अपराधी जोगाउने विधेयक सच्याउने कानूनमन्त्रीको संकेत, कांग्रेस बैठकमा भने- यो गुरुङले ढुंगा निल्दैन (भिडिओ)
‘कांग्रेसका नेताहरु प्रतिपक्षीकै शैलीमा दश हातमाथि उफ्रिरहेका छन्’
काठमाडौं । कानूनमन्त्री तथा कांग्रेस उपसभापति धनराज गुरुङले सरकारद्वारा संसदमा प्रस्तुत केही नेपाल ऐन संशोधन गर्ने विधेयकको विवादित बुँदा हटाउने संकेत गरेका छन् । कांग्रेसको केन्द्रीय समिति वैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो संकेत गरेका हुन् ।
राजनीतिक आन्दोलनका नाममा भएका हिंसात्मक घटनाका दोषिलाई उन्मुक्ति दिने गरी विधेयक ल्याइएको भन्दै चौतर्फी विरोध भइरहेको छ । कांग्रेस बैठकमा वरिष्ठ नेता सेखर कोइरालाले समेत यो विधेयक फिर्ता लिन माग गरेका थिए ।
मन्त्री गुरुङले आफ्नो जानकारीबिना नै उक्त बुँदा विधेयकमा समावेश भएको आशय व्यक्त गरे । कांग्रेसका नेताहरुले पनि प्रतिपक्षीकै शैलीमा विरोध जनाएकोमा उनको गुनासो थियो ।
गुरूङको भनाइ ः
‘दफा ६४ को सन्दर्भमा जोडदार कुरा उठ्यो । यो वैठकमा पनि उठेको मैले सुचना पाएँ । सभापतिज्यूकै अनुमतिमा म विभिन्न संसदीय समितिको वैठकहरुमा थिएँ । वास्तवमा चामलको बोरा लिएर गइसकेपछि बोरा फुकाउँदा चामल मात्रै हुन्छ भनेर सोच्न भएन । हाम्रो उद्देश्य चामल मात्रै होस भन्ने नै हो । तर, बोरा फुकाउँदा बियाँ पनि हुन्छ । अलिअलि भुस पनि हुन्छ । स्वाट्टै बोराबाट निकालेर पकाउन मिल्दैन । त्यसैले चामल लगिसकेपछि नाङ्लोमा राखेर निफन्ने, छान्ने, केलाउने गरेर फेरि बियाँलाई फाल्छौं । भुसलाई फाल्छौं । त्यसपछि चामललाई ताउलोमा राखेर पकाउछौं ।
धनराज गुरुङलाई यस्तो नठान्नुस कि भात खाँदा गाँसमा ढुंगा पर्यो भने ढुंगा पनि निल्छ । धनराज गुरुङ त्यति लाटो छैन । ढुंगा पर्यो भने सुलुक्क निल्छ भन्ने नठान्नुस । गुरुङले निल्दैन, ओकलेर फाल्दिन्छ । यति भनेपछि त बुझ्नुभयो होला । अरु दलले जे–जे भन्छन् त्यही ढंगबाट उफ्रिदिनु पनि भएन । कांग्रेसकै साथीहरु दस हात माथि उफ्रिराख्या पनि देख्छु ।
म त नेपाल सरकारको भरियाजस्तो भएर पुगेको थिएँ । संसदमा ड्याम्म राखेँ । यसो हेर्दा भुस पनि देखियो ।
‘ए गुरुङ भुस पनि ल्याइस्’ भनिरहेका छन् । म हटेँ भने भाग पाउँला भन्ने साथीहरुको मनसाय हो कि ? हो भने म तयारै छु । धनराज गुरुङ पदको आशक्ति राख्दैन । त्यसकारणले केही नेपाल ऐन संसोधनसम्वन्धी विधेयकमा पार्टीलाई नै अप्ठेरो पर्ने कुराहरु छन् भने राखिन्न । देश र जनतालाई अप्ठेरो पर्ने बुँदाहरु छन् भने राखिन्न ।
शिक्षकलाई कुट्ने गुण्डाको मुद्दा फिर्ता लिनेलाई अब जनताले राजनीतिबाट निमिट्यान्न पार्नुपर्छ ।अबको पालो पैसा खाँदै न्यायाधिश नियुक्त गर्ने हो ।