२१ वर्षदेखि कार्टुन बनाइरहेका रवीन्द्र मानन्धर
काठमाडौं । एउटा कार्टुन छ, जहाँ बिजमान्डु लेखिएको ठूलो ट्रकभित्र पहिलो पोस्ट लोखिएको सानो ट्रक पसिरहेको छ । ट्रकको छेवैको सडक किनारमा पातलो ज्यान भएको चस्मावाल पुरुषले ‘टाटा’ गरिरहेका छन् । सँगै लेखिएको छ-
‘थ्यांक्स फर द लिफ्ट, ह्याभ अ नाइस जर्नी !’
केही दिनअघि मात्रै कार्टुनिस्ट रवीन्द्र मानन्धरले आफ्नै कार्टुन बनाए । राजनीतिक, सामाजिक विसंगतिमाथि कार्टुनका माध्यमबाट व्यंग्य वाण हान्ने रवीन्द्रले बनाएको कार्टुनमा भने भावनाको उछाल थियो ।
अनलाइन पत्रिका पहिलो पोस्ट डटकम र बिजमाण्डु डटकम मर्ज भयो । दुई अनलाइन पत्रिका मर्ज हुँदा सबै पत्रकार, कर्मचारी पनि बिजमाण्डुमा समाहित भए । तर, मानन्धरको बाटो भने त्यहीबाट मोडियो । पहिलो पोस्टमा लामो समयदेखि कार्टुन लेखिरहेका मानन्धर बिजमाण्डु गएनन् । आफूले अलग बाटो पक्रिएको खबर उनले कार्टुनबाटै सम्प्रेषित गरे ।
मानन्धर २९ वर्षदेखि कार्टुनकारितामा सक्रिय छन् । कार्टुनिस्ट बनेरै गरिखान्छु भनेर रत्तिभर नसोचेका मानन्धर त्यसवेला कक्षा ९ पढ्दै थिए । एक दिन स्कुलका शिक्षकले उनलाई कार्टुन बनाउन अह्राए । मानन्धरले माने । बनाए । शिक्षकलाई बुझाए ।
पछि पो थाहा पाए, मानन्धरको उक्त कार्टुन त शिक्षकले कामना म्यागजिनमा छपाइदिएछन् ।
म्यागजिनले मानन्धरको कार्टुन मनपरायो । अरु कार्टुन बनाए छापिदिने पनि बतायो । मानन्धरले पनि लगातार नौ वटासम्म बनाए । रहरैरहरमा रमाइलोका कार्टुन बनाएका मानन्धरले पारिश्रमिकस्वरुप ७२० रुपैयाँ पाए ।
‘वर्षको एकपटक कार्टुन छापिँदा खुशी हुन्थें । तर, पारिश्रमिक नै पाएपछि त अहो ! भइहालें’, मानन्धर पहिलो कमाइबारे सुनाउँछन् ।
भारतीय कमिक्सहरु जम्मा गरेर घरका मान्छेले थाहा नपाउने गरी लुकीलुकी चित्र बनाउन सिकेका मानन्धरको चित्रकारिताले कामना म्यागजिनमा स्पेस पाएपछि फक्रने अवसर पायो । उनको चित्रकलाको पहिलो गुरु कमिक्सहरुका कार्टुनहरु थिए । जसलाई हुबहु उतार्थे । आमाले दराजभित्र राखेका स-साना फोटोहरु आमाको आँखा छलेर कापीमा उतार्थे ।
२०५२ सालमा एसएलसी दिएर साइन्स पढ्न त्रिचन्द्र क्याम्पस छिरेका मानन्धर कार्टुनमार्फत् कलाको दुनियाँमा हामफालिसकेका थिए । तर, साइन्स पढ्नुको औचित्य चाहिँ के थियो त ?
मानन्धर हाँस्दै सुनाउँछन्, ‘एसएलसीमा विशिष्ट श्रेणीमा पास भएको थिएँ । विशिष्ट श्रेणीमा पास हुनेले साइन्स पढ्नुपर्छ भन्ने बुझाइ थियो । अनि पढियो ।’
मान्छेहरु डाक्टर, इञ्जिनियर, पाइलट हुनलाई साइन्स पढ्थे । तर, मानन्धरलाई भने कार्टुनिस्ट बन्न साइन्स पढे जस्तो भइदियो । कलेजको कोर्स बुकले साइन्सतिर डोर्याउँथ्यो, मानन्धरको अन्तरआत्माले कलातिर । अन्ततः उनको अन्तरआत्माकै जीत भयो ।
कलेजका दिनहरुमा कोर्समा ध्यान कम, कार्टुनमा बढी लगाउन थाले । लोकल पत्रिकाहरु उनका कार्टुनहरुले सुसज्जित हुन्थे । त्यसमा थप हौसला थियो, कलेजका विद्यार्थीहरुमाझ परिचित हुँदै जानु । कार्टुनका कारण आफ्नो परिचयको आयाम फैलँदै गएपछि त्यसले पनि मानन्धरमा थप ऊर्जा भर्दै गयो ।
साइन्स पढेर प्रयोगशाला छिर्नुपर्ने मान्छे कार्टुन बनाएर ग्यालरीतिर प्रवेश गर्न थाले । मानन्धरको कार्टुनको यात्रा नेपाल एकेडेमीसम्मै पुग्यो । एक दिन बिरामी भएर ओछ्यानमा पल्टिरहेका थिए । उनलाई फोन आयो, ‘तपाईंले पठाउनुभएको कार्टुन दोस्रो भएको छ । पुरस्कार लिन आउनुहोला ।’
अब त झनै केका डाक्टर ? केका इन्जिनियर ? त्योभन्दा ठूलो भइदियो मानन्धरलाई एकेडेमीको पुरस्कार । पातलो ज्यानका मानन्धर मुस्कुराउँदै बोल्छन्, ‘त्यो फोन आएपछि त मेरो बिरामी नै निको भए जस्तो भइदियो । ओछ्यानबाट बुरुक्क उफ्रेर नाचेको थिएँ । त्यो फोनको आवाज अहिलेसम्म पनि मेरो कानमा गुञ्जिरहेको छ ।’
मानन्धर साइन्स पढेपछि पाइने सम्पूर्ण अवसरका ढोकाहरुमा चुकुल लगाएर कार्टुन कोर्न नेपाल साप्ताहिक छिरे २०५९ सालमा । त्यो पनि जागिरेको रुपमा ।
अहिले २१ वर्ष भयो मानन्धरले जागिरे बनेर कार्टुन बनाउन सुरु गरेको । यो बीचमा कति धेरै कार्टुन बनाए, उनैलाई थाहा छैन । तर, कार्टुनको माध्यमबाट समाज र राजनीतिको विसंगतिमाथि निरन्तर व्यंग्य गरिरहेका छन् ।
मानन्धरले दुई वर्षअघि एउटा कार्टुन बनाएका थिए । उक्त ब्ल्याक एण्ड ह्वाइट कार्टुनमा जंगल विनाश गरेर मान्छेहरुले शहर खडा गरेका छन् । शहरको छेउछाउमा रुखका ठुटाहरु शिवाय केही छैनन् ।
एक रुखको ठुटोमा अक्सिजनको सिलिण्डर राखिएको छ र फेदमा एक व्यक्ति अक्सिजनको मास्क लगाएर पछुताउँदै ‘आईएम सरी’ भनिरहेका छन् । यो कार्टुन त्यसवेला आएको थियो, जतिवेला राजधानीका अस्पतालहरुमा अक्सिजन नभएर हाहाकार भएको थियो । गम्भीर बिरामीहरु अक्सिजन नपाएपछि अस्पतालको शय्यामा छटपटिइरहेका थिए ।
यस्ता सयौं कार्टुनहरु सृजना गरिसकेका मानन्धरको प्रष्टोक्ति छ, ‘पत्रकारिताको सानो हिस्साको रुपमा रहेको कार्टुनले पत्रिकाभरि छरिएका शब्दहरुमा प्राण भर्ने काम गर्छ । पत्रिका होस् या अनलाइन, शब्दहरुभन्दा चित्रले पाठकलाई सबैभन्दा पहिला खिच्ने गर्छ । त्यसैले पनि पत्रकारितामा कार्टुनको विशेष अर्थ हुन्छ ।’
उनी हिजो पनि कार्टुन बनाउँथे । आज पनि कार्टुन बनाउँछन् । भोलि पनि बनाइरहनेछन् । तर, हिजो र आजका कार्टुनमा भने त्यस्तो फरक महसुस गर्दैनन् । अहिले प्रविधिको प्रयोगले धेरै कुरामा सहज भए पनि कार्टुनमा चाहिने ह्युमर सधैं उस्तै भइरहने मानन्धरको विश्लेषण छ । वश, समसामयिक घटनाक्रमलाई नयाँ कोणबाट हेर्न सक्ने तीक्ष्णता भए पुग्यो ।
– एउटा कार्टुनिस्टले आफूले सोचेको सबै कुरा एउटा कार्टुनमा ढाल्नसक्छ ?
