ओरेन्टलका बचतकर्ताले साउन १६ देखि रकम फिर्ता पाउने
काठमाडौं । ओरेन्टल सहकारीमा एक लाखभन्दा कम बचत भएकाहरूलाई साउन १६ देखि रकम फिर्ता गरिने भएको छ ।
समयाग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेन्टल सहकारीमा एक लाखभन्दा कम बचत भएका ५२८ बचतकर्तालाई साउन १५ गतेसम्म प्रमाणसहित मागदाबी पेश गर्न आव्हान गरेको छ ।
समितिका सदस्यसचिव केशव पौडेलका अनुसार साउन १५ गतेसम्म आउने निवेदनअनुसार १६ गतेबाटै भुक्तानी प्रक्रिया अघि बढाइनेछ ।
सरकारले ओरेन्टललाई २०७९ असोज ७ गते दोस्रो पटक समस्याग्रस्त घोषणा गरेको थियो । उक्त घोषणा प्रक्रिया गलत भएको भन्दै अध्यक्ष बस्नेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । बस्नेतले तत्कालीन सहकारीमन्त्री, सचिव, सहकारी विभागका रजिष्ट्रारविरुद्ध मुद्दा दायर गरेका थिए । बस्नेतकै मुद्दाका कारण समितिले ओरेन्टलसम्बन्धी कुनै पनि काम अघि बढाउन सकेको थिएन ।
घरजग्गा व्यवसायीसमेत रहेका बस्नेतले बचतकर्ताको रकम जग्गामा लगानी गरेका थिए । ओरेन्टललाई पहिलो पटक २०७४ कात्तिकमा समस्याग्रस्त घोषणा गरिएको थियो । गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको समस्याग्रस्त सहकारी जाँचबुझ आयोगको अध्ययनका क्रममा ओरेन्टलविरुद्ध १२ हजार ९६२ वटा उजुरी दर्ता भएका थिए । विभिन्न सहकारीहरूमा परेको दाबी रकमको करिब ६० प्रतिशत रकम ओरेन्टल सहकारीका अध्यक्ष बस्नेतले भुक्तान गर्नुपर्ने त्यतिबेलाको अध्ययनले देखाएको थियो ।
ओरेन्टलबाट निक्षेपकर्ता, अपार्टमेन्ट बुकिङकर्ता, शेयर सदस्य तथा अन्य साहु गरी सात हजार ५४६ जना पीडित रहेको भनिए पनि अहिले ४ हजार ३०० बचतकर्तामा झरेको छ । जसको दायित्व साढे ६ अर्ब रुपैयाँ रहेको छ । भने एक लाखभन्दा कम बचत भएका ५२८ बचतकर्ता रहेका छन् ।
निवेदन कहाँ दिने उल्लेख भएकाे भए राम्राे ।