मोरङको लेटाङमा प्रहरीको लागू औषधलक्षित विशेष अप्रेसन : १५ दिनमा १७ जना पक्राउ – Nepal Press

मोरङको लेटाङमा प्रहरीको लागू औषधलक्षित विशेष अप्रेसन : १५ दिनमा १७ जना पक्राउ

विराटनगर । मोरङको उत्तरी लेटाङमा व्यक्तिका घरबाटै प्रतिबन्धित औषधिको खरिदबिक्री हुने गरेको पाइएको छ ।
घरघरमा भण्डारण गरेर राखिने अवैध औषधि रकम लिएर लागू औषधका प्रयोगकर्तालाई उपलब्ध गराउने गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

लागू औषधका सेवनकर्तालाई लक्षित गरेर भित्राइने औषधिको खरिदबिक्री घरघरबाटै हुने गरेको छ । घरबाटै प्रतिबन्धित औषधि बिक्री गरिरहेका एकजना युवालाई प्रहरीले शनिवार राति लेटाङ नगरपालिका-३ बाट पक्राउ गरेको छ ।

बिना इजाजत अवैध औषधि खरिदबिक्री भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट पुगेको टोलीले राति ८ः३० बजेतिर लुसान बर्देवालाई पक्राउ गरेको हो ।

बर्देवाको घरमा खानतलासी गर्दा स्पासपेन ३ सय १२ र ट्रामाडोल ३ सय ट्याब्लेट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीले लेटाङका ग्रामीण क्षेत्र लक्षित विशेष ‘अप्रेसन’ चलाइरहेको छ । प्रहरीले असार २८ गते लेटाङबाटै गाँजा सहित ४ जनालाई पक्राउ गरेको थियो । लेटाङ-९ का २२ वर्षीय झुप्पे भनिने वसन्त मगर, २१ वर्षीय संयोग बुर्जा मगर, २० वर्षीय आशुतोष राई र १९ वर्षीय प्रयास राई पक्राउ परेका हुन् ।

प्रहरीले असार २६ गते लेटाङ-३ कृतिमानबाट लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) २३ वर्षीय थीरबहादुर राउत र २२ वर्षीय एनोश तामाङलाई पक्राउ गरेको थियो । राउत बिक्रेता र तामाङ खरिदकर्ता हुन् । खैरो हेरोइन खरिद गर्न तामाङ राउतको घरमा पुगेका थिए । उनीहरूबाट ४९ मिलिग्राम हेरोइन बरामद भयो ।

गाँजा र प्रतिबन्धित औषधिसहित असार २० गते लेटाङ-९ का २० वर्षीय दिवाहाङ राई र पवन बाग्दास पक्राउ परे । प्रहरीले खानतलासी गर्दा घरबाट लागू औषध गाँजा आधा किलो तथा प्रतिबन्धित औषधीहरू स्पासपेन २ सय र ट्रामाडोल २ सय ट्याब्लेट बरामद भएको थियो । राई र बाग्दाससँगै गाँजाको अवैध धन्दामा संलग्न रहेको पाइएपछि असार २८ गते थप ४ जना पक्राउ परेका हुन् ।

प्रहरीले असार २० गते नै लेटाङ-८ का २० वर्षीय सुवास कार्की र २५ वर्षीय लोकेश राईलाई पनि पक्राउ गरेको थियो । घरबाट स्पासपेन ५ सय ५३ र ट्रामाडोल ४ सय ४५ ट्याब्लेट बरामद भएपछि लेटाङ-९ का २६ वर्षीय अभिषेक दर्जी पनि पक्राउ परे ।

असार १६ गते लेटाङका २ वटा घरमा प्रहरीले छापा हानेको थियो । बिना इजाजत प्रतिबन्धित औषधि लुकाएर एवं सञ्चय गरेर घरमा राखेको पाइएपछि लेटाङ-३ का तेजनकुमार राई पक्राउ परेका थिए । प्रतिबन्धित औषधिको कारोबारमा संलग्न लेटाङ-३ का श्यामकुमार लिम्बू फरार छन् ।

लेटाङका ग्रामीण क्षेत्रका घरघरमा पछिल्लो समय लागू औषध एवं प्रतिबन्धित औषधि छ्यापछ्याप्ती फेला पर्न थालेको डिएसपी दाहालले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *