गर्न नसके कामदारलाई विभिन्न किसिमका यातना दिने गरेको पाइएको उनले बताए ।

हाल व्युरोमा १३ जनाको उद्धारका लागि निवेदन परेको छ । चार जनाले जाहेरी दिएका छन् भने केही जाहेरी दिने तयारीमा रही प्रहरीको सम्पर्कमा रहेको उनले बताए ।

एक वर्षमा विभिन्न मुलुकबाट २५० जनाको उद्धार

मानव बेचविखन अनुसन्धान व्युरोले एक वर्षमा रोजगारका लागि विभिन्न मुलुकमा पुगेका र जाने तयारीमा रहेका २५१ नेपाली कामदारको उद्धार गरेको छ । व्युरोका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी ६३ जनालाई भारतबाट उद्धार गरेको छ ।

त्यस्तै क्रमशः कुवेतबाट ३१, नेपालबाट ७, ओमनबाट १८, इराकबाट ९, यूएईबाट ८, कम्बोडियाबाट १, म्यानमारबाट ३, सिरियाबाट २, लाओसबाट ३, चीनबाट १ र अन्य देशबाट ६ जनाको उद्धार गरेको छ ।

त्यसैगरी व्युरोले अवैध तरिकाबाट अमेरिका पुगेका ५ जना पुरुषलाई गत वर्ष नेपाल फर्काएको छ । विगत पाँच वर्षयता अमेरिकाबाट १७६ जनालाई नेपाल फर्काइएको छ ।

व्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ४५ पुरुष, २०७६/६६ मा ८१ पुरुष र २ महिला, २०७७/०७८ मा २८ पुरुष र २ महिला तथा २०७८/७९ मा १३ जना पुरुषलाई अमेरिकाबाट फर्किएका छन् ।

चार हजार बढीलाई विमानस्थलबाटै फर्काइयो

गत एक वर्षमा विदेश जान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार हजार बढी नेपालीलाई व्युरोले विमानस्थलबाट फर्काएको छ ।

मानव बेचविखन तथा ओसारपासारको जोखिममा पर्नसक्ने भन्दै ४ हजार ४७९ जनालाई विमानस्थलबाट फर्काइएको व्युरोका प्रवक्ता पंगेनीले बताए । त्यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि ६ महिला र २८ पुरुष गरी ३४ जनालाई फर्काउन व्युरो सफल भएको छ ।

उनका अनुसार वैशाखदेखि असारसम्ममा मात्रै १ हजार ४३ जनालाई परामर्श गरी फर्काइएको छ । विमानस्थलबाट फर्काइएकामध्ये अधिकांश महिला रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर