केन्द्रको निर्देशन बेवास्ता गर्दै हाजिर गराउन रोकेपछि धनगढीमा चर्कियाे स्वास्थ्य कर्मचारीकाे आन्दोलन – Nepal Press

केन्द्रको निर्देशन बेवास्ता गर्दै हाजिर गराउन रोकेपछि धनगढीमा चर्कियाे स्वास्थ्य कर्मचारीकाे आन्दोलन

कैलाली । धनगढी उपमहानगरपालिकाले स्वास्थ्य कर्मचारीलाई हाजिर लगाउन रोक लगाएपछि आन्दोलन चर्किएको छ । ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकिएपछि आन्दोलन सुरु भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन । त्यसको विरोधमा बिहीबार चौथो दिन धर्ना दिइएको छ ।

दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी भएको भन्दै उपमहानगरपालिकाले समायोजन मिलान भएका ३३ जना स्वास्थ्यकर्मीहरूको हाजिरी रोकेको छ । तर, १६ जनाको दरबन्दी रहेकोमा अहिले २३ जना स्वास्थ्यकर्मीहरूलाई कार्य क्षेत्रमा खटाएको छ । जुन कूल दरबन्दीभन्दा सात जना बढी हो ।

स्वास्थ्यकर्मीहरू भन्छन्, ‘दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी राखिएको छ तर, हामी केही समायोजन र समायोजन मिलान भएर २०७५ सालदेखि कार्यरत स्वास्थ्यकर्मीहरूलाई हाजिरी लगाउन दिएको छैनन्। यो सरासर अन्याय र विभेद हो ।’

कर्मचारीहरूको धर्नामा स्वास्थ्यकर्मी संघ, विभिन्न कर्मचारी संघ संगठन, धनगढी उपमहानगरपालिकाका केही वडाध्यक्षले समर्थन गरिरहेका छन् ।

तर, प्रमुख उपप्रमुखले चासो नदिएको उनीहरुको गुनासो छ । पालिकाले शान्तिपूर्ण आन्दोलनमा चासो नदिए कडा आन्दोलन गर्ने तयारी भइरहेको निजामती कर्मचारी संघ कैलालीका अध्यक्ष खेमराज जोशीले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्र आइसकेपछि समेत कर्मचारीहरूलाई हाजिर गर्न नदिएपछि उनले प्रमुख जिल्ला अधिकारमार्फत प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराइएको समेत बताए ।

‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई उपमहानगरपालिकाले चासो दिएको छैन अझै यस्तै भए हामी काम ठप्प पार्ने सम्मको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुन्छौं’, उनले भने, ‘सरकारले हाजिर गराउन दिनु भनेको निर्देशन पनि यहाँ कार्यान्वयन भएको छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *