पोखराको व्यस्त सडक पृथ्वीचोक–चाइनापुलमा ‘नो पार्किङ’ – Nepal Press

पोखराको व्यस्त सडक पृथ्वीचोक–चाइनापुलमा ‘नो पार्किङ’

पोखरा । पोखराकै व्यस्त सडक पृथ्वीचोक–चाइनापुलसम्म पार्किङ निषेध गरिने भएको छ ।

जिल्ला सुरक्षा समिति कास्कीको बैठकले आइतबारबाट पृथ्वीचोकदेखि चाइनपुलसम्म सडकको दुवैतर्फ पार्किङ निषेध गर्ने निर्णय गरेको हो । उक्त क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने र त्यसका लागि महानगरलाई अनुरोध गर्ने जिल्ला सुरक्षा समिति कास्कीको बैठकले निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

महानगरले शुक्रवार र शनिवार माइकिङ गरी सडकको दुवैतर्फ रहेका राखिएका गाडी हटाउन, मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन अनुरोध गरेको छ ।

हालसम्म लामा तथा छोटा दुरीका सवारी साधन बाटो छेउमै रोकिँदै आइरहेको छ । पोखरा आउने र पोखरा बाहिर जाने लामो दूरीका बसहरुपनि सडकमै यात्रु पर्खिने, चढाउने र ओराल्ने गर्दै आएका थिए ।

महानगर यातायात व्यवस्थापन समिति संयोजक अमृत तिमिल्सिनाले सो क्षेत्रको सडक व्यवस्थापनका लागि शुक्रवारबाट काम थालिएको बताए ।

‘जिल्ला सुरक्षा समितिले निर्णय गरेर महानगरलाई भन्यो । कार्यान्वयन गर्न बसपार्कको पूर्वाधार, बाटो नै राम्रो छैन । हिलो हुने, पानी जम्मा हुने खाल्डा पुर्न लागेका छौँ,’ उनले भने ।

स्थानीय सार्वजनिक सवारीलाई पिक एन्ड ड्रपमात्र गर्न दिइने उनको भनाइ छ ।

सो क्षेत्रमा पोखरा प्रवेश गर्ने र ओलर्नेहरुको जमघट त हुन्छ नै तरकारीको होलसेल, सस्तो बजार, संघ, संस्थाका कार्यालय र व्यापारिक मलसमेत हुने गरेको छ ।

एकातर्फ साँघुरो चाइना पुल र अर्कोतर्फ सडकमै सवारी साधन पार्किङ हुँदा पृथ्वीचोक–चाइनापुल व्यवस्थित बन्न सकेको थिएन । साथै उक्त क्षेत्रमा बारम्बार ट्राफिक जाम पनि हुने गरेको पाइन्छ ।

पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत चाइनापुलमा डबल लेनका दुई पुल निर्माण प्रक्रिया सुरु भइसकेको छ ।

पूर्वाधार र तयारीबिना बसपार्कबाट गाडी छुटाउने निर्णय गर्दा लागू हुन कठिन हुनसक्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।

बसपार्क प्रवेशको बाटो निर्माण, बसपार्क व्यवस्थापन, शौचालय, प्रतीक्षालय जस्ता संरचना निर्माण गरी यात्रुलाई बसपार्कभित्र जाने वातावरण बनाउनुपर्नेमा केसीले सुझाव दिए ।

‘हामी बसपार्कभित्रैबाट गाडी छुटाउने, यात्रु पनि बसपार्कमा ओराल्ने तर पूर्व–पश्चिम चल्ने गाडीले यात्रु चढाए सहमति तोडिन्छ,’ उनले भने ।

आइतबारबाटै सो क्षेत्रमा पार्किङ व्यवस्थापन सुरु गरिने ट्राफिक कार्यालय कास्की प्रमुख कृष्णबहादुर चन्दले बताए ।

‘आइतबारबाटै लामो दूरीका बस बसपार्कबाट छुटाउने तयारी छ । कतिसम्म धान्छ बसपार्कले हेरौं,’ उनले भने, ‘केही कठिनाइ आए त्यसको समाधान खोज्छु ।’

पोखरा महानगरले पोखरा बसपार्क र बागलुङ बसपार्कलाई अस्थायी रुपमा व्यवस्थापन गर्न यो वर्ष १ करोड बजेट विनियोजन गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पृथ्वीचोकदेखि चाइनापुलभित्रको सडकमा आइतबारदेखि कुनै खालका गाडी पनि पार्किङ गर्न नदिइने बताए ।

‘उक्त क्षेत्रमा ड्राइभरबिनाका कुनै गाडी सडकमा पार्किङ गर्न हुदैँनन् । जिल्ला सुरक्षा समितिले गरेको निर्णय हो । स्थानीय सरकारले दायित्व निर्वाह गर्ने हो,’ उनले भने, ‘सोझा अर्थ के हो भने अब बाटोलाई नै बसपार्क बनाउन पाइने छैन, बसपार्कमै पुग्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर