सामाजिक विद्वेष फैलाउन उद्यत हर्क साम्पाङ
नेपालमा सदियौंदेखि कायम धार्मिक सहिष्णुता विथोल्ने चेष्टा नहोस्
काठमाडौं । हुन त धरानका मेयर हर्क साम्पाङका फेसबुके टिप्पणीहरुमाथि टिप्पणी लेखेर साध्यै हुँदैन । उनले साँझबिहान लेख्ने धाराप्रवाह स्टाटसहरुले ध्यानाकर्षण गर्न पनि छोडिसकेको थियो । तर, पछिल्ला केही दिनदेखि उनी सामाजिक सञ्जालमा जे लेखिरहेका छन्, ती सहजै नजरअन्दाज गर्न सकिने खालका छैनन् ।
धरान- १४ सिंहदेवी चोकमास्तिर बनेको एउटा चर्चलाई लिएर मामुली विवाद सुरु भएको थियो । सय वर्ष पुरानो बालगोपाल मन्दिरको अपोजिट (बाटो वारिपारि) ‘पार्टी प्यालेस’ बनाउने भन्दै निर्माण सुरु गरिएको भवन अन्त्यमा ‘चर्च’ का रुपमा खडा भएपछि स्थानीयवासी जिल्लिए । त्यसमाथि नक्सापाससमेत गरिएको थिएन । मन्दिर अगाडि चर्च बनाउँदा संवेदनशील हुनसक्ने भन्दै स्थानीयले यसको विरोध गरे । अन्ततः यो विवादमा तानिए मेयर साम्पाङ ।
धरान उपमहानगरपालिकाका मेयर साम्पाङलाई चर्च निर्माणको काम रोक्न माग राख्दै स्थानीयवासीले ज्ञापनपत्र बुझाए । ख्रिस्चियन समाजको तर्फबाट अर्को काउन्टर ज्ञापनपत्र मेयरसमक्ष प्रस्तुत भयो । दुवै ज्ञापनपत्र बुझेपछि साम्पाङले आफूभन्दा माथिल्लो निकायबाट मात्रै यो विषयको निरुपण हुने बताएका थिए । यहाँसम्म ठीकै थियो ।
धार्मिक गुरु आचार्य श्रीनिवासले यो विवादलाई चर्काउने काम गरे । चर्च निर्माण क्षेत्रमा पुगेर उनले हिन्दूहरूको आस्थाको केन्द्र विजयपुर क्षेत्रमा क्रिस्चियनहरुले धार्मिक अतिक्रमण गरेको गुनासो गरे । उनले धरान उपमहानगरले समेत क्रिश्चियनहरुको संरक्षण गरेको आरोप स्थानीय मिडियामार्फत लगाएपछि भने मेयर साम्पाङले संयम गुमाउन पुगे । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो फायर खोल्न थाले । आचार्य श्रीनिवासलाई जवाफ दिने नाममा उनले समस्त हिन्दू धर्मावलम्बीलाई चोट लाग्ने अभिव्यक्तिहरु दिइरहेका छन् ।
स्थानीयको आक्रोशलाई शान्त गर्न मेयर साम्पाङले सन्तुलनकारी भूमिका खेल्नुपर्थ्यो । त्यो नसके उपमहानगरकै न्यायिक समितिको जिम्मा लगाएर आफू मौन बस्नुपर्थ्यो । तर, उनले दुवै गरेनन् । बरु आगोमा घ्यू थप्न तल्लिन भए । एकपछि अर्को स्टाटस लेख्दै हिन्दू धर्मलाई लाञ्छित गर्न थालेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा उनको लोकप्रिय छवि एकाएक धुमिल बनेको छ ।
साम्पाङ स्वयम् क्रिस्चियन धर्मका प्रचारक रहेको चर्चा छ । तर, यो उनको निजी मामला हो । आफूले चाहेको धर्म रोज्ने हक हरेक व्यक्तिलाई संविधानले नै दिएको छ । यसलाई कसैले आपत्तिको विषय बनाउन मिल्दैन । तर, मेयरको रूपमा भूमिका निभाइरहँदा उनी सबैको साझा हुनुपर्छ । उनी धरानका सबै जातजाति र धर्म-सम्प्रदाय मान्ने जनताका अभिभावक हुन् ।
मन्दिर अगाडि चर्च निर्माण हुनुमात्रै ठूलो आपत्तिको विषय नहुन सक्थ्यो । आखिर दुवै धार्मिक स्थल नै हुन् । यसले धार्मिक सहिष्णुताको झल्को पनि दिन्थ्यो होला । तर, वडा र नगरपालिकालाई समेत थाहा नदिइ र नक्सापास नगरिकन चर्च ठड्याउने काम गर्दा स्पष्ट बद्नियत देखियो । मेयर साम्पाङको आड लिएर यो काम गरिएको हो कि भन्ने स्थानीयको आशंका छ । साम्पाङका पछिल्ला अभिव्यक्तिहरुले यो आशंकामा बल पुर्याउँछन् ।
साम्पाङ स्वयम् क्रिस्चियन धर्मका प्रचारक रहेको चर्चा छ । तर, यो उनको निजी मामला हो । आफूले चाहेको धर्म रोज्ने हक हरेक व्यक्तिलाई संविधानले नै दिएको छ । यसलाई कसैले आपत्तिको विषय बनाउन मिल्दैन । तर, मेयरको रूपमा भूमिका निभाइरहँदा उनी सबैको साझा हुनुपर्छ । उनी धरानका सबै जातजाति र धर्म-सम्प्रदाय मान्ने जनताका अभिभावक हुन् । त्यस हिसाबले समन्वयकारी भूमिका खेल्नुपर्नेमा उनले बहुसंख्यक देशवासीले अपनाएको धर्मप्रति जस्तो पूर्वाग्रह देखाइरहेका छन्, त्यो भने किमार्थ उचित छैन ।
सामाजिक सञ्जालमा मात्र होइन, बारम्बार टिकटक लाइभमा आएर पनि कुण्ठा ओकलिरहेका हुन्छन् साम्पाङ । आफूमाथि नकारात्मक कमेन्ट गर्नेहरुको जात पहिल्याउँदै बस्छन् । उनले फेसबुकमा समेत लेखेका थिए, ‘सामाजिक सञ्जालमा मलाई नचाहिँदो र नहुँदो गाली गर्ने कुन जाति समुदायका मान्छेहरु छन् भनेर हेर्दैछु ।’
आज आफ्नो आलोचना गर्नेहरुको जात काउन्ट गरेर बस्ने साम्पाङले हिजो आफ्नो वाहवाही गर्नेहरुको त जात खोजेका थिएनन् । के उनी आफ्नो जातका मतदाताको भोटले मात्रै जितेका हुन् ? राम्रो काम गर्दा उनलाई देशव्यापी समर्थन र शुभेच्छा दिनेहरु कुन जातका बढी थिए ? उनैले राम्ररी मनन गरुन् ।
यतिबेला साम्पाङका पुराना फेसबुक स्टाटसहरु पनि उत्खनन् भइरहेका छन् । ती स्टाटसहरुमा अभिव्यक्त विचार हेर्दा उनी विगतमा कति संकीर्ण सोच र चिन्तन बोकेको मगज लिएर हिँडिरहेका थिए भन्ने उजागर हुन्छ । के साँच्चै उनी मेयर बन्न लायक पात्र थिए त भन्ने प्रश्न उठ्छ । खैर, अहिले उनको विचार बदलिएको पनि हुन सक्छ । तर, पुराना अभिव्यक्तिहरुमा उनले सार्वजनिक रुपमा प्रष्टीकरण दिएका छैनन् । बरु आफूमाथि प्रश्न उठाउने जति सबैलाई ‘झोले’ भन्दै विभिन्न ध्वाँस दिइरहेका छन् ।
नेपाली समाजप्रति हामीले गर्व गर्नलायक एउटा पक्ष भनेको यहाँको जातीय र धार्मिक सहिष्णुता हो । नेपाल विगतमा ‘हिन्दू राष्ट्र’ हुँदाखेरी पनि यहाँ अन्य धर्मावलम्बीले थिचोमिचोको महसुस गर्नुपरेको थिएन । आफूले चाहेको धर्म रोज्न कसैलाई बन्देज थिएन । आज त झन् देश धर्मनिरपेक्ष छ । राज्यका लागि सबै धर्म समान छन् ।
जात र धर्म यस्ता विषयहरु हुन्, जसले आम मानिसलाई भावनात्मक रुपमा सहजै उद्वेलित बनाइदिन्छ । सानो झिल्कोले ठूलो डढेलो लगाउन सक्छ । जातीय वा धार्मिक द्वन्द्वका बाछिटाहरुहरु निकै पीडादायी, विभत्स र दीर्घकालीन हुन सक्छन् । हाम्रै छिमेकी देश भारतको मणिपुरका आततायी घटनाहरु हामीले अहिले सुनिरहेका छौं, पढिरहेका छौं ।
नेपाली समाजप्रति हामीले गर्व गर्नलायक एउटा पक्ष भनेको यहाँको जातीय र धार्मिक सहिष्णुता हो । नेपाल विगतमा ‘हिन्दू राष्ट्र’ हुँदाखेरी पनि यहाँ अन्य धर्मावलम्बीले थिचोमिचोको महसुस गर्नुपरेको थिएन । आफूले चाहेको धर्म रोज्न कसैलाई बन्देज थिएन । आज त झन् देश धर्मनिरपेक्ष छ । राज्यका लागि सबै धर्म समान छन् ।
नेपालका हिन्दूहरु सम्भवतः संसारमै सबभन्दा बढी उदार र सहिष्णु हुन् । भारतमा जस्तो धार्मिक कट्टरता नेपालमा पटक्कै छैन । यहाँ हिन्दू धर्म मान्नेहरु भगवान बुद्धलाई पनि उत्तिकै श्रद्धा गर्छन् । क्रिसमस मनाउन पनि धक मान्दैनन् । सरकारले बुद्ध जयन्तीदेखि क्रिसमस र इदमा समेत सार्वजनिक बिदा दिन्छ । पछिल्लो समय बरु हिन्दू धर्मका थुप्रै चाडपर्वमा सार्वजनिक बिदा कटौती भइरहेका छन् ।
नेपालमा अहिले मात्र होइन, इतिहास खोतल्दा पनि ठूलो धार्मिक वा साम्प्रदायिक दंगा विरलै भएको पाइन्छ । यहाँका राजनीतिक पार्टीहरुले पनि कहिल्यै धार्मिक अतिवादलाई बोकेर हिँडेनन् । राप्रपा जस्तो ‘हिन्दू राष्ट्र’ को वकालत गर्ने पार्टीले क्रिस्चियन धर्म मान्ने नेतृलाई संसदमा पठाएको छ । छिमेकी भारतमा हेर्ने हो भने विकराल स्थिति छ । भाजपा नेतृत्वको हिन्दू अतिवादी सरकारले भारतमा अल्पसंख्यक मुसलमानहरुलाई बसिटिक्न दिइरहेको छैन, जबकि भारत कागजमा धर्मनिरपेक्ष राष्ट्र हो ।
हामी भारतबाट सिक्न चाहँदैनौं र सिक्नु पनि हुँदैन । बरु संसारका लागि हामी एउटा उदाहरण बनिरहनुपर्छ । ८१ प्रतिशतभन्दा बढी हिन्दू धर्म मान्नेहरु भएको देशमा अन्य धर्मावलम्बीले पनि सम्मानित जीवन बाँच्न पाइरहेका छन्, जुन आफैंमा उदाहरणीय हो । आज हर्क साम्पाङले लेखेका दुई-चार स्टाटसहरुले सदिऔंदेखि कायम सामाजिक-धार्मिक सहिष्णुता भंग हुनेवाला छैन । तर, उनलाई पनि यसरी वेपरवाह बन्ने छुट भने दिइराख्नु हुँदैन । उनलाई लगाम कस्नैपर्छ ।
हुन त मेयर निर्वाचित भएदेखि नै साम्पाङले आफ्नो बहुलठ्ठीपन देखाउन थालेका हुन् । तर, दिनहुँ ढुंगा बोकेका तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा हालेर उनी आमजनतालाई द्रविभूत बनाउन सफल भए । श्रमदानबाट प्राप्त लोकप्रियताको बलमा आफ्ना तमाम कमिकमजोरीहरुमाथि पर्दा हाल्न सफल भए । उनले उपमहानगरपालिकामा सबैको विश्वास जितेर काम गर्न सकेका छैनन् । उनको मनोमालिन्य शैलीबाट उपमेयरदेखि अधिकांश वडाध्यक्षहरु उनीसँग आजित छन् । तर, कसैले पनि उनीविरुद्ध खुलेर बोल्ने वातावरण भएन । किनकि हर्क साम्पाङको विरोध गर्दा उनका समर्थकहरुले अरिंगाल जसरी झम्टिन हाइहाल्थे ।
तर, सामाजिक सञ्जाल त दुई धारे तरवार न हो । यसले कसैलाई रातारात हिरो बनाउँछ भने जिरोमा झार्न पनि समय लगाउँदैन । सम्पाङको लोकप्रियताले पनि दुईचार दिनयता बुमर्याङ खाइसकेको छ । हिजो उनले अन्य दलका नेता-कार्यकर्तालाई बतासे गाली गर्दा मज्जा मान्नेहरु पनि अहिलेका अभिव्यक्तिहरुलाई लिएर दिक्दार मान्न थालिसकेका छन् ।
साम्पाङसँग अझै पनि समय छ, सच्चिने । कम्तिमा धर्म र जात जस्ता संवेदनशील विषयहरुमा उनले हचुवा र अनर्गल अभिव्यक्ति नदिऊन् । दिनमा दुई दर्जन फेसबुक स्टाटस लेख्न लाग्ने समय नगरपालिकाको काममा खर्चिऊन् । लेखे पनि सभ्य भाषा प्रयोग गरुन् । धरानका मात्र होइन, देशभरिका जनता उनको कार्यकाल सफल भएको हेर्न चाहन्छन् । साम्पाङले आफ्नो टाउकोमा आफैंले आगो नसल्काऊन् ।
सही विश्लेषण