कांग्रेस बैठकमा प्रश्न- सुन तस्करीमा गृहमन्त्री र माओवादी नेता संलग्न छन्, राजीनामा माग्नु पर्दैन ? (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको भन्दै कांग्रेसका केही नेता भने आफ्नै पार्टीलाई खुइल्याउन हिँडेको आरोप लगाएका छन् ।
केन्द्रीय कार्य समिति बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले बालकृष्ण खाणलाई पक्राउ गरेकोमा गृहमन्त्रीलाई धन्यवाद दिन जाने कांग्रेस केन्द्रीय सदस्यहरूले नारायणकाजी र महराको विरोध गर्ने आँट नदेखाएको बताए ।
एक महिनामा २९ पटक एयरपोर्टबाट सुन भित्रिएको भन्दै बस्नेतले गृहमन्त्रीको राजीनामा माग्न जाने कि नजाने ? भन्ने प्रश्न गरे । बस्नेतले कांग्रेसभित्र कांग्रेसलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै अन्य दलका नेताहरूका गल्ती औंल्याउने क्षमता नदेखिएको बताए ।
बस्नेतले भने, ‘सुन काण्डमा नारायणकाजीको नाम आयो, महराको नाम आयो । केपी ओलीको पनि नाम आएको छ । अब उहाँको राजीनामा माग्न जाने कि नजाने ? आफ्नो पार्टीको नेताको नाम आउँदा जाने, अनि अहिले नजाने ?
कांग्रेस रुपान्तरण अभियानका मधु आचार्य, गुरु घिमिरेलगायतका नेताहरूले नक्कली शरणार्थी प्रकरणको छानबिनका क्रममा गृहमन्त्रीलाई भेटेर धन्यवाद दिएकोमा कांग्रेस बैठकमा संस्थापन पक्षका नेताहरूले तीव्र विरोध गरिरहेका छन् ।