सडकले उखेलिँदै वरपिपल- विकासले कतै विनाश त ल्याउँदैन ? – Nepal Press

सडकले उखेलिँदै वरपिपल- विकासले कतै विनाश त ल्याउँदैन ?

चितवन । भरतपुर महानगरपालिका- २२ धनौजी चोकमा करिब ५० वर्ष अघिदेखि एउटा पिपल निरन्तर उभिइरहेको थियो । जसको शितलता आफूले थाहा पाएदेखि नै स्थानीय अपिल घिमिरेले महसुस गरेका थिए ।

घर अगाडि रहेको पिपलको ठूलो बोटमा बिहान घाम झुल्किएदेखि साँझसम्म चराचुरुङ्गीको चिरबिर आवाजले संगीतमय बन्थ्यो चोक । दिउँसो चर्को घाममा घरबाट फुत्त निस्किएर दिन कटाउन बात गर्थे गाउँका ज्येष्ठ सदस्यहरु ।

गत जेठको अन्तिम साता बाटो विस्तार र ढल निर्माणको योजना कार्यान्वयन गर्न वडा कार्यालयबाट खटिएका कर्मचारीहरु पुगे । ५ मिटरको सडक विस्तार गरी ९ मिटर पुर्‍याउने र सडक छेउको दुवैतर्फ ढल निर्माण गर्न इन्जिनियरसहितको टोली पुगेको थियो । पिपलको रुखको ७५ सेन्टिमिटर भाग ढल निर्माण गर्ने क्षेत्रमा पर्‍यो ।

सडक बनाउन पुगेका मानिसहरुले रुखै ढाल्नुपर्ने मत राखे । आफ्नै घरअघि भएको पिपलको रुख जसले आफूले जान्ने भएदेखि यसवर्षसम्मको ४७ डिग्रीको चर्को घाममा समेत शितल महसुस गरेका थिए शितलता संरक्षण अभियन्ता रहेका अपिल घिमिरेले । यो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको छेउमै पर्छ । स्थानीय आदिवासी थारु समुदायले पिपलको छहारीमा सुस्ताउन चौतारो बनाएको थियो ।

अपिलले पिपल जोगाएर रुखको भागमा परेको क्षेत्र आफ्नो जमिनबाट कटाउन अनुरोध गरे, पिपल जोगाउन अनुनय गरे । तर, नमिल्ने भन्दै पिपल ढाल्नैपर्ने अड्डी वडाध्यक्षसहित सडक बनाउने मानिसहरुले लिएपछि उनको केही लागेन ।

जेठ अन्तिम सातादेखि त्यो पिपल स्मृतिमा मात्रै रहेको छ । अघिल्लो दिनसम्म बिहान उठेर पानी चढाउन पुग्ने पिपल ढल्ने भएपछि भावुक भए अपिल । उनले पिपल वृक्षसँग माफी मागे । अन्ततः एक्साभेटरले जरैसहित रुख ढाल्यो । सँगै ढल्यो ५० वर्ष बढीको एउटा इतिहास बोकेको पिपल ।

जेठ अन्तिम सातादेखि अपिलको घरअघिको दृश्य उराठलाग्दो बनेको छ । आज घर अघि झ्याम्म फैलिएको पिपल छैन । चराचुरुङ्गीका संगीत पनि बन्द भए । बुढापाका लौरी टेक्दै मुस्कुराउँदै चौतारोमा दिन बिताउने ठाउँ छैन ।

अपिल भन्छन्, ‘एउटा पिपलकाे बोटमात्रै होइन, हाम्रो आस्था, निकुञ्जदेखिका चराका वासस्थान, गाउँका ज्येष्ठ सदस्यहरु छहारीमा सुस्ताउँदै हितैसीसँग बातचित गरी एक्लोपन हटाउने चौतारो एकैपटक ढल्यो ।’

भरतपुर महानगरपालिकाको प्रोफाइल २०७८ अनुसार महानगरको १ देखि २९ वटा वडासम्म करिब एक सय वरपिपलका चौतारो, २५ वटा पाटीपौवा छन् । तर,यहाँ सडक, ढल विस्तारका नाममा यहाँका पाटीपौवा, चौतारो ढालिँदै आएको छ । संख्या घटेर कति पुग्यो यकिन तथ्यांक अहिले महानगरसँग छैन ।

गत शनिबार काटिएको भरतपुरको वडा नम्बर ४ र ७ को सिमानामा पर्ने पिपलबोट अर्को उदाहरण हो । वडा नम्बर २२ मा पिपल काटी चौतारो मासिएको महिना दिन नबित्दै भरतपुर ४ का बासिन्दाले बाटोमा अँध्यारो भएको र दुर्घटनाको जोखिम देखाएर पिपलको बोटै ठुन्क्याए । ठुटो पिपलको अगाडि लेखिएको ‘पिपलचोक’ बोर्ड गिज्याएझैँ देखिन्छ अहिले ।

जसलाई निमिट्यान्न पार्न टोलका स्थानीयमात्रै होइन आफ्नो सीमाभित्र नै नपर्ने ठाउँको पिपल काट्न ४ नम्बर वडाको नेतृत्वले नै स्वीकृति दियो । पिपलको बोट वडा नम्बर ७ क्षेत्रमा पर्छ । वडा नम्बर ४ का वडाध्यक्ष अर्पण पोखरेल आफूले पिपलको बोट ढाल्न अनुमति दिएको स्वीकार गर्छन् ।

पोखरेल भन्छन्, ‘बाटो साँघुरो भएको र दुर्घटनाको जोखिम भएकोले पिपल काट्ने सहमति दिएको हुँ ।’

करिब ६० वर्षभन्दा अघि शशिधर कँडेलले पिपल लगाएर त्यसलाई चौतारो बनाएपछि उक्त ठाउँको नाम नै पिपलबोट रहन गएको थियो । भरतपुर- ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले भन्छन्, ‘मसहित बसेर अलिअलि हाँगाहरु काँटछाँट गरौं भनेको थिएँ । तर, म काठमाडौं गएको मौकामा बोटै ढालेछन् ।’

उनले स्वीकृति नलिइ पिपल काट्नेहरुलाई कार्यालय बोलाएर स्पष्टीकरण लिने बताए ।

महानगरले २०७८ सालमा अभिलेख राखेको १०० वटा पिपलबोटमध्ये धेरै रुख काटिएका छन् । वडा नम्वर ९ गौरीगञ्ज र ४ नम्वर वडाको लंकुमा पनि अहिले पिपल छैन ।

वरपिपल आम नेपाली समाजको सामाजिक संस्कृतिको विम्ब झल्किने ठाउँ हो । त्यसैले त हाम्रा कतिपय लोकभाकाहरुमा समेत चौतारीले दिने शितलताको बयान पाइन्छ । तर, शहरीकरणको विकाससँगै न्यायको छिनोफानो स्थल चौतारोको ठाउँ अदालतले लियो ।

अदालत नगइ गाउँमै मिलाउने साँधसंधियार, सामान्य भनाभनलगायतका छिमेकबीचका असमझदारीहरु पनि गाउँका चौतारोको छलफलबाट टुंगिन्थे । एकअर्काको मन माझामाझ गर्ने र अपनत्व बढाउने थलो पनि थियो चौतारो । बटुवाहरु भारी रोकेर सुस्ताउने थलो थियो चौतारो ।

अहिले आम मानिसमा विकासको बढ्दो लोभ, एकलकाँटे व्यवहार बढ्दै जाँदा चौतारोको अस्तित्व संकटमा पर्न थालेको छ । आफ्ना साधनमा हुइँकिएर घरदेखि मुकामसम्म पुग्न पाइने भएकोले अहिले वरपिपल छेउ सुस्ताउने बटुवा छैनन् । वरपिपलका ५०-१०० वर्षको इतिहास मेटाउन स्थानीय तहमा निर्वाचित अगुवाहरु नै अगाडि देखिएका छन् ।

वन तथा माटो संरक्षण विभागका उपमहानिर्देशक नवराज पुडासैनी वन कार्यालयदेखि मन्त्रालय, हुँदै विभागसम्मले जनप्रतिनिधिलाई वरपिपलको महत्व बुझाउन नसकेको स्वीकार गर्छन् ।

विकासका नाममा वरपिपल चौतारो मास्ने प्रवृत्तिको स्थानीयस्तरमा केही युवाहरुले विरोध त गरेका छन् । तर, यी विरोध संस्थागत छैनन्, मसिना सुनिन्छन् । चितवनको अनियन्त्रित चौतारो मास्ने प्रवृत्तिको स्थानीय युवा अभियन्ता सागर कार्कीले सामाजिक सञ्जालमा लेखेर नै विरोध जनाएका थिए ।

‘अनावश्यक हाँगालाई ट्रिम गरी हुर्कन दिने हो भने यी पिपल थुप्रै जीवन र मृत्युको साक्षी हुनसक्छ’, वातावरण संरक्षणको क्षेत्रमा सक्रिय कार्की भन्छन्, ‘तर, चितवनमा यस्ता इतिहास बोकेका रुखहरु पुराना र बुढा भएको भन्दै जरैसमेत उखेलेर फालिएका छन् ।’

शितलता दिनेमात्रै होइन आयुर्वेदमा पिपलका पात, फल र बोक्रासमेतमा औषधीय गुण भएकाले यसलाई चिकित्सा पद्धतिमै ठूलो महत्वका साथ लिइएको पाइन्छ । यसलाई आधुनिक चिकित्सा विज्ञानले समेत पुष्टि गरिसकेको छ । सन् २०२२ मा ड्रग डेलिभरी एण्ड थेरापेटियस नामक जर्नलमा प्रकाशित फिकल रिलिजियोसाः अ बेनिफिकल मेडिकल प्लान्ट अर्थात् ‘पिपलः एक बहु उपयोगी औषधीय विरुवा’ अनुसन्धान प्रतिवेदनले समेत यसको बहुऔषधीय गुणलाई पुष्टि गरेको छ ।

नेपालका प्रत्यक्ष सरोकार राख्ने तहमा बस्नेहरुले पनि यसको बहुउपयोगिता बुझेका छन् । तर, कानूनी व्यवस्थाबाट संघीय सरकारको तहबाटै वरपिपल काट्ने र चौतारो मास्ने काम रोक्न सकिएको छैन ।

वन तथा माटो संरक्षण विभागका उपमहानिर्देशक नवराज पुडासैनीका अनुसार मानिससँग नजिक बस्न रुचाउने चराहरुको बासस्थान चौतारो थियो भन्छन् । अझ बसाइँ सरेर आउने जाने चराहरुले त आहारा संकलन गरेर राख्ने थलोको रुपमा वरपिपलका बोटहरुलाई उपयोग गर्थे । उनी भन्छन्, ‘बसाइ सर्ने र मानिससँग नजिक बस्न रुचाउने चराहरुको बासस्थान संकटमा पर्ने अवस्था आउन सक्छ ।’

चोकचोकमा रोपिएका वरपिपलमा बहुऔषधीय गुणदेखि वातावरणसँगै माटो जोगाउने क्षमता हुने गरेको छ । तर, यसको वातावरणीय योगदानबारे कुनै पनि आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनमा उल्लेख हुँदैन ।

भरतपुर महानगरपालिकालाई विकासमा अघि भएको र सडकदेखि भौतिक पूर्वाधार निर्माणसम्मको चर्चा पटकपटक गरिन्छ । महानगरलाई वातावरणमैत्री महानगर घोषणा गर्न कार्यविधिसमेत बनाइएको छ । तर, भरतपुर महानगरपालिका वातावरणमैत्री वडा घोषणा कार्यविधि २०८० मा राखिएका सूचकमा चोकका वरपिपल चौतारो संरक्षण गर्ने भन्ने कतै उल्लेख छैन ।

केही स्थानीय तहले वातावरण संरक्षणको लागि भनेर वृक्षारोपणलगायतका अभियान चलाए पनि वर्षौंको इतिहास बोकेका चौतारीका वरपिपल भने संरक्षण गर्नुको साटो मास्दै गएका छन् ।

गण्डकी प्रदेशले वर, पिपल र शमी चौतारो संरक्षण गर्ने भनेर २०७५ सालमा ऐन नै निर्माण गरेको देखिन्छ । तर, ऐन निर्माण भइसकेपछि यही प्रदेशमा पर्ने म्याग्दीलगायतका जिल्लामा चौतारो काटेर बाटो बढाइएका खबरहरु सार्वजनिक भइरहेका छन् ।

हाम्रो सामाजिक आस्थाको केन्द्र, सामाजिक संस्कारको विम्ब झल्किने वरपिपललगायतका रुखहरुलाई पर्यापर्यटनसँग जोडेर थप विकास गर्दै लैजानुपर्ने होइन र ? सम्बन्धित स्थानका वन कार्यालयहरुले सार्वजनिक ठाउँमा रहेका यस्ता वरपिपलको अभिलेख राखेर समय समयमा तिनीहरुको हाँगाबिगा काँटछाँट, गोडमेल गरी संरक्षण गर्न सके दिगो वातावरणीय असर पर्नबाट जोगिन सकिएला ।

आधुनिकीकरणको नाममा बहुउपयोगी वरपिपल जस्ता रुख विरुवाविनाको अलिसान महल हाम्रै लागि घातक हुँदैन र कल्पना गरिहेरौं त ? एयरकन्डिसनरले दिने शितलता र चौतारीले दिने प्राकृतिक शितलताबीचको भिन्नता कति छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *