कांग्रेस बैठकको संश्लेषण- प्रचण्ड बहुमतले गगनलाई एक्लो पार्ने, सुधारका एजेण्डा टार्ने – Nepal Press

कांग्रेस बैठकको संश्लेषण- प्रचण्ड बहुमतले गगनलाई एक्लो पार्ने, सुधारका एजेण्डा टार्ने

काँग्रेसमा कायापलट ल्याउन सक्ने कार्ययोजना कार्यान्वयनमा आशंका, नीति महाधिवेशन तोकर थामथुम पार्ने तयारी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ र शनिबारको ब्रेकपछि आइतबार सम्भवतः सबै सदस्यले बोल्ने क्रम सकिनेछ । झण्डै एक वर्षपछि मंगलबारदेखि शुरु भएको काँग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न गर्ने तयारी थियो तर भएन ।

पहिलो पटक आधिकारिक फेसबुकबाट बैठकको प्रत्यक्ष प्रशारण गरिरहेको कांग्रेसको पार्टी जीवनमा हाल जारी केन्द्रीय समितिको बैठकले खासै रुपान्तरण ल्याउन सक्ने संकेतहरु देखिएका छैनन् । हरेक दुई महिनामा केन्द्रीय समितिको बैठक डाक्नैपर्ने वैधानिक प्रावधानलाई लत्याएर झण्डै एकवर्षसम्म केन्द्रीय कार्यसमितिको बैठक नबोलाएका सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक सम्पन्न गर्नैपर्ने नैतिक दबाब थियो ।

जारी केन्द्रीय समिति बैठकको पुर्वसन्ध्यामा खासगरी महामन्त्री गगन थापासहितका केहि नेताहरुले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने र संसदीय दलको नेता परिवर्तन गर्ने चेतावनी सार्वजनिक रुपम दिन थालेपछि देउवाले पार्टीभित्र आफ्नो शक्ति प्रदर्शन गर्ने कडिका रुपमा केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

विभिन्न वाहानामा पटक पटक केन्द्रीय समितिको बैठक टार्दै आएका सभापति देउवाले कार्यसम्पादन समिति, पदाधिकारी तथा पुर्वपदाधिकारीहरुको बैठक आयोजना गरेर आवश्यक निर्णय गराउँदै आएका थिए । एकबर्षसम्म पार्टी केन्द्रीय समितिको बैठक नबोलाएको आरोप खेपिरहेका बेला महामन्त्री थापाले सार्वजनिक रुपमै विभिन्न चेतावनी दिन थालेपछि केन्द्रीय समितिको बैठकबाटै प्रतिउत्तर दिने बाध्यता सिर्जना भएको हो ।

केन्द्रीय समितिको बैठक फेसबुकमार्फत प्रतक्ष्य प्रशारण गराएर लोकतान्त्रिक पार्टी कांग्रेसले प्रविधिको उपयोगमार्फत पारदर्शिता अवलम्वन गरेको भन्दै अधिकांस केन्द्रीय सदस्यहरुले खुसी व्यक्त गरेका छन् । सभापति देउवाकै निर्देशनमा फेसबुकमार्फत बैठकको प्रतक्ष्य प्रशारण गरिएको हो । लोकतान्त्रिक पार्टी काँग्रेसभित्र आन्तरिक लोकतन्त्र कति सुदृढ छ भन्ने विषय आम नागरिकले पनि महसुस गर्न पाएको बैठकमा धारणा व्यक्त गर्ने केन्द्रीय सदस्यहरुले बताएका छन् ।

नयाँ दलका रुपमा उदाएको र युवाहरुको आकर्षण रहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले बैठकमा मोबाइल लैजान प्रतिवन्ध लगाएको खबर सार्वजनिक भइरहेका बेला आठ दशकदेखि क्रियाशील मुलुकको जेठो दल कांग्रेसले पहिलो पटक केन्द्रीय समितिको बैठक प्रतक्ष्य प्रशारण गर्दा सुखद सन्देश प्रवाह भएको विश्लेषण कांग्रेस वृतमा छ ।

सभापति देउवाले स्वइच्छाचारी ढंगले पार्टी सञ्चालन गरिरहेको आरोप काँग्रेसका पदाधिकारीहरुबाटै लाग्ने गरेको अवस्थामा बैठकको प्रतक्ष्य प्रशारण गरेर सबैले पार्टीमा आफ्ना विचार राख्न पाउने र निर्णय प्रकृयामा सबैको सार्थक सहभागिताको वातावरण रहेको देखाउन संस्थापन पक्ष सफल भएको छ ।

गगनलाई एक्ल्याउने संस्थापन रणनीति

केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांस केन्द्रीय सदस्यहरुले नेतृत्वलाई कमजोर देखाएर पार्टी सिध्याउने षडयन्त्र भइरहेको भन्दै सभापति देउवाको बचाउ गरेका छन् । संस्थापन पक्षका अधिकांस नेताहरु सभापति देउवाको बचाउमा र महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माविरुद्ध आक्रमक देखिएका छन् । बैठक अवधीधर आक्रमक रुपमा प्रस्तुत भएर विशेषगरी महामन्त्री थापालाई एक्ल्याउने रणनीति संस्थापन पक्षको छ ।

सभापति देउवा निकटस्थ एक नेताकाअनुसार महामन्त्री थापाले विशेष अधिवेशन र संसदीय दलको नेता परिवर्तनको एजेण्डा बैठकमा प्रवेश गराउन सक्ने भएकाले शसक्त प्रतिकार गर्ने योजना संस्थापन पक्षले बनाएको थियो ।

महामन्त्री थापाले बैठकमा पार्टी रुपान्तरणका लागि मासिक क्यालेण्डरसहितको कार्ययोजना प्रस्ताव गरेका छन् । ‘विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा’ शीर्षकमा कार्ययोजनासहितको पेश गरेको प्रतिवेदनमा पार्टीलाई सक्रिय बनाएर घरघरमा कांग्रेससम्मको अभियान अगाडि ल्याएका उनको लक्ष्य छ ।

क्यालेण्डर कार्यान्वयन गराएर ०८० साउनदेखि असार मसान्तसम्म नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध र आकर्षण गर्ने अभियानका साथ एकबर्षमा पाँचदेखि सातलाख पार्टी सदस्यता बनाउँने महामन्त्री थापाको योजना छ । महामन्त्री थापाद्वारा प्रस्तुत कार्ययोजनामा केहि थपघट गरेर कार्यान्वयन गर्ने निर्णय गराउन सभापति देउवा पनि सहमत हुनेछन् ।

महामन्त्री थापाले मात्रै जस पाउने सर्तमा होइन, सिँगो पार्टीले अपनत्व महसुष गरेर कार्यान्वयनमा सहज हुनेगरी कार्ययोजना पारित गर्ने तयारी भइरहेको छ । काँग्रेसको पार्टीगत जीवनमा मात्रै नभई मुलुककै राजनीतिमा कायापलट ल्याउन सक्नेगरी कार्ययोजना संसोधन गरेर पारित हुनसक्छ भन्ने नेताहरुको भनाइ छ ।

महामन्त्री थापाले प्रस्तुत गरेको कार्ययोजना परिमार्जन बिना कार्यान्वयनमा लैजान सभापति देउवा मन्जुर छैनन् । सभापति देउवालाई राजी गराएर कार्ययोजना पारित गराउन खोजिए मात्रै कार्यान्वयनमा जाने भएकाले कार्ययोजना बैठकका सहभागीहरुको सुझाव सल्लाहसमेत सिमोटेर कार्यान्वयन हुने संस्थापन पक्षको दाबी छ ।

जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापासहित इतर समुहका नेता र संस्थापन पक्षको शक्ति संघर्ष चुलिन थालेको पाइएको छ । महामन्त्रीलाई एक्ल्याउँदै अनुकुलका निर्णय गराउने संस्थापन पक्षको दाउ छ ।

भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र अन्य भ्रष्टाचार प्रकरणका सन्दर्भमा बैठकमा कुरा उठे पनि भ्रष्टाचार प्रमाणित नभएसम्म कुनै पनि नेतालाई निलम्बन नगर्ने पुरानै परम्परा कायम रहने संस्थापन पक्षका नेताहरु बताउछन । पार्टी रुपान्तरणका लागि महामन्त्री थापाले पेश गरेको कार्यायोजना पारित हुनुपर्ने युवा नेताहरुको माग छ ।

देउवाले आफ्ना कुरा बोलाइरहेका छन्

बैठकलाई रुलिङ गरिरहेका सभापति देउवाले बैठकमा आफ्ना धारणा राख्ने कार्यतालिका भए पनि उनले आफुले बोल्ने कुराहरु आफु निकटस्थ नेताहरुमार्फत सार्वजनिक गराई सकेका छन् । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालादेखि नै पार्टी सभापति नबोल्ने र अरूलाई बोल्न लगाउने परम्परा कायमै छ । देउवाले आफु धेरै नबोलेर बहुमतको दबदबा देखाउदै अनुकुलका निर्णय गराउन सक्ने आशंकामा संस्थापन इतर पक्षले पनि बैठकमा आफ्ना एजेण्डाहरु पारित गराउने रणनीति अवलम्वन गरेको छ ।

महामन्त्री थापाले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनमा पार्टीका सबै तह ११ महिना सक्रिय हुनुपर्ने उल्लेख छ । नेता तथा पार्टी कार्यकर्ताहरुले असार महिना किसानको महिना भएकाले किसानलाई सहयोग गर्नुपर्ने उल्लेख गरेका छन । सबै नेता कार्यकर्ता वडा तहमै गए पार्टीलाई तल्लो तहबाटै सक्रिय बनाउने र अगामी भदौ भित्र सवै सम्मेलनहरू गरी आगामी एक वर्षको कार्ययोजना सहितको प्रतिवेदन मातहतका सवै तहका समितिले केन्द्रीय कार्यालयमा पठाउनुपर्ने प्रस्ताव अघि सारेका छन ।

पार्टीको वैचारिक र सांगठनिक धरातल उठाउन केन्द्रीय समितिको बैठक प्रभावकारी हुनेमा भने आशंका उत्पन्न भइरहेको छ । दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक कहिले सत्ता राजनीतिको प्रतिकूल परिस्थिति त कहिले भुटानी शरणार्थी प्रकरणमा संलग्न पार्टीका नेता बालकृष्ण खाणलाई रक्षा गर्ने सवाल झिकेर सभापति देउवाले छल्दै आएका थिए । अनुकूल वातावरणमा मात्रै बैठक बोलाउने सभापतिको स्वच्छारितामा अंकुश लगाउन महामन्त्री थापाले केन्द्रीय समितिमा यस्तो प्रस्ताव राखेको निकटस्थहरू बताउछन ।

देउवाले के गरे,के गरेनन् ?

विधानले ६ महिनाभित्र गर्नुपर्ने काम डेढ महिना बित्दासमेत नभएपछि महामन्त्री थापाले सभापतिको विशेषाधिकारका कामलाई आगामी भदौ १५ भित्र गरिसक्नुपर्ने प्रस्ताव गरेका छन । सभापतिले मनोनयन प्रस्ताव नगर्दा डेढ वर्षदेखि पार्टीको कोषाध्यक्ष पद नै रिक्त छ । ४८ विभाग प्रमुख गठन गर्ने, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने काम सभापतिको विशेषाधिकार हुन ।

विभाग गठन र केन्द्रीय कार्यसमितिसमेत अपूर्ण रहेको अवस्थामा महामन्त्री थापाले मिति नै प्रस्ताव राखेर देउवालाई दबाबमा पारेका छन । म्याद सकिएका भ्रातृसंस्थाको तदर्थ समिति गठन गर्ने, गठन भएकालाई पूर्णता दिने काम पनि भदौ १५ भित्रै गर्नुपर्ने र ६ महिनामा अधिवेशन गर्नुपर्ने थापाको प्रस्ताव छ । थापाले प्रस्तावमा उल्लेख गरेका अधिकांश विषय सभापति देउवाले बैठकमा प्रस्तुत भएपछि मात्रै थाहा पाएको देउवा निकटहरु बताउँछन् ।

महामन्त्री थापाले विधानमा रहेका ४८ विभागमा थप २२ विभाग थपेर ७० पुर्‍याउने, भदौ, असोज र कात्तिकमा क्रियाशील सदस्यता नवीकरण, साउन २० देखि भदौ १ सम्म पार्टी सुदृढीकरण, भदौ १० देखि २४ सम्म समुदायमा आधारित संवाद, मंसिर १५ देखि माघ १५ सम्ममा घर–घर जाने अभियान थाल्ने प्रस्ताव गरेका छन ।

अनलाइन सदस्यता वितरणलाई व्यवस्थित बनाई ‘घर–घर जाऔं, पार्टी सदस्यता बनाऔं’ भन्ने अभियान साउनदेखि ०८१ असारसम्म गर्ने र प्रत्येक वर्ष ५ देखि ७ लाख सदस्यता थप्ने योजना महामन्त्री थापाको प्रस्तावमा छ ।

