रेडी ट्रेड सुन तस्करको प्रोक्सी फर्म, एक महिनामै १३ पटक ब्रेक शु र दारी काट्ने मेसिन आयात – Nepal Press

रेडी ट्रेड सुन तस्करको प्रोक्सी फर्म, एक महिनामै १३ पटक ब्रेक शु र दारी काट्ने मेसिन आयात

काठमाडौ । साउन ३ गते हङकङबाट त्रिभुवन विमानस्थल भित्रिएको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गर्‍याे ।

सो सुन ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको थियो । ‘ब्रेक शु’ आयात गर्ने कम्पनी थियो रेडी ट्रेड प्रालि । सो कम्पनीका मालिक थिए दिलीप भुजेल ।

दोलखाका भुजेलको एकल स्वामित्वमा रहेको रेडि ट्रेड प्रालिले यस अघि पनि ब्रेक शु सँगै दारी काट्ने मेसिन पटक-पटक ल्याएको देखिन्छ । कम्पनी दर्ता भएयता २८ पटक आयात गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिए ।

खनालका अनुसार १५ पटक ब्रेक प्याड, १२ पटक सेभर र एक पटक मेकानिकल मोटर रेडी ट्रेडले आयात गरेको छ । १५ पटकमा कहिले ४० सेट, कहिले ८० सेट र कहिले ६० सेट गरी ६२० सेट ब्रेक प्याड ल्याएको देखिन्छ । एकपटक भने १२० सेट ब्रेक प्याड ल्याएको छ । ब्रेक प्याड पहिलो पटक जेठ १० गते आयात गरेको छ । त्यतिबेला ४० थान ब्रेक प्याड भित्र्याएको थियो ।

यस्तै १२ पटकमा २६ सय थान दारी काट्ने मेसिन भित्रिएको देखिन्छ । पहिलो पटक २०८० जेठ २३ गते ४०० थान दारी काट्ने मोसिन ल्याएको थियो । त्यसयता सो कम्पनी मार्फत १३ पटक सामान भित्रियो । जसमा एकपटक मात्र मेकानिकल मोटर आयात भएको थियो ।

रेडि ट्रेडले दाह्री काट्ने मेसिन (सेभर) चीनको दोङ्गुन सुतु ट्रान्सपोर्टेन कम्पनी लिमिटेडबाट सामान आयात गरेको रेकर्डमा देखिएको छ । यस्तै तालमुड कम्पनी ताइवानबाट पनि मेकानिकल मोटर आयात भएको छ । ब्रेक प्याड भने जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेड चीनबाट आयात भएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालय अनुसार दोलखाका दिलीप भुजेलको एकल स्वामित्व रहने गरी रेडी ट्रेड प्रालि नामक कम्पनी २०७९ चैत १९ गतेमात्रै दर्ता भएको थियो । कम्पनीको उदेश्य विदेशबाट सामान आयात गर्ने उल्लेख छ । बुढानीलकण्ठ नगरपालिका ४ ठेगाना राखेर कम्पनी दर्ता भएको देखिन्छ ।

याे पनि पढ्नुस् : मेलुङका वडाध्यक्ष भन्छन्- एक क्वीन्टल सुनका मालिक भनिएका युवक बाइक पनि किन्न नसक्ने हैसियतका हुन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर