बिपी विचार हो, अबलम्बन गरौं – Nepal Press
बिपी स्मृति दिवस

बिपी विचार हो, अबलम्बन गरौं

नेपालमा मात्र नभई समकालिन विश्वमानै उच्च छवि बनाएका महान राजनितिज्ञ हुन् बिपी कोईराला । नेपाली कांग्रेस पार्टीका सस्थापक नेता कोईराला जीवनभर प्रजातन्त्रका लागि लडिरहे । उनै बिपीका राजनैतिक जीवन र उनका प्रेरणादायी कुराहरुलाई समेटेर आज उनको पुन्य स्मृति दिवसका अवसरमा यो आलेख लेख्ने प्रयास गरिएको छ । हामी सानो हुँदा बिपीबारे प्रशस्त किस्साहरु सुनिन्थ्यो । बिपी यस्ता थिए उस्ता थिए भनेर स्कुलमा सरहरुले सुनाउनुहुन्थ्यो । हामी बुझ्ने भएर स्कुल पढ्न थाल्दा नेपालमा प्रजातन्त्र आइसकेको थियो । त्यसकारणले पनि बिपी सँगसँगै हिंडेका नजिकबाट चिनेका र बिपी बिचारबाट अत्यन्त प्रभावित शिक्षकहरुले हामीलाई पढाउँदा बिपी र उनका विचारहरुबारे भनिररहनुहुन्थ्यो । त्यसकारण बिपीप्रति सानैदेखि सकारात्मक प्रभाव परेको थियो । कक्षा उक्लदै गर्दा बिपीबारे पढ्न पाईयो , उनका राजनैतिक जीवन, उनका सिद्धान्त र बिचारहरुबारे अध्ययन गर्न थालियो ।

सानैमा पढें मोहन शमशेर र बिपीबिच भएका संवादका कुरा जहाँ मोहन समशेरले बिपीलाई प्रधानमन्त्री भएपछि सोधेका हुन्छन्, ‘बिपी अब तपाई प्रधानमन्त्री हुनुभयो, तपाईको उद्देश्य के छ ? बिपीले सरल उत्तर दिएका थिए, ‘म एउटा मध्यम वर्गीय परिवारको मान्छे हुँ, बिहान बेलुका खान हामीलाई दुःख छैन । मेरो अलिकति खेत पनि छ, त्यहीँबाट गुजारा हुन्छ, मेरो अबको उद्देश्य भनेको हरेक नेपालीलाई मेरै हैसियतमा पु¥याउने हो ।’ बिपीको यस्तो विचार सानैमा पढेको थिए मैले । जुन आजसम्म पनि मनमा अमिट छाप बनेर बसेको छ । यस्ता अनेकौ कुराहरु बिपीका बारेमा पढिन्थ्यो, सुनिन्थ्यो, बिपीका बारेमा अग्रजहरुबाट बुझिन्थ्यो । त्यसकारण त्यतिबेलाको मेरो बाल मस्तिष्कबाट नै बिपी विचार र सिद्धान्तप्रति झुकाव बढेको थियो । अहिले पनि बिपीको त्यो विचार, आर्दश र सिद्धान्तलाई आत्मसात् गरिएको छ ।

हामीले आत्मकथामा बिपीलाई पढ्यौं, सुन्दरीजलमा पढ्यौं, अन्तर्वार्ताहरु पढ्यौं, लेखहरु पढ्यौं, विचार गोष्ठीहरुमा सहभागी भएर बिपीलाई सुन्यौं । मेरो बा, हजुरबाले रुखमा भोट हाल्थे भनेर म रुखमा भोट हाल्ने भएको होईन । बिपीलाई पढेर, बुझेर, आर्दश, सिद्धान्त र विचार मन परेर रुखलाई भोट हाल्ने भएको हुँ । त्यसकारण मलाई अहिले रुखमा भोट हाल्ने बनाउनुमा कसैको योगदान छैन । म रुखमा भोट हाल्ने हुनुको पछाडि एउटै कारण बिपी विचार हो जसले मलाई उनलाई पछ्याउने बनायो । तर आजको दिनमा नेता भई टोपलेकाहरु कांग्रेसलाई आफनो विर्ता सम्झन्छन् अनि रुखमा भोट हाल्ने नेपालीलाई आफ्ना दास ठान्छन् । जसले गर्दा बिपीले खडा गरेको यो विशाल ईमरात धरमाउन थालेको छ । नयाँ भनिएका,युवा ठानिएका र आशलाग्दा भनिएका नेताहरुबाट समेत ठोस काम हुन नसक्दा यतीबेला बिपीका अनुयायीहरु निराश हुनुपरेको अवस्था छ ।

बिपी बारेको एउटा प्रसंग करिब ८ बर्ष पहिले एउटा म्यागाजिनमा प्रकाशित भएको थियो । तत्कालीन सोभियत संघले अफगानिस्तानमाथि गरेको हमला, इन्डोनेसियामा साम्यवादी दलले ‘एडिट फर्मुला’ अन्तर्गत सुकार्नोको सत्तापलट गर्ने असफल प्रयास, भारतमा सिक्किमको विलय, भारतमा बढ्दो सोभियत प्रभाव तथा दरबारमा ‘रोयल कम्युनिस्ट’को झाँगिंदो उपस्थितिको विश्लेषण गर्दै बिपीले ‘राष्ट्रिय मेलमिलाप’को नीति अख्तियार गरे । र, ०३३ सालमा नेपाल फर्किने तयारी गर्न थाले । बिपीको त्यो निर्णय भारतिय प्रधानमन्त्री इन्दिरा गान्धीका लागि स्तब्ध पार्ने खालको थियो । इन्दिराको विश्लेषण थियो, आफ्नो देशमा ज्यानको सजाय बोकेको मान्छे, यती सजिलै, त्यो पनि दरबारसँग कुरा नमिलाईकन कसरी जान सक्छ ? पूर्वकांग्रेस नेता बद्रीनारायण बस्नेतले लेखेका थिए, ‘इन्दिराको त्यस बेलाको फर्मुला बेलायतीहरूको जस्तै थियो, फुटाऊ र राज गर । बिपीलाई देखाएर दरबारलाई तर्साउने । दरबार देखाएर बिपीलाई । दरबार पनि चिनियाँ कार्ड देखाएर इन्दिरालाई बेलाबेलामा तर्साउँथ्यो ।’

बिपी नेपाल फर्किएपछि दरबारलाई तर्साउन इन्दिरासँग कुनै कार्ड नहुने भयो । त्यसैले उनले भारतीय कांग्रेसका अध्यक्ष देवकान्त बरुवालाई बिपीकहाँ पठाइन् । आसामका बरुवा बीएचएूमा पढ्दैताका बिपीका मिल्ने साथी थिए । ‘इन्दिरा इज इन्डिया, इन्डिया इज इन्दिरा’को नारा दिँदै इन्दिराको आशीर्वाद पाएका बरुवाले बिपीलाई फकाउने अनगिन्ती प्रयास नगरेका होइनन् । बस्नेत सम्झन्छन्, ‘तर, बिपीले इन्दिरालाई महारानी मान्नुभन्दा आफ्नै देशको राजा मान्छु भन्दै इन्दिराको प्रस्ताव अस्वीकार गरिदिए ।’

तत्कालिन भारतकी शक्तीशाली प्रधानमन्त्री ईन्दिरा गान्धीका प्रस्तावलाई ठाडै अस्विकार गर्ने हैसियत राख्थे बिपी, उनीसंग हरेक कुरामा सवाल जवाफ गर्न सक्थे । त्यो थियो बिपीको राजनैतिक उचाई, यसले आजका दिनमा पनि म तिनै बीपीका आर्दश मूल्य मान्यता, नीति र सिद्धान्तलाई मान्ने मान्छे हुँ भन्दा गर्वले छाती फुल्छ ।

ईन्दिराकै देशमा बसेर लोकतन्त्रको हत्या गर्दै ‘इमर्जेन्सी’ लगाउने इन्दिराको निर्णयलाई बिपी ‘प्रजातन्त्रमार्फत फासिस्टवाद’तर्फ उन्मुख बताउँथे । त्यसैले उनले धेरै ठाउँमा लेखेका पनि छन्, ‘भारत अब ठूलो जेल भयो । सानो जेल नेपालमै फर्किन्छु ।’ बनारसस्थित मामुरगन्जको निरालानगर कोलोनीमा बस्दा बिपीले भनेका कुरा त्यहाँका जीवित कतिपय अग्रजहरु अझै सम्झन्छन् । भन्छन्, ‘इमर्जेन्सीपछि भारत पनि जेल भइसक्यो । तर, हाम्रो जेल सानो छ, त्यहीँ जान्छु । नभन्दै बिपी मेलमिलापको निति लिएर नेपाल फर्कीए र लगत्तै जेल पनि परे ।’

बिपी प्रधानमन्त्री हुँदै सीमानजिकै चिनियाँ सेनाको गोलीले नेपाल पुलिसका एक हबलदार बमबहादुर मारिए । त्यतिबेला भारतिय प्रधानमन्त्री जवाहरलाल नेहरुले कडा वक्तव्य दिए, ‘हाम्रो उत्तरी हिमालयन सीमामा जुन हमला भयो, त्यसलाई हिन्दुस्तानले आफूमाथि भएको हमला ठान्छ ।’

तर, बिपीलाई सार्वभौम राष्ट्रका प्रधानमन्त्रीका रूपमा नेहरुको त्यो प्रतिक्रिया मन परेन । उनले भोलीपल्टै नेपाली संसद्बाट नेहरुलाई प्रत्युत्तर दिए, ‘उत्तरी सीमामा जुन घटना भयो, यसप्रति हिन्दुस्तानले जुन प्रतिक्रिया जनायो, हामी भन्न चाहन्छौ, हाम्रो भूभागको रक्षा गर्न हामी सक्षम छौँ ।’ पछि भारतीय राजधानी नयाँदिल्लीमा पत्रकारहरूले बिपीको प्रत्युत्तरका विषयमा नेहरुलाई सोधेका थिए । नेहरुले जवाफ दिए, ‘बिपीले भनेको ठीक हो ।’ यो घटनामा चीनले आफ्नो गल्ती स्वीकार्दै मारिने पुलिसका परिवारलाई नेपाल सरकारमार्फत ५० हजार रुपैयाँ प्रदान गरेको थियो, जुन पछि महेन्द्रलाई विदेशी राष्ट्रमाझ बिपी चीनतर्फ ढल्किदै गएको ‘प्रोपोगान्डा’ गर्न सजिलो भयो ।

यसरी राष्ट्रियताको सवालमा बिपीको अडान अविचलित थियो । उनी कुनै पनि दृष्टिकोणबाट भारत या चीनले नेपाललाई हेपेको मन पराउँदैनथे र तत्काल प्रतिक्रिया जनाईहाल्थे, तत्कालिन भारतिय र चीनका शाशकहरु बिपीसँग यसकारण डराउँथे की बिपिले बिस्तारै आफ्नो छवि अन्तर्राष्ट्रिय स्तरमा एक ख्यातप्रिाप्त राजनेताको रुपमा स्थापित गर्दै लगेका थिए ।

नेपाल र नेपालीका लागि बिपीले थुप्रै विचार, नीति र सिद्धान्तहरु छाडेर जानुभएको छ । जुन अहिले पनि उतिकै सान्दर्भिक छ । विडम्वना आज सबैका प्रिय सान्दाजुको पुण्य स्मृतिमा यो भन्न करै लाग्छ, उनले जीवनभर प्रजातन्त्रका लागि भन्दै लडेर स्थापना गरेको पार्टी नेपाली कांग्रेसले त सान्दाजुका कुरा लागू गर्न सकेन, चाहेन अरुको के कुरा गर्नु । आज कांग्रेस बिपीलाई बेच्छ मात्र, तर बिपीका आर्दश, सिद्धान्त र बिचारहरुलाई व्यवहारमा लागू गर्दैन । यसले बिपीका अनुयायीहरुलाई ठुलो चोट पुगेको छ । कांग्रेस प्रजातन्त्र स्थापनापछि लामो समय सत्तामा बस्यो त्यतिबेला उसले न बिपी सम्झियो न त बिपीका विचार सिद्धान्त र आर्दशहरुनै सम्झियो । जसले गर्दा देशमा कांग्रेसको लोकप्रियता क्रमश घट्दै गयो र कांग्रेस आजको हालतमा पुगेको छ । बिपीका आफ्नै भाई भतिजा यो देशका प्रधानमन्त्री पटक–पटक भए, उनकै शिष्य शेरबहादुर पटक–पटक प्रधानमन्त्री भए, अहिले कांग्रेसको सभापति छन् । बिपीकै कान्छो छोरा डा. शशांक कोईराला कांग्रेसका महामन्त्री बनें । बिपीका भतिजा डा. शेखर कोईराला कांगेसभित्र प्रभावशाली नेताका रुपमा छन् । तर पनि कांग्रेसको नेतृत्व तहले कहिल्यै नेपाली राजनितिमा र सत्ता संचालनमा बिपी विचार र नीति लागू गर्न सकेन । यसले बिपीको अनुयायीहरुलाई त चोट परेको छ नै स्वयम् सान्दाजुको आत्मा समेत पक्कै पनि खुशी भएको छैन होला ।

बिपीको जिवन संघर्षमानै बित्यो । तर पनि उहाँ कहिल्यै विचलित हुनुभएन । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद प्रति उहाँको सधै निष्ठा रहिरह्यो । तरका आजका कांगेसीहरुमा त्यसप्रतिको निष्ठामा शंका गर्ने पशस्त आधारहरु छन । पत्रकार मणिराज उपाध्यायले बिपीसंग लिएको अन्तर्वार्तामा बिपीले भन्नु भएको छ ः ‘इन्दिरा गान्धिको कुरा मान्ने हो भने म भोलिनै मुलुकको प्रधानमन्त्री बन्न सक्छु । तर, प्रधानमन्त्री भै सकेपछि मैले कस्को कुरा मान्ने ? नेपाली जनताको कि इन्दिरा गान्धीको ?’ राष्ट्रियता प्रति बिपीको यस्तो अविचलित अडान थियो । अहिलेका कांगेस नेतृत्वले यती कुरा मात्र मनन गरिदिने हो भने पनि देश छिट्टै कायापलट हुन्छ । तर बिडम्वना त्यस्तो हुन सकिरहेको छैन । र बिपीले सधै देश रजनताकोहित सोच्नुभयो । उहाँले त्यसैकालागि आजिवन संघर्ष पनि गर्नुभयो । उहाँका बिचार आज पनि उत्तिकै सान्र्दभिक छन् । तत्कालिन समयमा आफ्ना कर्म र विचारका कारण बिपी विश्वभर चर्चित हुनुहुन्थ्यो ।

वर्षको एक दुई दिन बिपीलाई सम्झिएर चर्को भाषण गर्ने, उनकै आदर्शको बाटोमा हिड्ने प्रण गर्ने तर भाषण गरेको ५ मिनेटमानै सबै कुरा भुल्ने कांग्रेस नेतृत्वको प्रवृत्तिनै समस्याको मुल जड हो । हरेक वर्ष श्रावण ६ गते कांग्रेसले देशभरी वृक्षारोपण गर्छ, आजसम्म कति बिरुवा रोपिए, ती कति हुर्किए र कति मरेर गए भन्ने कुराको लेखाजोखा नभए जस्तैं कांग्रेस नेतृत्व पनि अन्धाधुन्द रुपमा बिपीलाई बेचिरहेको छ । बिपीका विचार र सिद्धान्तको धज्जी उडाईरहेको छ । कांग्रेसले अब पनि बोलीमा मात्र होईन व्यवहारमानै बिपीको सिद्धान्त अंगिकार गर्न सकेन भने कांग्रेस फेरी पनि वामपुड्के हुँदै जानेमा दुईमत छैन । यही सन्दर्भमा स्वयम् बिपीले भनेको एउटा भनाई स्मरण हुन्छ, एक दिन एकजना कार्यकर्ताले बिपीलाई सोधेछन्, सान्दाजु प्रजातन्त्र आएपछि हामी जस्ता कार्यकर्तालाई के हुन्छ, बिपीले भनेछन्, प्रजातन्त्र आएपछि एकपटक फेरी पार्टीभित्र सुकिला मुकिलाहरु हावी हुन्छन्, तिनले आर्दश बिर्सन्छन्, त्यस्ताहरुका विरुद्ध पार्टीभित्रै फेरी तिमिजस्ता कार्यकर्ताहरुले संघर्ष गर्नुपर्दछ । बिपी कति दुरदर्शी थिए भन्ने यही कुराले पुष्टी गर्छ, नभन्दै प्रजातन्त्र आएपछि त्यस्तै भयो, बिपीका आर्दश र सिद्धान्तहरु बिर्सिन थालियो र सुकिला मुकिलाहरु हाबी भए । तर ईमान्दार कार्यकर्ताहरुले अझै तिनिहरु विरुद्ध संघर्ष गरेका छैनन् । अति हुँदै गयो भने एक दिन त्यो पनि अवश्य हुन्छ । त्यसकारण कांग्रेस नेतृत्वले यसबारेमा बेलैमा सोचोस् । बिपी व्यक्ती मात्र नभएर विचार र सिद्धान्त हो तसर्थ बिपीलाई अब कांग्रेसले व्यवहारमानै अबलम्वन गर्न आवश्यक छ । आफु पनि केहि नयाँ दिन नसक्ने अनि ७ दशक भन्दा अगाडी बिपीले अघी सारेका सिद्धान्तलाइ पनि व्यववहारमा अबलम्बन नगर्दा कांग्रेस नेतृत्व चक्रव्युहमा फसेको छ । चक्रव्युहबाट निस्कने एकमात्र सुत्र बिपीकै आर्दश नीति र सिद्धान्त हो । यसलाई तुरुन्त व्यवहारमानै अबलम्बन गर्न एकपटक सबै इमान्दार देशप्रेमी नेपाली र कांग्रेसजनहरुले नेतृत्वलाई दबाब दिन आबश्यक छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *