एक वर्षमा विदेशी चलचित्रले नेपालबाट लगे झण्डै ८० करोड, कुनको कमाइ कति ? (सूची)
काठमाडौं । चलचत्रि विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा देशभित्र प्रदर्शन भएका चलचित्रहरुको बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टअनुसार एक वर्षमा ५७ वटा स्वदेशी र ७९ वटा विदेशी चलचित्र रिलिज भएका थिए ।
नेपाली चलचित्रको भन्दा विदेशी चलचित्रको व्यापार बढी देखिएको छ । नेपाली चलचित्रले कुल ७६ करोड ७२ लाख ५७ हजार एक रुपैयाँ कलेक्सन गर्दा विदेशी चलचित्रले ७९ करोड ४३ लाख ४ हजार ७४८ रुपैयाँ ७० पैसा नेपाली बजारबाट लगेका छन् ।
गत वर्ष नेपालमा सबैभन्दा बढी कमाउने विदेशी चलचित्र रहेको छ पठान । शाहरुख खान अभिनित यो चलचित्रले १३ करोड २८ लाख ८ सय १० रुपैयाँ कलेक्सन गरेको बोर्डले जनाएको छ । सो चलचित्रका ४ लाख ३७ हजार ५८५ टिकट विक्री भएका थिए ।
दोस्रो स्थामा छ हलिउड चलचित्र अवतारः द वे अफ वाटर । यो चलचित्रका २ लाख ६८ जहार ९३१ टिकट विक्री हुँदा ८ करोड ३० लाख भन्दा बढीको व्यापार गरेको छ । तेस्रो, चौंथो र पाचौं स्थानमा क्रमशः ब्रम्हास्त्र, दृष्यम २ र उँचाईं रहेका छन् । ब्रम्हास्त्रले ४ करोड ४७ लाख, दृष्यम २ ले ३ करोड ४७ लाख र उचाईंले २ करोड ९४ लाखभन्दा बढीको व्यापार गरेका छन् ।
कन्नड भाषाको फिल्म कन्तराले पनि नेपालमा राम्रो व्यापार गर्न सफल भयो । यो चलचित्रका ८३ हजार ७७४ टिकट विक्री हुँदा २ करोड ४७ लाख भन्दा बढी कलेक्सन गरेको थियो ।
सलमान खानको फिल्म ‘किसी कि भाइ किसी की जान’ ले नेपालमा २ करोड २८ लाखभन्दा बढी कमायो । यस चलचित्रका ७८ हजार ३१० टिकट विक्री भएका थिए ।
अमेरिकी सुपरहिरो फिल्म ब्ल्याक प्यान्थरः वाकान्दा फरएभरले २ करोड १९ लाख भन्दा बढीको व्यापार गरेको छ । काठमाडौं महानगरपालिकामा रोक लागेको दक्षिण भारतीय चलचित्र आदिपुरुषले करिब दुई करोड कमाइ गरेको छ । सो चलचित्रका ५९ हजार ६५६ वटा टिकटहरु विक्री भए । आमिर खानको बलिउड फिल्म लाल सिंह चड्डा दसौं स्थानमा रहेको छ । यो चलचित्रले नेपालबाट एक करोड ७२ लाख रुपैयाँ कमाइ गर्यो ।
अहिले प्रदर्शनमा रहेको हलिउड चलचित्र ‘मिसन इम्पोसिबल–डेड रकनिङ पार्ट १ ले ६७ लाखभन्दा बढीको व्यापार गरिसकेको छ । अर्को चर्चित हलिउड फिल्म अवतारले करिब ५१ लाख रुपैयाँ कमाएको थियो ।