सक्दैन । धर्म, जाति, लिंगलगायत संवेदनशील कुराहरुलाई कार्टुन बनाउँदै गर्दा ख्याल गर्नुपर्ने हुन्छ । कार्टुन पत्रकारिताको एउटा हिस्सा भएकाले यसका पनि केही दायराहरु हुन्छन् । त्यसमा कार्टुनिस्ट सचेत हुनैपर्छ ।
अहिले प्रविधिले दुनियाँलाई साँघुरोमात्रै बनाएको छैन, प्रतिस्पर्धा पनि उत्तिकै बढाएको छ । सँगै उत्ति नै चाँडो पनि काम गर्नुपर्ने हुन्छ । पछिल्लो समय कार्टुनिस्टले पनि समयसँगै दौडने क्रममा हतार गर्ने गरेका छन् । यसरी हतारमा कार्टुन बनाउनु चाहिँ निकै चुनौतीपूर्ण हुने मानन्धरको ठम्याइ छ । बरु विषयको गम्भीरतालाई ख्याल गरेर आरामले बनाउँदा त्यसले दीर्घकालसम्म असर गरिरहन्छ । भनिन्छ नि, सृजनाको कुनै आयु हुँदैन ।
कविले लेख्ने कविता, चित्रकारले कोर्ने चित्रमा पोख्ने भावना सबैले बुझ्नैपर्छ भन्ने हुँदैन । तर, कार्टुनमा भने आममानिस सबैले बुझ्ने सरल र सरस रुपमा भाव झल्काउनुपर्छ । आफैंसँग घटित घटना र भावनाको परिणामस्वरुप कहिलेकाहीं अकस्मात फुर्यो भने कार्टुन बनाउन मजा आउँछ । तर, तिनलाई सार्वजनिक गर्नैपर्छ भन्ने पनि हुँदैन । व्यवसायिक रुपमा कार्टुन बनाउँदा भने एउटा समय सीमा हुन्छ । त्यस्तो वेला कार्टुनकै बारेमा सोचिँदो रहेछ । कहिले त कार्टुन फुर्नलाई घण्टौं लाग्छ । नफुरेसम्म छुट्टै तनाव हुन्छ । फुरिहाल्यो भने हाइसन्चो हुन्छ । राम्रोसँग बनाइसकेपछि गज्जबको आनन्द हुन्छ ।
– नेपालमा कार्टुन बनाएर जीविको चल्छ त ?
नेपालको सन्दर्भमा कार्टुन बनाएर मात्रै पुग्ने आय हुँदैन । चर्चित कार्टुनिस्टहरु नै यहाँ जीविकोपार्जनका लागि अरु पेशा गर्छन् । भर्खर उठ्न खोजेका कार्टुनिस्टलाई सकभर फ्रिमा काम गराउँछन् । विदशेतिर त एउटै उत्कृष्ट कार्टुन बनाउँदा त्यसको रिप्रिन्ट गर्दासमेत पारिश्रमिक पाइन्छ ।