वैकल्पिक नयाँ राजनीतिक शक्तिको चुनौती सामना गरेर कांग्रेसलाई बनाउन थापाले वर्षभरिका दिवस, उत्सव, नेताहरूको जन्मजयन्तीका अवसरमा समुदायका सबै उमेर समूह र पेसाका नागरिकलाई आकर्षित गर्ने कार्यक्रमसमेत अघि सारेका छन । उनले अघि सारेका कार्यक्रममा किसानका मुद्दादेखि कन्क्लेभ, लिटरेचर फेस्टिबल, पुस्तक प्रकाशन, कन्सर्टसम्म छन । केन्द्रीय समिति बैठकको एजेन्डाको एक नम्बरमै समसामयिक, आर्थिक, सामाजिक विषयमाथिको छलफल भनिए पनि यस विषयमा नेतृत्वको स्पष्ट दृष्टिकोण र विचारसहितको कार्यपत्र प्रस्तुत भएको छैन ।

पार्टीलाई बैचारिक रुपमा सवल र सक्षम बनाउने किसिमका एजेण्डामा गहन छलफल नभएकाले केन्द्रीय समिति बैठक खासै उपलब्धीमुलक बन्न नसक्ने र राष्ट्रिय राजनीतिमा काँग्रेस बैठकले ठोस सन्देश दिन नसक्ने नेपाली काँग्रेस डडेल्धुराका पुर्व सभापति रामचन्द्र चटौत बताउछन् ।

पार्टीको आन्तरिक लोकतन्त्र, देशको समग्र आर्थिक विकासको मोडेल र सुशासनका विषयहरु केन्द्रीय समितिको बैठकमा छलफल हुनुपर्ने भए पनि आन्तरिक खिचातानीका कारण कुनै महत्वपुर्ण निर्णय हुन नसक्ने चटौतको अनुमान छ ।

गगनलाई थामथुम पार्ने मेलो

संस्थापन पक्षले महामन्त्री थापा पक्षलाई थामथुम पार्न नीति महाधिवेशन घोषणा गर्ने तयारी भने गरेको छ । विशेष महाधिवेशन नभई नीति महाधिवेशनको मिति जारी बैठकबाटै घोषणा हुनसक्ने संस्थापन पक्षका नेताहरु बताउँछन् । महामन्त्री थापाले प्रस्ताव गरेअनुरुप नभए पनि केहि विभाग थप गर्ने निर्णय बैठकले गर्नेछ ।

रिक्त कोषाध्यक्ष र केन्द्रीय समिति सदस्यहरुमा पदपुर्तीका लागि जारी केन्द्रीय समिति बैठकले तत्काल निर्णय लिन नसक्ने सभापति देउवा निकट नेताहरु बताउँछन् । ‘नीति महाधिवेशनको मिति तय गर्ने र भातृ संगठनहरुलाई पुर्णता दिएर अधिवेशनमा जाने निर्णय बैठकले पारित गर्नसक्छ,’ संस्थापन पक्षका एक केन्द्रीय सदस्यले भने, ‘तत्कालका लागि अन्य निर्णय गर्न आवश्यक छैन ।’

संस्थापन इतर पक्षले जारी केन्द्रीय समितिको बैठकमार्फत सभापति देउवालाई विधिमा बाँध्ने तयारी गरिरहेको भए पनि विगतका अध्यासहरु हेर्दा सभापति देउवाले चाहे अनुकलका निर्णय मात्रै पारित हुनसक्ने नेताहरु बताउछन । सभापति देउवासँग पर्याप्त बहुमत भएकाले निर्णय संस्थापन पक्षले चाहेअनुरुप हुने र सभापति देउवाको चाहना विपरितका कुनै निर्णय भइहाले पनि कार्यान्वयन हुननसक्ने अबस्था छ ।

यसर्थ, कांग्रेसमा कायापलट ल्याउन सक्ने महामन्त्री थापाको क्यालेन्डरसहितको कार्यायोजना कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको कांग्रेसवृतमा चिन्ता ब्यक्त गरिन थालिएको छ । संस्थापन इतर पक्षले पार्टी हितका लागि उठाएका कतिपय एजेण्डाहरु भने बैठकमा प्रवेश गर्न पाउने छैनन् । संस्थापन पक्षको आक्रमक प्रस्तुती र बहुमतको दम्भका कारण पनि काँग्रेसले छलफल गर्नैपर्ने कतिपय एजेण्डाहरु जारी केन्द्रीय समिति बैठकमा थाती रहन सक्ने संस्थापन इतरका नेताहरुको अनुमान छ ।


प्रतिक्रिया

One thought on “कांग्रेस बैठकको संश्लेषण- प्रचण्ड बहुमतले गगनलाई एक्लो पार्ने, सुधारका एजेण्डा टार्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर